तथ्यांकले तराई र मध्यम पहाडी जिल्लाहरूमा कित्ताकाट धेरै भइरहेको र हिमाली जिल्लाहरूमा न्यून रहेको देखाएको छ
काठमाडौं । माघ महिनामा सबैभन्दा धेरै जग्गाको कित्ताकाट पूर्वको झापामा हुँदा सबैभन्दा कम कित्ताकाट हिमाली जिल्ला मुस्ताङ र मुगुमा भएका छन् ।
एक महिनामा झापामा पाँच हजार ८४६ कित्ताकाट हुँदा मुस्ताङ र मुगु जिल्लामा चार/चार कित्ताकाट भएका छन् । अर्को हिमाली जिल्ला मनाङमा आठवटा कित्ताकाट भएका छन् ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघमा देशभर कुल एक लाख १४ हजार २०६ कित्ताकाट भएका छन् । यो संख्या अघिल्लो महिना पुसको तुलनामा सामान्य मात्रै कम हो । पुसमा एक लाख १५ हजार १३४ कित्तकाट भएका थिए ।
पुसको तुलनामा माघमा लिखत पारित (घरजग्गा कारोबार) देखि राजश्व संकलनसम्म सामान्य घटेको देखिन्छ ।
धेरै कित्ताकाट हुने जिल्लाहरु
पूर्वी नेपालमा जग्गा कित्ताकाटको उल्लेखनीय चहलपहल देखिन्छ । पूर्वी जिल्लाहरु झापा, मोरङ, सुनसरी, धनुषालगायत घरजग्गा किनबेचदेखि कित्ताकाटसम्म अग्रस्थानमा छन् ।
माघमा झापा भद्रपुर मालपोत कार्यालयबाट ३८२०, दमकबाट २०२६ कित्ताकाट भएको छ, जुन देशकै अग्रस्थानमा रहेको देखिन्छ । झापा जिल्लामा कुल पाँच हजार ८४६ कित्ताकाट भएको विभागको तथ्यांकले देखाउँछ ।
सबैभन्दा धेरै कित्ताकाट हुनेमा मोरङ दोस्रो नम्बरमा छ । मोरङको बेलवरी, विराटनगरलगायत मालपोत कार्यालयबाट एक महिनामा पाँच हजार ७९३ कित्ताकाट भएका छन् । धनुषा जिल्लाबाट चार हजार ७०४ कित्ताकाट भइ तेस्रो नम्बरमा छ ।
विभागको तथ्यांकले पूर्वी नेपालमा जग्गा कारोबारको उच्च गतिशीलता देखाउँछ ।
रुपन्देहीबाट चार हजार ३४९, काठमाडौंबाट चार हजार ३३४, कैलालीमा चार हजार नौ, दाङमा चार हजार तीन, चितवनमा ३९ सय २७, बारामा ३७ सय ९८, सिराहामा ३३ सय ९२, महोत्तरीमा ३३ सय कित्ताकाट भएका छन् ।
यस्तै, रौतहटमा २८ सय ७८, सर्लाहीमा २८ सय ४०, नवलपरासीमा २८ सय १८, ललितपुरमा २७ सय २३, पर्सामा २६ सय ६९, सप्तरीमा २६ सय २३, सुर्खेतमा २५ सय ९१, बाँकेमा २४ सय ७७, काभ्रेमा २१ सय ७९, कपिलवस्तुमा २१ सय ६१, कञ्चनपुरमा २१ सय २७, कास्कीमा दुई हजार ५३, बर्दियामा दुई हजार २० कित्ताकाट भएका छन् ।
सबैभन्दा कम कित्ताकाट हुने जिल्लाहरु
हिमाली जिल्लाहरू मुगु, मुस्ताङ, र मनाङमा कित्ताकाट अत्यन्तै न्यून भएको छ । माघमा मुगु र मुस्ताङमा मात्र ४–४ वटा कित्ताकाट भएका छन् भने मनाङमा ८ मात्र भएका छन् ।
माघमा अछाममा १२, हुम्लामा १७, डोल्पामा ४०, डडेलधुरामा ७१, पर्वमा १३०, रसुवामा १४३, जुम्लामा १४७, डोटीमा १७६, बझाङमा १८७, बाजुरामा १९०, पाँचथरमा १९०, कालिकोटमा १९२, म्याग्दीमा १९५ कित्ताकाट भएका छन् ।
तथ्यांकले तराई र मध्यम पहाडी जिल्लाहरूमा कित्ताकाट धेरै भइरहेको र हिमाली जिल्लाहरूमा न्यून रहेको देखाएको छ । झापा र मोरङ, सुनसरी, काठमाडौं, ललिपुर, रुपन्देही, बाँके, कैलालीजस्ता जिल्लाहरूमा कित्ताकाट धेरै हुनुको पछाडि जनसंख्या घनत्व, सेवा सुविधाको पहुँच र अन्य विविध कारकहरु मुख्य रहेका छन् ।
पछिल्लो समय पूर्वी नेपालमा जग्गाको कारोबार दर उच्च देखिन्छ भने मध्यनेपाल र पश्चिम नेपालका ठूला व्यापारिक केन्द्रहरूमा तुलनात्मक स्थिरता देखिन्छ ।