पुस महिनामा देशभर ७१ युनिट अपार्टमेन्ट खरिद बिक्री भएकोमा माघमा घटेर २९ युनिट मात्र किनबेच भएको भूमि व्यवस्थापन विभागको तथ्यांक छ
काठमाडौं । माघ महिनामा घरजग्गाको कारोबार सामान्य घट्दा अपार्टमेन्ट किनबेच भने ह्वात्तै घटेको छ । पछिल्ला महिनाहरुमा घरजग्गासँगै अपार्टमेन्ट किनबेच पनि निरन्तर उकालो लागिरहेको थियो ।
पुस महिनामा देशभर ७१ युनिट अपार्टमेन्ट खरिद बिक्री भएकोमा माघमा घटेर २९ युनिट मात्र किनबेच भएका छन् ।
माघ महिनामा काठमाडौंमा १९ र ललितपुरमा १० युनिट अपार्टमेन्ट किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । काठमाडौंको डिल्लीबजार र चाबाहिल क्षेत्रमा ८÷८ युनिट, कलंकीमा दुई र टोखामा एक युनिट अपार्टमेन्ट किनबेच भएको देखिन्छ ।
अघिल्ला तीन महिनामा कलंकी, कुलेश्वर लगायत क्षेत्रमा व्यापक अपार्टमेन्ट किनबेच भएकोमा माघ महिनामा नगन्य कारोबार भएको देखिन्छ । पुसमा देशभर किनबेच भएका कुल ७१ युनिट अपार्टमेन्टमध्ये ५३ युनिट कलंकी मालपोतबाट मात्रै किनबेच भएका थिए ।
चालु आर्थिक वर्षको पहिलो ७ महिनामा देशभर २५५ युनिट अपार्टमेन्ट किनबेच भएकोमा कलंकी क्षेत्रबाट मात्रै १२७ युनिट किनबेच भएको विभागको तथ्यांक छ । कार्तिक, मंसिर र पुस महिनामा कलंकी तथा कुलेश्वर क्षेत्रमा धेरै अपार्टमेन्ट किनबेच भएको तथ्यांकले देखाउँछ ।
माघ महिनामा काठमाडौं उपत्यका बाहिर एउटै अपार्टमेन्ट किनबेच भएको देखिएन । उपत्यका बाहिरका शहरहरु पोखरा, रुपन्देही, पर्सा (बीरगञ्ज), झापा, मोरङलगायत क्षेत्रमा पनि अपार्टमेन्ट किनबेच हुने गर्छन ।
काठमाडौं र ललितपुरपछि सबैभन्दा धेरै अपार्टमेन्ट पोखरामा निर्माण भइरहेको देखिन्छ । पोखरामा निर्माण सम्पन्न भएका र निर्माणाधिन अपार्टमेन्टको संख्या एक दर्जनभन्दा बढी छ ।