अन्नपूर्ण स्क्वायर होटेलमा भाटभटेनी समूहका अध्यक्ष गुरुङसहित अन्नपूर्ण समूहका कपिल तथा सिर्जना राणा र लिटिल एन्जल्स समूहका अध्यक्ष उमेश श्रेष्ठको संयुक्त लगानी रहनेछ ।
काठमाडौं । दरबारमार्गमा २५ तलाको अन्नपूर्ण स्क्वायर होटेल निर्माण सुरु भएको छ । सोमबार अन्नपूर्ण स्क्वायर प्रालिका अध्यक्ष मिन बहादुर गुरुङले भुमी पुजन गरी होटेल निर्माणको सुरुवात गरेका हुन् ।
यसअघि पाँचतारे अन्नपूर्ण होटेल रहेकै स्थानमा गगनचुम्बी होटेल निर्माण हुन लागेको हो । ६ अर्ब रुपैयाँ लगानीमा निर्माण हुने अन्नपूर्ण स्क्वायर धरहराभन्दा पनि अग्लो हुनेछ । ११ तले धरहराको भित्री भाग २२ तलाभन्दा ठूलो छ ।
देशकै अग्लो आइकोनिक भवनमा सञ्चालन गरिने होटेलमा भाटभटेनी समूहका अध्यक्ष गुरुङसहित अन्नपूर्ण समूहका कपिल तथा सिर्जना राणा र लिटिल एन्जल्स समूहका अध्यक्ष उमेश श्रेष्ठको संयुक्त लगानी रहनेछ ।
अन्नपूर्ण स्क्वायरको डिजाइन समेत तयार भइसकेको छ । होटेलको डिजाइन भारतको आर्किटेक्चर कम्पनीले गरेको छ । २५ तले होेटेलमा कुल ९ लाख स्क्वायरफिट क्षेत्रफल रहनेछ ।
यो होटेल काठमाडौं शहरकै सुन्दरताको प्रतिक बन्ने गुरुङको विश्वास छ । अहिले सबैभन्दा अग्लो होटेलका रुपमा ठमेलमा छायाँ सेन्टर, नक्सालमा म्यारियट र हिल्टन सञ्चालनमा आएका छन् । कान्तिपथमा पनि शेष घलेको लगानीमा गगनचुम्बी पाँचतारे होटेल बन्दैछ ।
यी होटेलहरु भन्दा अन्नपूर्ण स्क्वायर होटेल पाँच÷छ तलाभन्दा पनि बढी अग्लो हुने देखिएको छ ।
१ वैशाख ०८५ सम्म होटेल सञ्चालनमा ल्याउने गरी निर्माण अगाडि बढाइने बताइएको छ । होटेलमा कुल ३५० कोठा हुनेछन्, जसमध्ये ४० वटा सुविधा सम्पन्न अपार्टमेन्ट हुने बताइएको छ ।
होटेल परिसरमै भाटभटेनीको एक्सक्लुसिभ स्टोर पनि रहनेछ । यस्तै, ब्रान्डेड सपिङ मल र फुड कोर्ट पनि रहनेछ ।
होटेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलन, बिबाह, भोज, पार्टीलाई ध्यानमा राखेर एक हजार, १५ सय र २५ सय जना अटाउने तीनवटा ब्यांक्वेट हल बनाइने छ ।
भव्य भवनमा भव्य क्यासिनो सञ्चालनमा ल्याइने छ ।
होटेलको व्यवस्थापनमा भारतको प्रख्यात चेन होटेल आइटीसी वेलकम आउने भएको छ । अन्नपूर्ण स्क्वायर र बआइटीसी वेलकमबीच व्यवस्थापन करारको सम्झौता भइसकेको छ ।
यसअघि सञ्चालनमा रहेको अन्नपूर्ण होटेलको भवन भत्काएर नयाँ संरचना निर्माण थाल्नुपर्ने हुन्छ । साथै, सरकारी निकायहरुबाट स्वीकृति लिने कार्य पनि सँगसँगै अगाडि बढाउने बताइएको छ । यसैले होटेल निर्माण कार्य सुरु गर्न अझै केही महिना लाग्ने गुरुङको भनाई छ ।