डेढ अर्ब लगानी हुने रारा रिसोर्टको वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीद्धारा शिलन्यास, दुई वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य
काठमाडौं । कर्णालीको सुन्दर पर्यटकीय गन्तव्य रारामा लक्जरी रिसोर्ट निर्माण सुरु भएको छ । राराको मुर्माटपमा निर्माण गरिने रिसोर्टको वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले शिलन्यास गरे ।
रारा होल्डिङ्स प्रालि र अष्ट्रेलियाको एक्सपर्ट ग्रुपको साझेदारीमा रारा रिसोर्ट निर्माण थालनी भएको हो । मोनोरेल सेवासहितको रिसोर्टमा करिव डेढ अर्ब रुपैयाँ लगानी हुने प्रारम्भिक अनुमान छ ।
रारा ताल घुम्न गएका पर्यटकलाई रिसोर्टसम्म पुर्याउन दुई किमी लामो मोनोरेल निर्माण गरिने रारा होल्डिङ्सका अध्यक्ष अभिषेक बिक्रम शाहले बताए । यो रिसोर्ट सञ्चालनमा आएपछि रारा क्षेत्रमा लक्जरी रिसोर्टको अभाव पुरा हुने अपेक्षा गरिएको छ ।
अहिले रारा घुम्न जाने पर्यटकको एउटै गुनासो हुने गरेको छ, खान बस्नका लागि राम्रो सुविधा भएन । रिसोर्ट शिलन्यास गर्दै मन्त्री शाहीले यो रिसोर्ट सञ्चालनमा आएपछि रारामा लक्जरी होटेलको अभाव कम नहुने बताए । यो रिसोर्ट निर्माणले राराको मात्र नभई समग्र मुलुककै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनको विश्वास छ ।
मन्त्री शाहीले लगानी सहजीकरणका लागि सरकारले अध्यादेश ल्याएको उल्लेख गर्दै यसबाट व्यावसायिक वातावरण सिर्जना भई देशको आर्थिक विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “व्यावसायिक सुरक्षा र सुरक्षित लगानीका वातावरण बनाउन सरकार प्रतिबद्ध छ ।”
लगानीकर्ताको लगानी सुरक्षा गर्नको लागि अध्यादेशबाट बन्ने कानूनले ठूलो मद्दत पुग्ने मन्त्री शाहीको भनाई छ । उनले कर्णालीको क्षेत्रको समस्या समाधान गर्न समेत सरकार लागिपरेको पनि बताए ।
मन्त्री शाहीले कर्णाली राजमार्ग र कर्णाली करिडोर पिच गर्नको लागि अगामी आर्थिक वर्षको बजेटमा बजेटको व्यवस्था गरिने आश्वासन पनि दिलाए । यस्तै, रारा क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नको लागि ताल्चा विमानस्थलसहित जुम्ला र बाजुरा एयरपोर्टको स्तरान्ती गर्ने उनको आश्वासन थियो । रारा क्षेत्रमा रहेको खानेपानी समस्या समाधान गर्नका लागि केही पहल गरेको उनको भनाई छ ।
रिसोर्टको पूर्वाधार निर्माण तथा सञ्चालनमा स्थानीय स्रोत र साधनलाई बढी प्राथमिकता दिइने बताइएको छ । जसकारण रिसोर्ट वातावरणमैत्री हुनेछ ।
राप्रपाका प्रवक्ता एवं सांसद ज्ञानबहादुर शाहीले कर्णाली प्रदेशमा हुने सबैखाले लगानीको सुरक्षाका लागि वातावरण बनाउन राजनीतिक सहजीकरणको भूमिका निर्वाह गर्ने बताए ।
यस्तै, रास्वपाकी सांसद विनिता कठायतले कर्णालीमा लगानी प्रवद्र्धन र व्यावसायिक सुरक्षाको वातावरण बनाइने प्रतिबद्धता जनाइन् ।
मुगुको छायानाथ रारा नगरपालिका–९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा रिसोर्ट निर्माण हुने जनाइएको छ । कुल ६० कोठा रहने रिसोर्टमा पहिलो चरणमा १२ भिल्लामा ४० कोठा तयार हुने छन् । जहाँ एउटा स्वीट, ४ वटा डिलक्स र ३५ वटा स्टान्डर्ड रुम हुनेछन् ।
राता तालको किनारबाट यात्रुलाई मोनोरेलबाट रिसोर्टसम्म सेवा दिइने भएको छ । भिल्लाहरुको बाह्य संरचना र आन्तरिक डिजाइनमा मुगुको स्थानिय मौलिक संस्कृति झल्किने गरी रिसोर्ट तयार गरिने छ ।
रिसोर्ट दुई वर्षभित्र वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको शाहले बताए । उनले भने, ‘रिसोर्टमा स्थानीय स्रोतसाधनको प्रयोग र त्यहाँको संस्कृति झल्किने गरी निर्माण गरिने छ ।’ यो राराको मात्र नभई सिंगो कर्णाली प्रदेशकै सुविधा सम्पन्न रिसोर्ट हुनेछ ।