काठमाडौं महानगरमा सम्पत्ति कर, भूमिकर, घरबहाल कर, घरजग्गा रजिष्ट्रेसन दस्तुरलगायत बढ्दा नक्सा पास दस्तुर झन्डै आधाले घटेको छ
काठमाडौं । रियल इस्टेट क्षेत्र लामो समयदेखि मन्दीबाट गुज्रिदा जग्गाको मूल्य ४० प्रतिशतसम्म घटेको छ । अझ अप्ठ्यारोमा परेका जग्गाधनीले ग्राहककै मूल्यमा जग्गा बिक्री गर्न थालेको घरजग्गा व्यवसायी बताउँछन् ।
अहिले घरजग्गा बिक्री गर्नेहरुको ताँती छ । तर, खरिद गर्ने ग्राहकहरु फेला पार्नु देवता भेट्याए सरह छ । ग्राहकले बार्गेनिङ गरेर आफुले भनेकै मूल्यमा घडेरी किनेर घर बनाउन सक्छन् ।
यही बेला बैंकमा कर्जाको ब्याजदर पनि घटेर सात प्रतिशत हाराहारीमा झरेको छ । निर्माण सामाग्रीहरु सिमेन्ट र डन्डीको मूल्य पनि हालैमात्र बढेको हो, आर्थिक वर्षको सुरुवाती महिनातिर मूल्य स्थिर थियो ।
तर, चालु आर्थिक वर्ष पनि काठमाडौं महानगरभित्र नयाँ घर तथा भवन बनाउने उल्टै घटेको देखिन्छ । नयाँ घर, भवन वा अन्य संरचनाहरु बनाउने घटेकै कारण काठमाडौं महानगरको नक्सापास दस्तुर करिव ४१ प्रतिशतले घटेको छ ।
चालु आवको पहिलो नौ महिना (साउन(चैत)मा महानगरले नक्सापास दस्तुरवापत २९ करोड ९१ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । जबकी, गत आवको यसै अवधिमा ४९ करोड २९ लाख रुपैयाँ नक्सापास दस्तुर उठेको थियो । यो वर्ष नक्सापास दस्तुर २० करोड १७ लाख रुपैयाँले घटेको देखिन्छ ।
यदि नयाँ घर तथा भवन बनाउनेहरु बढेको भए महानगरमा नक्सा पास संख्या बढ्ने थियो र राजश्व पनि बढी उठ्थ्यो । सम्बन्धित पालिकामा नक्सा पास नगराइ नघर, भवन वा कुनै पनि संरचना निर्माण गर्न पाइँदैन ।
पछिल्लो समय घरजग्गा कारोबारसँगै निर्माण क्षेत्र पनि सुस्त बनेको छ । अहिले निजी घर तथा भवनदेखि सरकारी र सार्वजनिक निर्माणसम्म सुस्त छ । जसकारण सिमेन्ट, डन्डी, टायललगायत निर्माण सामाग्रीहरुको बिक्री पनि अत्यन्तै न्युन रहेको उद्योगीहरुको गुनासो छ ।
काठमाडौं महानगरमा सम्पत्ति कर, भूमिकर, घरबहाल कर, घरजग्गा रजिष्ट्रेसन दस्तुर लगायत बढेको देखिन्छ । तर, नक्सा पास दस्तुर झन्डै आधा घटेको छ ।
मन्दीकै कारण अहिले हाउजिङ, अपार्टमेन्ट, कमर्सियल भवन निर्माण पनि घटेको छ । सबै प्रोजेक्ट होल्ड भएर बसेका छन् ।