होटलमा अन्तर्राष्ट्रियस्तरको ज्याकुजी, केरला थेरापी स्पा, जीम, साउना, स्वीमिङ पुल, रेष्टुरेन्ट लगायतका सुविधा रहेका छन्
काठमाडौं । पाहुनालाई शाही स्वागत (रोयल थिम) प्रदान गर्ने लक्ष्यसहित काठमाडौंको सोह्रखुट्टेमा जी–रामायण होटल सञ्चालनमा आएको छ । होटलमा पहिलो चरणामा ४० कोठा पूर्ण सञ्चालनमा आएका छन् । ‘रोयालिटी विथ लक्जरी’ भन्ने नारासहित खुलेको होटल पूर्ण सञ्चालनपश्चात् ५५ कोठा पुग्नेछन् ।
हाल तयार भएका ४० वटै कोठाहरु फरक शैलीमा निर्माण भएको होटलका अध्यक्ष डा. उमेश गुप्ताले जानकारी दिए । दुई दशकभन्दा बढी समय ट्राभल क्षेत्रमा अनुभव हासिल गरेका गुप्ताले संसारका विभिन्न मुलुकको भ्रमणपछि नेपालमा मौलिक र विलासी सुविधासहित होटल खोल्ने लक्ष्यअनुसार जी रामायण सञ्चालनमा ल्याइएको बताए ।
नेपाल आएका पर्यटकलाई पृथक स्वाद र सम्मानका लागि यस होटलमा ल्याएर अनुभव गराउने लक्ष्य राखिएको छ । होटलमा कोठाअनुसार प्रतिरात १० हजार रुपैयाँदेखि ४० हजार रूपैयाँसम्म मूल्य निर्धारण गरिएको छ ।
लन्डन स्वीट, रोयल राजस्थान स्वीट र टर्किस स्वीटका रुमहरु रहेको यो होटल नेपालका लागि पृथक अनुभव हुने बताइएको छ ।
सात तले यस होटलमा अन्तर्राष्ट्रियस्तरको ज्याकुजी, केरला थेरापी स्पा, जीम, साउना, स्वीमिङ पुल, रेष्टुरेन्ट लगायतका सुविधा रहेका छन् । होटलमा ३ सय जनाका लागि बैंक्वेट सुविधा रहेको छ । होटलका कोठाहरूमा बिडेट, छुट्टै ट्वाइलेट, हेयर ड्रायर र सावरजस्ता सुविधाहरू छन् ।
होटलमा पार्किङको राम्रो सुविधा छ । होटल काठमाडौं दरबार स्क्वायरबाट मात्र १.९ किमी टाढा छ भने गार्डेन अफ ड्रीम्ससम्म ५ मिनेटमै पुग्न सकिन्छ ।
होटलमा अतिथिहरूले काठमाडौंको इतिहासलाई सजिलै अनुभूति गर्न सक्छन् । किनभने चार पर्खालले घेरिएको नारायणहिटी दरबार संग्रहालय होटलबाट करिब २० मिनेटको दूरीमा अवस्थित छ । ठमेलसम्म केवल ९ मिनेट पैदल यात्रा गरेर पुग्न सकिने यो होटल सोरहखुट्टे बस स्टप नजिकै छ ।
होटलमा अध्यक्ष गुप्तासहित साजन शाक्य, नाफिसा खातुनको लगानी रहेको छ ।