माघमा सबैभन्दा धेरै सुनसरीको इनरूवामा घरजग्गा कारोबार हुँदा सबैभन्दा कम मुस्ताङ, मनाङ र सिर्दिवास मालपाेतमा भएका छन्
काठमाडौं । यस वर्ष कार्तिक महिनादेखि निरन्तर उकालो लागिरहेको घरजग्गा कारोबार माघमा आएर फेरी घटेको छ । बढ्दो कारोबारमा झ्याप्प ब्रेक लाग्दा रियल इस्टेटमा मन्दी अझै कायमै रहेको शंकेत दिएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघ महिनामा देशभर ४६ हजार ६९ लिखत पारित भएका छन् । अघिल्लो महिना पुसमा ४८ हजार १५६ घरजग्गाको लिखत पारित भएका थिए ।
यो माघमा भएको घरजग्गा कारोबार अघिल्लो माघ महिनाको तुलनामा पनि कम हो । ०८० माघमा देशभर ५० हजार ९२१ घरजग्गाको लिखत पारित भएको देखिन्छ ।
माघमा घरजग्गा कारोबार घटेपनि राजश्व संकलन भने यथावत नै छ । पुस महिनामा देशभरका मालपोत कार्यालयबाट तीन अर्ब ८७ करोड रुपैयाँ राजश्व संकलन भएकोमा माघ महिनामा पनि तीन अर्ब ८७ करोड रुपैयाँ नै राजश्व संकलन भएको विभागले जनाएको छ ।
माघमा ३३ हजार ४२८ घरजग्गा रोक्का भएका छन् भने २९ हजार ३३० घरजग्गा फुकुवा भएका छन् । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा वा अंशबण्डा, मुद्दामामला लगायत कारणले घरजग्गा रोक्का हुने गर्छन् । ऋणीले कर्जा चुक्ता गरेपछि बल्ल बैंकबाट धितो राखेको घरजग्गा फुकुवा हुन्छन् ।
माघमा सबैभन्दा धेरै घरजग्गा सुनसरीको इनरुवा मालपोत कार्यालयबाट भएका छन् । एक महिनामा इनरुवा मालपोतबाट १७ सय चार लिखत पारित भएका छन् । झापाको भद्रपुरबाट १५ सय ७०, धनुषाको जनकपुरधामबाट १५ सय तीन, मोरङको बेलवारीबाट १५ सय एक लिखत पारित भएका छन् ।
सप्तरीको राजविराजबाट १२ सय १८, सिराहाबाट एक हजार २८, कपिलबस्तुको तौलिहवाबाट ९९६, सर्लाहीको मलंगवाबाट ९६०, बाराको कलैयाबाट ९५७, मोरङको विराटनगरबाट ९४७, दाङको तुल्सीपुरबाट ९४६, बाँकेको नेपालगञ्जबाट ९४३, भक्तपुरबाट ९०४ लिखत पारित भएका छन् ।
माघमा सबैभन्दा कम घरजग्गा कारोबार मुस्ताङ, मनाङ र सिर्दिवासमा भएका छन् । एक महिनाको अवधिमा यी तिन मालपोत कार्यालयबाट पाँच÷पाँच वटा घरजग्गाको लिखत पारित भएका छन् ।
ललितपुरको गोटीखेलबाट सात, अछामबाट १०, डोल्पाबाट १२, मुगुमा १३ घरजग्गाको लिखत पारित भएको विभागले जनाएको छ ।
माघमा ४२ मालपोत कार्यालयबाट सय भन्दा कम संख्यामा घरजग्गाको लिखत पारित भएको देखिन्छ ।
माघमा संकलन भएको कुल राजश्वमध्ये रजिष्ट्रेसन दस्तुरवापत दुई अर्ब ५२ करोड र पुँजीगत लाभकरवापत एक अर्ब ४५ करोड रुपैयाँ राजश्व संकलन भएको विभागले जनाएको छ ।
घरजग्गा कारोबार संख्यामा तराईका जिल्ला अग्रस्थानमा रहेपनि राजश्व संकलनमा भने उपत्यकाका मालपोत कार्यालय अग्रस्थानमा छन् । भूमि व्यवस्थापन विभागका अनुसार माघमा सबैभन्दा धेरै राजश्व ललितपुरको लगनखेल मालपोतबाट ३३ करोड ७४ लाख उठेको छ ।
दोस्रो स्थानमा रहेको डिल्लीबजार मालपोतबाट २६ करोड ९२ लाख उठेको छ भने कलंकी मालपोतबाट २६ करोड राजश्व उठेर तेस्रो स्थानमा छ ।
भक्तपुर मालपोतबाट २४ करोड ४२ लाख, चावहिलबाट २० करोड ७९ लाख, पोखराबाट १४ करोड ७६ लाख, चितवनबाट १३ करोड ६० लाख, साँखुबाट १० करोड २६ लाख, रुपन्देहीको भैरहवा मालपोतबाट १० करोड रुपैयाँ राजश्व संकलन भएको छ ।