कात्तिकमा देशभर ७३ हजार ६८ कित्तकाट भएका छन् । यो संख्या अघिल्लो महिना अशोजको तुलमा एक सयमात्र धेरै हो ।
काठमाडौं । घरजग्गा कारोबारमा देखिएको मन्दीको प्रभाव जग्गाको कित्ताकाटमा पनि देखिएको छ । कात्तिक महिनामा पनि कित्ताकाट बढ्न नसकेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ ।
सरकारले वर्गीकरण नगरेको जग्गा पनि एक वर्षसम्मका लागि साविककै अवस्थामा कित्ताकाट गर्न खुला गरेको छ । तैपनि कित्ताकाट बढ्न सकेको छैन ।
कात्तिकमा देशभर ७३ हजार ६८ कित्तकाट भएका छन् । यो संख्या अघिल्लो महिना अशोजको तुलमा एक सयमात्र धेरै हो । अशोजमा ७२ हजार ९५८ कित्ताकाट भएको विभागको तथ्यांक छ ।
०८० कात्तिकमा पनि ७० हजार मात्रै कित्ताकाट भएका थिए । गत वर्ष एउटै महिना (कात्तिकमा) ठूला चाडपर्व दशैं र तिहार परेको हुँदा आधा महिना सार्वजनिक विदा भएकोले कित्ताकाट घटेको थियो । यो वर्ष पनि कात्तिकमा तिहारको सार्वजनिक विदाले धेरथोर प्रभाव पारेको देखिन्छ ।
०७९ कात्तिकमा अझै कम कित्ताकाट भएको देखिन्छ । सरकारले भूउपयोग नियमावली ०७९ लागू गरेको र देशैभर कित्ताका ठप्प हुँदा कात्तिकमा २२ हजार ५६५ मात्रै कित्ताकाट भएको विभागले जनाएको छ ।
उपत्यकामा साढे पाँच हजार कित्ताकाट
काठमाडौं उपत्यकाका नौ मालपोत कार्यालयबाट पाँच हजार ३६२ मात्रै कित्ताकाट भएको देखिन्छ । उपत्यकामा खाली जग्गाको कमी हुँदै गएपछि कित्ताकाट पनि कम हुँदै गइरहेको हो ।
विभागका अनुसार उपत्यकामा लगनखेलबाट १२ सय २४, गोटीखेलबाट १८, भक्तपुरबाट ११ सय ७४, डिल्लीबजारबाट १९६, चावहिलबाट ७२१, कलंकीबाट ८३३, साँखुबाट ६५१, मनमैंजुबाट ३८८ र टोखाबाट १५७ कित्ताकाट भएका छन् ।
धेरै कित्ताकाट हुनेमा कैलाली पहिलो
कात्तिक महिनामा कैलालीको धनगढी मालपोतबाट सबैभन्दा धेरै कित्ताकाट भएको देखिन्छ । एक महिनामा धनगढीबाट २५ सय ८९ कित्ताकाट भएका छन् ।
मोरङको बेलवारीबाट २२ सय ३, धनुषाको जनकपुरधामबाट २१सय ८, सप्तरीको राजविराजबाट २ हजार ६७, सिराहाबाट १८ सय ३७, सुनसरीको इनरुवाबाट १७ सय ६२ कित्ताकाट भएका छन् ।
यस्तै, बाँकेको नेपालगञ्जबाट १७ सय ५३, कन्चनपुको महेन्द्रनगरबाट १७ सय ३५, पर्साबाट १५ सय ७७, सर्लाहीको मलंगवाबाट १५ सय १२ कित्ताकाट भएको विभागले जनाएको छ ।