फागुन महिनामा ४६ हजार घरजग्गाको कारोबार हुँदा चार अर्ब १२ करोड राजश्व उठ्यो
काठमाडौं । कर्जाको ब्याजदर घट्दै गइरहेका बेला घरजग्गा कारोबार भने झन सुस्ताउँदै गइरहेको छ ।
फागुन महिनामा देशभर ४६ हजार ६१ घरजग्गाको लिखत पारित भएका छन् । यो कारोबार अघिल्लो महिना माघको तुलनामा सामान्य गिरावट हो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघमा ४६ हजार ६९ लिखत पारित भएका थिए । गत वर्ष ०८० फागुनमा ५० हजार २५२ घरजग्गाको लिखत पारित भएका थिए ।
सरकारले अर्थतन्त्र तंग्रिदै गइरहेको दाबी गरिरहँदा घरजग्गा कारोबार सुस्ताउँदै गएको देखिन्छ ।
फागुनमा घरजग्गा कारोबार घटेपनि राजश्व संकलन भने बढेको छ । फागुनमा देशभरका मालपोत कार्यालयबाट चार अर्ब १२ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।
अघिल्लो महिना माघमा तीन अर्ब ८७ करोड रुपैयाँ राजश्व संकलन भएको थियो । गत वर्षको फागुन महिनामा पनि तीन अर्ब ५९ करोड राजश्व संकलन भएको देखिन्छ ।
पुस महिनामा चालु आर्थिक वर्षकै उच्च ४८ हजार १५६ घरजग्गा कारोबार (लिखत पारित) हुँदा चार अर्ब २५ करोड रुपैयाँ राजश्व संकलन भएको थियो ।
इनरुवामा उच्च किनबेच
फागुन महिनामा पनि सुनसरीको इनरुवा मालपोतबाट सबैभन्दा धेरै घरजग्गा किनबेच भएका छन् । एक महिनामा इनरुवा मालपोतबाट १८ सय ४७ लिखत पारित भएका छन् ।
यस्तै, झापाको भद्रपुर मालपोतबाट १७ सय १२, मोरङको बेलवारीमा १५ सय ७५, धनुषामा १५ सय ४९, सप्तरीको राजविराजमा ११ सय ८७ घरजग्गाको लिखत पारित भएको विभागले जनाएको छ ।
दाङको तुलसीपुरमा ९८५, सर्लाहीको मलंगवामा ९८०, सिराहामा ९७४, मोरङकै विराटनगरमा ९४५, बाराको कलैयामा ९२४, भक्तपुरमा ९०८ घरजग्गाको लिखत पारित भएका छन् ।
काठमाडौं उपत्यकाका तीन जिल्लामा रहेका नौ मालपोत कार्यालयबाट ३८ सय ९० घरजग्गाको लिखत पारित भएको विभागको तथ्यांक छ । अघिल्लो महिनामा माघमा पनि उपत्यकामा ३८ सय ९० नै लिखत पारित भएका थिए ।
फागुनमा देशभरका मालपोतबाट रजिष्ट्रेसन दस्तुरवापत दुई अर्ब २० करोड ३८ लाख रुपैयाँ उठेको छ । यस्तै, पुँजीगत राजश्व एक अर्ब ५७ करोड ७२ लाख, सेवा शुल्क २८ करोड ८५ लाख रुपैयाँ उठेको देखिन्छ ।