होटेल सञ्चालनमा आइसक्दा करिव डेढ अर्ब रुपैयाँ लगानी भएको छ, जसमा स्वमिङ पुल, रुफटप बार, रेस्टुरेन्ट, फिटनेस सेन्टर, स्पा र अठ सय जनाभन्दा बढी क्षमताको ब्यांक्वेट हल लगायत रहेका छन्
काठमाडौं । पशुपतिनाथ छेवैमा रहेको गौशाला पिंग्लास्थानमा तारे होटेल सञ्चालनमा आएको छ । अघिल्लो साता पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे र नेपालका लागि अमेरिकी रादूत डिन आर थम्प्सनले ‘बेस्ट वेस्टर्न प्लस काठमाडौं’ बिधिवत उद्घाटन गरेका छन् ।
बेस्ट वेस्टर्न प्लस अमेरिकी चेन होटल ब्रान्ड हो, जुन नेपालमा पहिलो पटक भित्रिएको छ । होटेलमा सुइट र डिलक्स गरी ८७ कोठा रहेको अध्यक्ष रामेश्वर अर्यालले बताए ।
होटेल सञ्चालनमा आइसक्दा करिव डेढ अर्ब रुपैयाँ लगानी भएको छ । होटेलमा स्वमिङ पुल, रुफटप बार, रेस्टुरेन्ट, फिटनेस सेन्टर, स्पा र अठ सय जनाभन्दा बढी क्षमताको ब्यांक्वेट हल रहेकोे छ ।
बेस्ट वेस्टर्न प्लस होटललाई प्रिमियम सुविधासहित तयार पारेको सञ्चालक अर्यालको भनाई छ । होटेलमा डेढ सय जनालाई प्रत्यक्ष रोजगारी दिइएको बताइएको छ ।
होटेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पशुपतिनाथ मन्दिरबाट नजिक रहेकोले छिट्टै बजारमा आफ्नो स्थान बनाउने अर्यालको विश्वास छ । होटलले युरोप, अमेरिका, अस्ट्रेलिया जस्ता देशका पर्यटकसँगै बढी खर्च गर्ने भारतीय पर्यटकलाई मुख्य लक्ष्य बनाएको छ ।
विशेषगरी पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भारतीय पर्यटकलाई आकर्षित गर्न विशेष रणनीति बनाइएको छ ।
होटलको व्यवस्थापन सम्हालेको अमेरिकाको बेस्ट वेस्टर्न होटल्स एन्ड रिसोट्र्स (बीडब्लू) ले अहिले विश्वभर ४७ सय भन्दा बढी होटेल सञ्चालन गर्दै आइरहेको बताइएको छ । बेस्ट वेस्टनको विश्वव्यापी सञ्जाल प्रयोग गरेर नेपालमा पर्यटक भित्र्याइने अर्यालले बताए ।