नेपालमा कुल कर्जाको करिव ६८ प्रतिशत कर्जा घरजग्गा धितोमा प्रवाह भएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ
काठमाडौं । वर्ष ०८१ मा कर्जा प्रवाह र असुली झन् सुस्ताएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ ।
गत वर्ष तीन लाख ८२ हजार ८३५ घरजग्गा मालपोत कार्यालयमा रोक्का गरिएको छ भने तीन लाख २३० जग्गा फुकुवा भएका छन् । यो संख्या अघिल्लो वर्ष ०८० को तुलनामा कम हो ।
०८१ सालमा चार लाख सात हजार ४४५ घरजग्गा रोक्का हुँदा तीन लाख १० हजार २६५ घरजग्गा फुकुवा भएका छन् ।
नेपालमा बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा धितो नराखी कर्जा दिँदैनन् । कुनै ऋणीले बैंकबाट कर्जा लिनुपर्यो भने मालपोत कार्यालयमा गएर घरजग्गा धितो बन्धक राख्नुपर्ने हुन्छ ।
बैंकको कर्जा चुक्ता गरिसकेपछि बल्ल बैंकले मालपोतमा बन्धक राखेको धितो फुकुवा गरिदिन्छन् ।
नेपालमा कुल कर्जाको करिव ६८ प्रतिशत कर्जा घरजग्गा धितोमा प्रवाह भएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । गत वर्ष मालपोतमा घरजग्गा रोक्का घट्नु भनेको बैंकको कर्जा प्रवाह पनि घटेको शंकेत हो ।
कुन महिना कति रोक्का र फुकुवा ?
गत वर्ष वैशाखमा ३२ हजार ४३९ घरजग्गा रोक्का हुँदा २७ हजार ८४२ घरजग्गा फुकुवा भएका छन् । जेठमा ४४ हजार ९७५ घरजग्गा रोक्का र ३४ हजार २४० फुकुवा, असारमा ३६ हजार ५०२ रोक्का र २६ हजार ८७५ फुकुवा, साउनमा २९ हजार ६५९ रोक्का र २९ हजार ७५ घरजग्गा फुकुवा भएको तथ्यांक छ ।
यस्तै, भदौमा ३६ हजार ८९१ घरजग्गा रोक्का हुँदा २५ हजार २६१ फुकुवा, असोजमा ३२ हजार ७३६ रोक्का र २० हजार ९२३ फुकुवा, कार्तिकमा २५ हजार ३० रोक्का र २१ हजार ८०५ फुकुवा, मंसिरमा ३५ हजार १४६ घरजग्गा रोक्का र २७ हजार ४९५ घरजग्गा फुकुवा भएका छन् ।
पुसमा ३८ हजार ३८६ घरजग्गा रोक्का र २९ हजार ३३० फुकुवा भएका छन् भने माघमा ३३ हजार ४२८ रोक्का र २९ हजार ३३० फुकुवा, फागुनमा ३७ हजार ७१५ रोक्का र २८ हजार २४३ फुकुवा, चैतमा ४० हजार ७९१ रोक्का र ३० हजार ५७६ फुकुवा भएका छन् ।