घर निर्माण प्रक्रिया खर्चिलो त हुन्छ तर प्रक्रियामा केही गडबडी भए अझै झन्झटिलो पनि हुन सक्छ
काठमाडौं । हरेक मान्छेको चाहना हुन्छ, एउटा आफ्नै घर होस् । घर मान्छेको आधारभूत आवश्यकता हो । आफ्नो सपनाको घर निर्माणका लागि जीवनभरको कमाई खर्चिनुपर्ने हुन्छ ।
घर वा भवन निर्माण प्रक्रिया समाज, समुदाय, वातावरण, सहरी व्यवस्था, प्रदूषण तथा व्यक्तिगत आवश्यकतालाई ध्यानमा राखेर गरिन्छ । घर निर्माण प्रक्रिया खर्चिलो त हुन्छ तर प्रक्रियामा केही गडबडी भए अझै झन्झटिलो पनि हुन सक्छ ।
यसका लागि सम्पूर्ण निर्माण प्रक्रिया र त्यसको अनुमतिका बारेमा बुझ्न जरुरी छ । भवन निर्माण अनुमतिको प्रक्रिया निम्न रूपमा प्रस्तुत गरिएको छ ।
१) नक्सा डिजाइन
घर बनाउनको लागि घरधनीको जग्गा र आवश्यकतालाई नगरपालिका/गाउँपालिकाको भवन निर्माण संहिता र मापदण्डबमोजिम नक्सामा उतार्ने काम नक्सा डिजाइनमा पर्छ ।
भवन डिजाइन तथा निर्माणमा संलग्न प्राविधिकको मद्दतले घरको नक्सा डिजाइन गरिन्छ । सो नक्साको मद्दतले ठेकेदार/निर्माणकर्मीले भवन निर्माण गर्न सक्छन् । नयाँ घर बनाउन र तल्ला थप्न भवनमा केही परिवर्तनहरू गर्नुपरेमा नक्सा डिजाइन गर्नुपर्छ ।
नक्सा डिजाइन गर्दा, घरधनीले सम्पूर्ण आधारभूत सुविधाहरू जस्तै खानेपानी, ढल निकास, बत्ती, टेलिफोन आदिलाई सुनिश्चित गर्नुपर्छ । आफ्नो जग्गाको लम्बाई, चौडाइ, चार किल्ला, भिरालोपन र बाटोको नाप जाँच गराई स्थानीय भवन मापदण्डको बारेमा बुझेर मात्रै जानकारी भएको प्राविधिकलाई नक्सा बनाउन दिनुपर्छ ।
नक्सा बनाउँदा आफ्नो सम्पूर्ण आवश्यकता जस्तै कोठाको आकार, परिमाण, झ्याल ढोकाको स्थान, भर्याङ स्थान र अन्य कोठाहरूको आकार र स्थानबारे आफ्नो व्यक्तिगत र पारिवारिक आवश्यकता, धार्मिक आस्था र आर्थिक अवस्थालाई मध्यनजर गर्दै प्राविधिकलाई खुलस्त रूपमा व्यक्त गर्नुपर्छ ।
घर बनेपछि परिवर्तन गर्न कठिन हुने भएकाले समय दिएर नक्सालाई आवश्यकता अनुसार परिमार्जन गर्नुपर्छ । नक्सा पास भएपछि केही परिवर्तन गर्नु परेमा स्थानीय निकायबाट फेरि स्वीकृति लिनुपर्छ ।
२) नक्सा पेस, चेकजाँच र दर्ता
यस प्रक्रियामा सर्वप्रथम निम्न आवश्यक कागजातसहित आवेदन भर्नुपर्छ ।
घरधनी आफू उपस्थित हुन नसक्ने भएमा एकाघरको व्यक्ति वा कानुन बमोजिमको अधिकारप्राप्त व्यक्तिको प्रमाणित नागरिकताको प्रतिलिपि १ प्रति
यसरी पेस गरिएको कागज र नक्सा कानुन र हालको भवन निर्माण मापदण्ड हेरी चेकजाँच गरिन्छ। ठिक भएको खण्डमा आवश्यक दस्तुर तिरेर नक्सा दर्ता गर्न सकिन्छ । दस्तुर भने नगरपालिका/गाउँपालिका अनुसार फरक हुन सक्छ ।
३) सँधियारको नाममा १५ दिने सूचना
आवेदन दर्ता गरेपछि सँधियारको नाममा नगरपालिका वा गाँउपालिकाबाट १५ दिने सूचना जारी हुन्छ । नगरपालिका वा गाउँपालिकामा आवेदन दर्ता भएको मितिले १५ दिनपछि घरधनीले नगरपालिका वा गाउँपालिकाको भवन नक्सा पास उपशाखामा सम्पर्क गरी सर्जमिनको समय मिलाउनु पर्छ ।
४) सर्जमिन
सर्जमिन भनेको १५ दिने सूचना नगरपालिकाका कर्मचारी स्थलगत सर्जमिनमा आउँदा आफ्ना सबै सँधियार र सोही वडाको नागरिकता भएका न्यूनतम ७ जना (सँधियारसहित) को रोहवरमा बस्ने मानिसहरू बोलाई राख्नुपर्छ । त्यसपछि सबै सँधियारले सर्जमिनमा सही गरिदिए तथा नक्सामा पनि सबै ठिक भएमा २/३ दिन भित्र नगरपालिकाबाट प्लिन्थ लेभलसम्मको निर्माण अनुमति पत्र प्रदान गरिन्छ ।
प्लिन्थ लेभल भनेको भवनको भुईँको स्तर र वरपरको जमिनभन्दा थोरै माथिको स्तर हो । यदि सँधियारमध्ये कोही एक जनाले मात्र पनि सर्जमिनमा कुनै पनि कारणले असहमत भई सही नगरेको खण्डमा नगरपालिकालाई निवेदन लेखी सिफारिस लगेर नगरपालिकाको नापी विभागको अमिन/सर्वेक्षकको स्थलगत नापी प्रतिवेदन पेस गरेपछि मात्र अनुमति प्रदान हुन्छ ।
५) प्लिन्थ लेभलसम्मको निर्माण अनुमति
सर्जमिन गराउने काम भइसकेपछि प्लिन्थ लेभल (टाई बिम) सम्मको निर्माण अनुमति पाउन सकिन्छ । यो भवन निर्माणको अस्थायी अनुमति हो र यसलाई प्रथम चरणको अनुमति पत्र पनि भनिन्छ । यस चरणमा विशेष विचार पुर्याएर जग खन्ने ठाउँमा चिन्ह लगाउने, जग खन्ने, जग निर्माण, जग बिम निर्माण, पिलर निर्माण तथा प्लिन्थ बिम निर्माण गर्नुपर्छ ।
निर्माण मापदण्ड तथा भवन निर्माण संहिता अनुरूप भएन भने भत्काएर पुनः निर्माण गर्नुपर्ने अवस्था आउन सक्छ । यस्तो अवस्था आउन नदिन अनुमति प्राप्त नक्सा अनुसार निर्माण गर्नुपर्छ ।
६) दोस्रो चरण निर्माणको अनुमति
अनुमति अनुसार प्लिन्थ लेभलसम्म निर्माण गरिसकेपछि नगरपालिकामा गई घरको जगभन्दा माथिको भाग अर्थात् सुपरस्ट्रक्चर निर्माणको लागि दोस्रो चरणको अनुमति लिनुपर्छ । यस चरणको लागि नगरपालिकामा घरधनीले निवेदन दिनुपर्ने हुन्छ ।
नगरपालिकाको इन्जिनियरले स्थलगत जाँच गरी अनुमति अनुसार निर्माण भएको छ भन्ने लेखिदिएपछि मात्र नगरपालिकाबाट सुपरस्ट्रक्चर निर्माण गर्ने स्वीकृति पाइन्छ । सुपरस्ट्रक्चरको निर्माण अनुमति प्राप्त गरेपछि मात्र टाई बिमभन्दा माथिको भागको निर्माण कार्य स्वीकृत नक्सा अनुसार मात्र गर्नुपर्छ ।
७) निर्माण सम्पन्न प्रमाण पत्र
निर्माण पूर्ण सम्पन्न भएको विवरणका साथ नगरपालिकामा निवेदन दिएपछि यो प्रक्रिया सुरु हुन्छ । नक्साअनुसार भवन मापदण्ड र भवन निर्माण संहिता पालन गरी भवन निर्माण गरिएको भनी नगरपालिकाको प्राविधिकले प्रमाणित गरेपछि निर्माण सम्पन्न प्रमाणपत्र प्रदान गरिन्छ ।
यसरी निर्माण सम्पन्न प्रमाणपत्र लिइसकेपछि थप निर्माण कार्य गर्नुपर्दा पुनः भवन निर्माण अनुमति प्रक्रियामा जानुपर्छ । कुनै कारणले भवन निर्माण अनुमति प्रक्रियाको म्याद गुज्रेमा पुनः अनुमति लिनुपर्छ ।
नगरपालिकाले भवन निर्माण स्वीकृति प्रदान गरेका अवधिभित्र निर्माण कार्य सम्पन्न हुन नसकेको खण्डमा भवनको जति निर्माण कार्य सम्पन्न भएको छ सोको निर्माण आंशिक सम्पन्न प्रमाणपत्र लिन मिल्छ । घरमा पानी र बिजुली जडान गर्न पालिका अनुसार निर्माण सम्पन्न प्रमाणपत्र वा प्लिन्थ लेभल निर्माणको अनुमति पत्र चाहिन्छ ।
निर्माण सम्पन्न/आंशिक सम्पन्न प्रमाणपत्र घरको बेचबिखन गर्न वा बैंकिङ र बिमा सम्बन्धी कारोबार गर्न अनिवार्य रूपमा चाहिन्छ ।
यसरी भवन निर्माण अनुमतिका प्रक्रिया अन्तर्गत नक्सा डिजाइन गरी पास गरे पश्चात् क्रमशः प्लिन्थ लेभल (टाईबिम जग) सम्मको निर्माण अनुमति, जगभन्दा माथिको निर्माण अनुमति र निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गर्न सकिन्छ ।
जगदम्बा स्टिलसँगको सहयोगमा