घरजग्गाको चलनचल्तीको बजार मूल्य र सरकारी मूल्यांकनबीच धेरै फरक हुन्छ । बैंकले सरकारी मूल्यांकन र चलनचल्तीको भाउबाट फेयर मार्केट भ्यालु निकाल्छन् ।
काठमाडौं । कुनै पनि प्रकारको घरकर्जामा सम्पत्तिलाई नै धितो सुरक्षणका रूपमा राखिने भएकाले त्यस्तो सम्पत्तिको अनुमानित मूल्य थाहा पाउनु जरुरी हुन्छ । त्यही मूल्यका आधार बैंक र वित्तीय संस्थाहरूले ऋण दिने कि नदिने, कति रकम दिनेलगायत कुरा तय गर्छन् । त्यसैले घरजग्गा ऋण लेनदेनमा सम्पत्तिको मूल्यांकन महत्वपूर्ण विषय हो । बैंकले नियुक्त गरेका इन्जिनियरले धितो मूल्यांकन गर्छन् ।
मूल्यांकन कसरी गरिन्छ ?
सबै बैंकको आ–आफ्नो नीति हुन्छ । उनीहरूका ‘अनलिस्टेड प्यानल अफ भ्यालुअर’ हुन्छन् । सामान्यतया बैंकहरूले घरजग्गाको पछिल्लो अवस्थाको मूल्यांकन गर्न इन्जिनियरलाई परिचालन गर्छन् । इन्जिनियरले स्वतन्त्र रूपमा घरजग्गाको मूल्यांकन गर्छन् । यसमा बैंकले कुनै हस्तक्षेप गर्न पाउँदैन ।
इन्जिनियरले बैंकका कर्मचारीलाई साथमा लगेर साइटमै पुगेर घरजग्गा हेर्छन् । बैंकले पूर्ण रूपमा इन्जिनियरलाई छोड्दैन । उनीहरूले चलनचल्तीको भाउ बुझ्छन् । र, सरकारी मूल्यांकन र बजार भाउबाट फेयर मार्केट भ्यालु निकाल्छन् । सरकारी मूल्य मालपोत कार्यालयले प्रकाशित गरिसकेका हुन्छन् । पछिल्लो समयमा स्थानीय निकायले आफू मातहतका जग्गाको मूल्यांकन सूची प्रकाशित गर्न थालेका छन् । घरजग्गाको मूल्यांकन गर्दा चलनचल्तीको भाउलाई बढी हेरिन्छ ।
सम्पत्तिको औसत मूल्यांकन कसरी हुन्छ ?
चलनचल्तीको बजार मूल्यको तुलनामा घरजग्गाको सरकारी मूल्यांकन कम हुन्छ । सरकारी मूल्यांकन सम्बन्धित क्षेत्र हेर्ने मालपोत कार्यालयले तय गरेका हुन्छन् । बजार मूल्य किनबेचको आधारमा तय भएको हुन्छ । दुई मूल्यबीच धेरै नै फरक हुन्छ । बैंकले सरकारी मूल्यांकन र चलनचल्तीको भाउबाट फेयर मार्केट भ्यालु निकाल्छन् । सरकारी मूल्यांकनको ३० प्रतिशत र बजार मूल्यको ७० प्रतिशतबाट फेयर मार्केट भ्यालु निकालिन्छ । र, बढीमा त्यसको ७० प्रतिशतसम्म ऋण प्रवाह हुन्छ ।
उदाहरणका लागि यदि घरजग्गाको सरकारी मूल्यांकन ३० लाख रुपैयाँ र चलनचल्तीको भाउ एक करोड रुपैयाँ छ । सरकारी मूल्यांकन ३० लाख रुपैयाँको ३० प्रतिशतले नौ लाख रुपैयाँ र चलनचल्तीको एक करोड रुपैयाँको ७० प्रतिशतले ७० लाख रुपैयाँ हुन आउँछ । तपाईंको फेयर मार्केट भ्यालु ७९ लाख रुपैयाँ हुन आउँछ । त्यही रकमको ५० देखि ७० प्रतिशतसम्म ऋण पाउन सकिन्छ ।
परिवारका सदस्यको सम्पत्तिबाट पनि ऋण पाइन्छ ?
बैंकहरूले परिवारका अन्य सदस्यको नाममा भएको सम्पत्ति धितो राखेर पनि ऋण लिन पाइने व्यवस्था गरेका छन् । अहिले राष्ट्र बैंकको निर्देशनले पनि स्पष्ट व्याख्या गरेको छ, ‘घरपरिवारको मान्छे हो/होइन ? जस्तै, श्रीमान्–श्रीमती, आमा–बुबा, सासू–ससुरा, नछुट्टिएका दाजुभाइ, भाउजू–बुहारी एकै घरपरिवारका मानिन्छन् ।’
यी व्यक्तिको सम्बन्ध स्पष्ट हुने गरी खुलेमा बैंकले ऋण दिन्छन् । परिवारको सम्पत्ति धितो राखेर ऋण निकाल्न पाइन्छ । आमा–बुबा, दाइभाइको नाममा रहेको जग्गा धितोमा राखेर ऋण लिन सकिन्छ ।