निर्माण सामग्रीहरू तोकिएको गुणस्तरअनुसार छनोट गर्नुपर्छ । र, सुरक्षित रुपमा भण्डारण गरी प्रयोग गर्नुपर्छ ।
घर तथा भवन निर्माणमा प्रयोग हुने मुख्य निर्माण सामग्रीहरू सिमेन्ट, बालुवा, गिट्टी, इँटा, फलामे डण्डी, पानीलगायत हुन् । यी सामाग्री गुणस्तरीय प्रयोग नभए निर्माण कमजोर हुन्छ ।
यसैले निर्माण सामग्रीहरू तोकिएको गुणस्तरअनुसार छनोट गर्नुपर्छ । र, सुरक्षित रुपमा भण्डारण गरी प्रयोग गर्नुपर्छ ।
हामीले शहरी विकास तथा भवन निर्माण विभागले प्रकाशित गरेको घरधनीहरुका लागि भवन निर्माणसम्बन्धी सहयोगी पुस्तीकाबाट गुणस्तरी सामाग्री छनोट तथा सुरक्षित भण्डारणबारे आधारभूत जानकारी गराँदै छौं ।
क) सिमेन्ट
- सिमेन्टले बालुवा, गिट्टी, इँटा, ढुंगालगायत निर्माण सामग्रीलाई जोड्ने र बाँध्ने काम गर्छ ।
- सिमेन्टको प्रयोग मुख्यतः गारोको जोडाइको लागि मसला बनाउन र कंक्रिट ढलान कार्यमा गरिन्छ ।
- सिमेन्ट विभिन्न प्रकारका हुन्छन्, जस्तैः सामान्य पोर्टल्याण्ड सिमेण्ट (ओपिसि), पोज्जोलाना पोर्टल्याण्ड सिमेन्ट (पिपिसि), कम ताप उत्सर्जन हुने सिमेन्ट, छिटो जम्ने सिमेन्ट, सेतो सिमेन्ट, इत्यादि । यीमध्ये सामान्यतया ओपिसि र पिपिसि सिमेन्ट भवन निर्माणमा बढी प्रयोग गरिन्छ ।
- नेपाल गुणस्तर चिन्ह प्राप्त सिमेन्ट प्रयोग गर्नुपर्छ ।
- उत्पादन गरेको मितिले ३ महिनाभन्दा बढी समय नाघेको सिमेन्ट प्रयोग गर्नु हुँदैन । मिति नाघेको सिमेन्ट प्रयोग गरेमा कंक्रिटको क्षमता कमजोर हुन्छ ।
- हावा नछिर्ने बोरामा प्याक गरिएको, सुख्खा र बन्द कोठामा भण्डारण गरिएको, ओस (चिसो) बाट जोगिएको र डल्ला नपरेको/नजमेको सिमेन्ट प्रयोग गर्नुपर्दछ ।
- सिमेन्ट भण्डारण गर्दा चिस्यानबाट सुरक्षित गर्न सिमेन्टको बोरालाई सिधै भूइँमा नराखी चित्र ४ मा देखाइए जस्तै गरी काठको फल्याकमाथि राख्नुपर्छ । भित्तामा टाँसेर पनि राख्नु हुँदैन ।
- पोज्जोलाना पोर्टल्याण्ड सिमेन्ट (पिपिसि) को तुलनामा सामान्य पोर्टल्याण्ड सिमेण्ट (ओपिसि) छिटो सेट हुने भएकोले प्रायःजसो ढलान कार्यमा सामान्य पोर्टल्याण्ड सिमेण्ट (ओपिसि) को प्रयोग गरिन्छ ।
- पोर्टल्याण्ड सिमेण्ट (ओपिसि) को तुलनामा पोज्जोलाना पोर्टल्याण्ड सिमेन्ट (पिपिसि) प्रयोग गर्दा चिस्यान अलि धेरै गर्नुपर्छ ।
- सिमेन्टलाई औंलाको बिचमा रगड्दा चिल्लो हुनुपर्छ ।
- फुक्का सिमेन्ट पानीमा फ्याँक्दा डुब्नु अघि केही समय तैरिनुपर्छ ।
(ख) बालुवा
निर्माण कार्यमा प्रयोग गरिने बालुवा सफा हुनुपर्छ ।
यसमा माटो, धुलो, नूनजन्य पदार्थ र अन्य जैविक वा अजैविक पदार्थहरू मिसिएको हुनुहुँदैन । नुनजन्य पदार्थहरू मिसिँदा गुणस्तरमा कमी आउनुका साथै चित्र ६ मा देखाइए जस्तो सेतो पाउडर आउन सक्छ ।
कंक्रिट ढलान कार्यमा खस्रो प्रकारको, थोरै मात्र चिसोपना भएको बालुवा प्रयोग गर्नुपर्छ ।
(ग) गिट्टी
- गिट्टी कडा ढुंगाबाट बनेको, सफा र सजिलै नखिइने हुनपर्दछ । गिट्टीमा माटो, फोहोर, जैविक वा अजैविक पदार्थहरू मिसिएको हुनुहुँदैन, गिट्टी गोलाकार हुनुहुँदैन ।
- पिलर र बिमको ढलानका लागि प्रयोग गरिने गिट्टीको साइज ४० मिलिमिटर (१.५ इन्च) वा सो भन्दा सानो हुनुपर्छ ।
- छतको ढलानका लागि प्रयोग गरिने गिट्टीको साइज २० मिलिमिटर (०.७८ इन्च) वा सो भन्दा सानो हुनुपर्छ ।
(घ) इँटा
- ईंटा बलियो, पाकेको, आकार मिलेको, रातो रंगको, चिल्लो सतह भएको हुनुपर्छ ।
- १ मिटर माथिबाट ठाडो पारी चित्र ८ मा देखाइए जसरी कडा सतहमा खसाल्दा नफुट्ने हुनुपर्छ ।
- दुई ईंटा ठोक्दा धातुको जस्तो गुञ्जिने आवाज आउनुपर्छ ।
- इँटालाई एक घण्टासम्म पानीमा डुबाएर निकाल्दा यसले आफ्नो सुख्खा तौलको ६ भागको १ भाग भन्दा बढी पानी सोस्नु हुँदैन ।
(ङ) आरसिसि ढलानमा प्रयोग गरिने फलामे डण्डी
- फलामे डण्डीमा खिया लागेको, पाप्रा निस्किएको, अन्य पदार्थ टाँसिएको हुनुहुँदैन । खिया लाग्यो भने भित्रभित्रै फैलिँदै जान्छ र डण्डी कमजोर हुन्छ ।
- फलामे डण्डी खरिद गर्दा गुणस्तरमा ध्यान दिनुका साथै यसको भण्डारणमा पनि विशेष ध्यान दिनुपर्दछ। फलामे डण्डीको भण्डार खुला स्थानमा नगरी ओत हुने टहरामा भण्डार गरिनुपर्दछ । यसो गर्दा खिया लाग्नबाट जोगिन्छ ।नेपाल गुणस्तर तथा नापतौल विभागले आरसिसि निर्माण कार्यमा प्रयोग गरिने फलामे डण्डीको लागि एनएस १९१–२०४६ मापदण्ड जारी गरेको छ ।
- नेपाल गुणस्तर चिन्ह प्राप्त ब्राण्डहरू मध्येबाट फलामे डण्डी खरिद गर्नुपर्छ ।
- बंग्याउँदा नभाँच्चिने, कतै चिरा नपरेको, एकनासको मोटाइ वा व्यास भएका लचकदार डण्डीहरूको प्रयोग गर्नुपर्छ ।
- कम्पनीको ट्यागमा नाप, तौल र गुणस्तर चिन्ह भएको डण्डी मात्रै प्रयोग गर्नुपर्छ ।
- नक्सा डिजाइनमा उल्लेख गरिएको साइजको डण्डी मात्र प्रयोग गर्नुपर्छ ।
(च) खट तथा फर्मा
- ढलान कार्यको लागि प्रयोग गरिने खट तथा फर्मा बनाउन काठ तथा फलाम प्रयोग गरिन्छ ।
- फर्माको लागि प्रयोग गरिने फल्याक, दलिन र खाँबोहरू जडान गर्नुअघि ती कत्तिका बलिया छन्, बाँगिएका वा मक्किएका छन/छैनन् जाँच गर्नुपर्छ ।
- फलामको खट तथा फर्मा पनि हाल प्रचलनमा आइरहेका छन् । यस्ता फर्माहरू कारखाना वा वर्कशपमा तयार गरिएका हुन्छन् ।
- प्लाष्टर र रंगरोगन कार्यका लागि खट तयार गर्दा बलियो र नहल्लिने गरी फल्याकहरू जडान गर्नुपर्छ ।
- भर्याङ प्रयोग गर्दा भूइँमा अड्याइएको ठाउँमा नचिप्लियोस् भन्नको लागि बालुवा भरिएको बोरा भर्याङको फेदमा राख्नु उपयुक्त हुन्छ ।
- भूइँ तलाको फर्मा राख्दा फुक्का माटो भएमा राम्रोसँग खाँदेर कडा सतहमा राख्नुपर्छ ।
(छ) ढुंगा
- ढुंगा कडा, टिकाउ र बलियो हुनुपर्छ ।
- सजिलैसँग टुक्रिने, नरम र हल्का किसिमको ढुंगा प्रयोग गर्नुहुँदैन, गहिरो चिरा नपरेको ढुंगा प्रयोग गर्नुपर्छ । टुक्रिने, नरम र हल्का किसिमको ढुंगा प्रयोग गरेमा गारो कमजोर हुन्छ ।
- ढुंगालाई ताछेर, बाहिरी सतह खस्रो बनाएर मात्र गारोमा प्रयोग गर्नुपर्दछ । यसो गर्दा जोडाइ बलियो हुन्छ ।
- गारोमा प्रयोग गरिने ढुंगा सकेसम्म एकै साइज र आकारको हुनुपर्छ ।
- लामो र चेप्टो ढुंगा प्रयोग गर्नुपर्छ, गोलाकार वा खोलाको चिल्लो ढुंगा प्रयोग गर्नुहुँदैन। गोलाकार वा खोलाको चिल्लो ढुंगामा जोडाइ कमजोर हुन्छ ।
- ढुंगाको गारो लगाउँदा प्रत्येक २ फिटको दूरीमा कैची मार्ने ढुंगा राख्नुपर्छ ।
(ज) काठ
- सामान्यतया निर्माणकार्यमा प्रयोग गरिने काठ साल तथा अग्राख प्रजातिको हुनुपर्छ । यी प्रजातिका काठ उपलब्ध हुन नसकेमा अन्य कडा प्रकारका काठहरू प्रयोग गर्न सकिन्छ ।
- भर्खरै चिरिएको ताजा काठमा चोप र चिसोपन हुन्छ, जसले गर्दा छिटै किरा लाग्ने र काठ बाङ्गिने सम्भावना बढी हुन्छ । तसर्थ काठलाई प्रयोगमा ल्याउनु अधि राम्ररी सुक्न दिनुपर्छ ।
- काठ एकनासको सतह भएको, चिरा, प्वाल तथा गाँठो वा आँख्ला नभएको, नपसांगिएको, किरा नलागेको र नमक्किएको हुनुपर्छ ।
(झ) पानी
- निर्माण कार्यमा प्रयोग गरिने पानी स्वच्छ हुनुपर्दछ र यसमा तैलीय, अम्लीय, क्षारीय वा अन्य जैविक/अजैविक पदार्थहरू मिसिएको हुनुहुँदैन ।
- सामान्यतया पिउन योग्य पानी नै निर्माणकार्यका लागि उपयुक्त हुन्छ। अन्य पदार्थहरू मिसिएको पानी प्रयोग भएमा ढलान मसला कमजोर हुन्छ र डण्डीमा खिया लाग्छ ।