अधिकांश बैंकहरुको मुद्दतिको ब्याजदर पछिल्लो तीन/चार महिनायता यथावत नै रहेको देखिन्छ ।
काठमाडौं । फागुन महिनामा पनि वाणिज्य बैंकहरुको मुद्दति निक्षेपको ब्याजदर यथावत रहेको छ । कर्जाको माग बढ्न नसक्दा अधिकांश बैंकले निक्षेपमा प्रदान गर्ने ब्याजदर पनि बढाउन सकेका छैनन् ।
फागुन महिनाका लागि १९ वाणिज्य बैंकले मुद्दति निक्षेपको ब्याजदर यथावत राखेका छन् । एउटा ग्लोबल आइएमई बैंकले ब्याजदर ०.२५ प्रतिशत बिन्दूले बढाएर ६ प्रतिशत तोकेको छ ।
अधिकांश बैंकहरुको मुद्दतिको ब्याजदर पछिल्लो तीन/चार महिनायता यथावत नै रहेको देखिन्छ । केही बैंकले मात्र ब्याजदर थोरै तलमाथि गरेको देखिन्छ ।
फागुनमा एनएमबि र एनआइसी एशिया बैंकमा मुद्दति बचत राख्दा सबैभन्दा धेरै ६.६ प्रतिशत ब्याज पाइनेछ भने नेपाल एसबिआइ बैंकमा सबैभन्दा कम ५.५ प्रतिशत ब्याज पाइने छ ।
अधिकांश बैंकको मुद्दति निक्षेपको ब्याजदर साढे पाँच प्रतिशतदेखि साढे ६ प्रतिशतभित्र रहेको छ । नबिल, नेपाल एसबिआई, लक्ष्मी सनराइज, कुमारी, सिटिजन्स, कृषि विकास र नेपाल वाणिज्य बैंकमा मुद्दति निक्षेप राख्दा ५.५ प्रतिशतदेखि ६ प्रतिशतसम्म ब्याज पाइन्छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा, माछापुच्छ्रे, हिमालयन, एभरेष्ट, एनआइसी एशिया, सिद्धार्थ, सानिमा, एनएमबि, प्रभु, ग्लोबल, प्राइम कमर्सियल र राष्ट्रिय वाणिज्य बैंकमा मुद्दति निक्षेप राख्दा ६ प्रतिशतभन्दा बढी ब्याज पाइन्छ ।