निर्माण सामाग्रीको आयात तथा घरेलु उत्पादनको वृद्धिसँगै निर्माण क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर बढेको प्रारम्भिक अनुमान छ
काठमाडौं । लामो समयदेखि सिथिल रहेको निर्माण क्षेत्र तंग्रिन थालेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा निर्माण क्षेत्रको कुल मूल्य अभिवृद्धिदर ९.१ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयले प्रारम्भि अनुमान गरेको छ ।
तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको दोस्रो त्रैमासिक लेखा अनुमान अनुसार चालु आवको पहिलो त्रैमासमा निर्माण क्षेत्रको वृद्धिदर ०.९ प्रतिशतमात्र हासिल भएको थियो ।
गत आर्थिक वर्षको तेस्रो र चौथो त्रैमासमा निर्माण क्षेत्रको वृद्धिदर क्रमशः –६.२ प्रतिशत र –८.६ प्रतिशत ऋणात्मक रहेको थियो ।
निर्माण सामाग्रीको आयात तथा घरेलु उत्पादनको वृद्धिसँगै निर्माण क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर बढेको प्रारम्भिक अनुमान तथ्यांक कार्यालयको छ ।
५.१ प्रतिशत आर्थिक वृद्धि
गत वर्षको सोही अवधिको तुलनामा चालु आवको सोही अवधिमा कुल गार्हस्थ्य उत्पादन ५.१ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ । चालु आवको पहिलो त्रैमासमा यस्तो वृद्धिदर ४ प्रतिशत रहेको अनुमान छ ।
दोस्रो त्रैमासिक अवधिबीच क्षेत्रगत तुलना गर्दा अर्थतन्त्रका प्रस्तुत १८ वटा औद्योगिक वर्गीकरणमध्ये १८ वटै औद्योगिक क्षेत्रहरुको कुल मूल्य अभिवृद्धि वृद्धिदर धनात्मक रहेको देखिएको छ ।
जसमध्ये सबैभन्दा धेरै वृद्धिदर यातायात तथा भण्डारणसँग सम्बन्धित क्रियाकलापको १४.२ प्रतिशत रहेको छ । खानी तथा उत्खनन क्षेत्र ९.५ प्रतिशत वृद्धिदरसहित दोस्रो धेरै वृद्धि हुने औद्योगिक क्षेत्र रहेको छ ।
खानी तथा उत्खनन क्षेत्रमा भएको वृद्धिले निर्माण क्षेत्रका गतिविधिहरु चलायमान भएको शंकेत दिन्छ ।
यस्तै, उत्पादनमुलक उद्योगको वृद्धिदर ७.४ प्रतिशत, वित्तीय तथा बिमा क्षेत्रको वृद्धिदर ६.६ प्रतिशत, व्यायापार क्षेत्रको वृद्धिदर ६.१ प्रतिशत, सूचना तथा प्रविधि क्षेत्रको वृद्धिदर ४.९ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ ।
अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान पुर्याउने कृषि क्षेत्रको वृद्धिदर ३.२ प्रतिशत मात्र हुने प्रारम्भिक अनुमान छ ।