यी दुई ग्रेडबीचका भिन्नताले निर्माणको गुणस्तर र लागतमा पनि महत्वपूर्ण प्रभाव पार्ने गर्छ
काठमाडौं । के तपाइँ निजी घर, बहुउद्देश्यीय प्रयोजनका भवन वा कुनै विकासे परियोजना निर्माण गर्दै हुनुहुन्छ ? यी संरचनाहरु निर्माणका लागि आधुनिक निर्माण सामाग्री सिमेन्ट नभई हुँदैन ।
बजारमा ओपीसी र पिपिसी सिमेन्ट उपलब्ध हुन्छ । बलियो निर्माणका लागि ओपीसी सिमेन्ट सबैभन्दा उपयुक्त मानिन्छ । ओपीसी सिमेन्ट भित्र पनि विभिन्न ग्रेडहरु हुने गर्छन्, ग्रेड अनुसार गुणस्त र लागत पनि फरक फरक हुने गर्छ ।
निर्माण क्षेत्रमा प्रयोग गरिने ओपीसी (सामान्य पोर्टल्यान्ड सिमेन्ट) सिमेन्ट विभिन्न ग्रेडका आधारमा वर्गीकरण गरिएको हुन्छ । तीमध्ये ४३ ग्रेड र ५३ ग्रेड ओपीसी सिमेन्ट सर्वाधिक प्रयोग गरिन्छ ।
यी दुई ग्रेडबीचका भिन्नताले निर्माणको गुणस्तर र लागतमा पनि महत्वपूर्ण प्रभाव पार्ने गर्छ । हामी तपाइँलाई ४३ ग्रेड र ५३ ग्रेड ओपीसी सिमेन्टका बारेमा विभिन्न तथ्यहरु जानकारी गराउँदै छौं, जसले तपाइँलाई निर्माणका क्रममा कुन सिमेन्ट प्रयोग गर्ने भनेर छनोट गर्न सहयोग पुग्ने नै छ।
सिमेन्ट ग्रेड के हो ?
सबैभन्दा पहिला सिमेन्टको ग्रेड भनेको के हो जान्न जरुरी हुन्छ । सिमेन्टको ग्रेडले २८ दिनसम्म उपचार (करिङ) गरेपछि प्राप्त हुने कम्प्रेसिभ स्ट्रेन्थलाई जनाउँछ । ४३ ग्रेड ओपीसीले न्यूनतम ४३ मेगापास्कल (MPa) तथा ५३ ग्रेड ओपीसीले ५३ मेगापास्कल (MPa) सम्मको शक्ति प्रदान गर्छ ।
४३ ग्रेड ओपीसीः साधारण निर्माणका लागि उपयुक्त
निर्माण क्षेत्रमा खटिने इञ्जिनियरहरुका अनुसार ४३ ग्रेड ओपीसी सिमेन्ट साधारण निर्माण कार्यका लागि उपयुक्त मानिन्छ । आवासीय भवन, पर्खाल तथा सामान्य संरचनामा यसको प्रयोग गरिन्छ । मध्यमस्तरको बलियोपन आवश्यक हुने स्थानमा यो सिमेन्ट उपयुक्ता मान्छि ।
४३ ग्रेड ओपीसी सिमेन्ट बहुउपयोगिताका लागि परिचित छ । ४३ ग्रेडले यसको न्यूनतम कम्प्रेसिभ स्ट्रेन्थ ४३ मेगापास्कल रहेको जनाउँछ ।
५३ ग्रेड ओपीसीः उच्च शक्ति आवश्यक पर्ने संरचनाका लागि उपयुक्त
५३ ग्रेड ओपीसी सिमेन्ट उच्च कम्प्रेसिभ स्ट्रेन्थ आवश्यक पर्ने ठूला पूर्वाधार परियोजनामा प्रयोग गरिन्छ । पुल, ड्याम, औद्योगिक भवन, सपिङ मल, अपार्टमेन्ट तथा उच्च–तले संरचनाका लागि यो उपयुक्त हुन्छ ।
निर्णय लिनुपूर्व के विचार गर्ने?
निर्माण परियोजनाको विशिष्ट आवश्यकता अनुसार ४३ ग्रेड र ५३ ग्रेड ओपीसी सिमेन्टको छनोट गर्न सकिन्छ । संरचनात्मक डिजाइन, भार सहने क्षमता तथा वातावरणीय अवस्था जस्ता कारकहरुले उपयुक्त ग्रेड निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्छन् ।
सिमेन्टको छनोट गर्दा संरचनाको आवश्यक शक्ति, निर्माणको प्रकार, लागत तथा वातावरणीय प्रभावलाई विचार गर्न आवश्यक हुन्छ । ठूला र बलियो संरचनाका लागि ५३ ग्रेड सिमेन्ट उपयुक्त भए पनि सामान्य निर्माणमा ४३ ग्रेड पर्याप्त हुन सक्छ ।
लागत फरक फरक
५३ ग्रेड ओपीसी सिमेन्टले उच्च शक्ति प्रदान गर्छ, तर यो प्रायः ४३ ग्रेडभन्दा अलि महंगो हुन्छ । परियोजना प्रबन्धकहरु त्था निर्माणकर्ताहरुले बजेट तथा आवश्यकताको सन्तुलन मिलाउँदै सही निर्णय लिन आवश्यक छ ।
४३ ग्रेड र ५३ ग्रेडका मुख्य भिन्नताहरू
कम्प्रेसिभ स्ट्रेन्थः ४३ ग्रेडको कम्प्रेसिभ स्ट्रेन्थ न्यूनतम ४३ मेगापास्कल रहन्छ, जबकि ५३ ग्रेडको ५३ मेगापास्कल हुन्छ ।
निर्माणको गतिः ५३ ग्रेड सिमेन्ट छिटो जम्ने भएकाले यसले निर्माणको समय कम गर्न सहयोग गर्छ ।
लागतः ५३ ग्रेड सिमेन्टको लागत ४३ ग्रेडभन्दा केही बढी हुन्छ ।
उपयुक्त प्रयोगः ४३ ग्रेड सिमेन्ट साधारण निर्माणमा प्रयोग गरिन्छ भने ५३ ग्रेड सिमेन्ट ठूला पूर्वाधार तथा उच्च बलियोपन आवश्यक पर्ने संरचनामा उपयुक्त मानिन्छ ।