भारत सरकारले ब्यूरो अफ इन्डियन स्टान्डर्ड (बीआइएस) प्रमाणपत्र जारी तथा नविकरण गर्न ढिलाइ गरेपछि सिमेन्ट निर्यात घट्दै गएको हो
काठमाडौं । सिमेन्टको निर्यातले देखाएको आशा दुई वर्ष पनि टिक्न सकेन । भारत सरकारको अवरोधका कारण चालु आर्थिक वर्षको पहिलो सात महिना (साउनदेखि माघसम्म) सिमेन्ट निर्यात २०.३७ प्रतिशतले खस्किएको छ ।
सात महिनाको अवधिमा एक अर्ब ६४ करोड १० लाख रुपैयाँ बराबरको १२ लाख ५३ हजार टन सिमेन्ट तथा क्लिंकर भारत निर्यात भएको छ ।
गत वर्षको सोही अवधिमा दुई अर्ब ६ करोड दुई करोड रुपैयाँ बराबरको २१ लाख ४७ हजार टन सिमेन्ट तथा क्लिंकर निर्यात भएको थियो । गत वर्षभन्दा यस वर्ष निर्यात करिव ४२ करोड रुपैयाँले घटेको छ ।
भारत सरकारले ब्यूरो अफ इन्डियन स्टान्डर्ड (बीआइएस) प्रमाणपत्र जारी तथा नविकरण गर्न ढिलाइ गरेपछि सिमेन्ट निर्यात घट्दै गएको हो । ठूला निर्यातकर्ता अर्घाखाँची सिमेन्ट लगायत उद्योगको बीआइएस प्रमाणपत्र महिनौंदेखि नविकरण हुन सकेको छैन ।
सिमेन्ट निर्यात गर्न बीआइएस अप्लाइ गरेका धेरै उद्योगले प्रमाणपत्र पाउन सकेका छैनन् ।
यस वर्ष सात महिनाको अवधिमा ५५ करोड १५ लाख रुपैयाँ बराबरको चार लाख ६४ हजार ७७७ टन क्लिंकर निर्यात भएको छ भने एक अर्ब नौ करोड रुपैयाँ बराबरको ६ लाख ८८ हजार ६३२ टन तयार सिमेन्ट निर्यात भएको छ ।