मंसिर महिनामा भएको कुल कारोबार संख्याको २० प्रतिशत कारोबार कोशी प्रदेशमै मात्र
काठमाडौं । पूर्वी नेपाल घरजग्गा कारोबारको हटस्पट बनेको छ । मंसिरमा देशभरी भएको कुल कारोबारमा २० प्रतिशत कारोबार कोशी प्रदेशमा मात्र भएको देखिन्छ ।
कोशी प्रदेशमा पर्ने तराइका जिल्लाहरु झापा, मोरङ र सुनसरीमा घरजग्गा कारोबार धेरै भइरहेको छ । पछिल्ला केही वर्षयता यी जिल्लाहरु घरजग्गा कारोबारमा सधै अग्रणी रहँदै आएका छन् ।
पछिल्लो समय जनकपुर, दाङ, नेपालगञ्ज, कैलाली लगायत जिल्लामा कारोबार उच्च छ । काठमाडौं, पोखरा, चितवन, बुटवल, भैरहवाजस्ता रियल इस्टेटका परम्परागत हटस्पट कारोबार संख्यामा पछाडि परिसकेका छन् ।
देशभर सबैभन्दा धेरै घरजग्गा कारोबार गर्ने प्रमुख पाँच मालपोत कार्यालयमा झापा, मोरङ र सुनसरीका मालपोत परेकै हुन्छन् । झापा, विराटनगर, इटहरीलगायत ठाउँहरुमा तारे होटेल, सपिङ मल, गेमिङ जोन, अपार्टमेन्ट र हाउजिङ, कलकारखाना खुल्ने क्रम बढेको हुँदा करोडौं÷अर्बौं मूल्यका ठूला प्लटहरु पनि बिक्री बढेको देखिन्छ ।
पछिल्लो समय घरजग्गा व्यवसायीहरु दीपक मलहोत्रा, ध्रुब घिमिरे र इन्द्र बहादुर सिंहले विराटनगरमा ४८ कट्ठा जग्गा एक अर्ब २५ करोड रुपैयाँमा एकमुष्ठ बिक्री गरेका छन् ।
विराटनगरको रत्ना होटेलसँग जोडिएको जग्गा घडेरी बनाएर प्रिमियम मूल्यमा बिक्री गर्न प्लटिङ गरेका उनीहरुले झापाका व्यवसायी प्रकाश गोतामेलाई एकमुष्ठ बिक्री गरेका हुन् । सो जग्गा बिक्री गर्दा राज्यलाई १० करोडभन्दा बढी राजश्व तिरेको साझेदार ध्रुब घिमिरेको भनाई छ ।
भूमि व्यवस्थापन विभागको तथ्यांक हेर्दा मंसिर महिनामा देशकै सबैभन्दा धेरै सुनसरीको इनरुवा मालपोतबाट सबैभन्दा धेरै १५ सय ५३ घरजग्गाको लिखत पारित भएको देखिन्छ । १४ सय ४२ लिखत पारी गरी मोरङको बेलवारी मालपोत दोस्रो भएको छ भने तेस्रो भएको झापाको भद्रपुरबाट १३ सय ९८ घरजग्गाको लिखत पारित भएको देखिन्छ । यी तीनवटै मालपोत कोशी प्रदेशमा पर्छन् ।
मंसिरमा धेरै लिखत पारित हुने पाँच मालपोत
आर्थिक वर्षको पहिलो महिना साउनमा देशभर ४३ हजार ८३५ घरजग्गाको लिखत पारित भएको भूमि व्यवस्थापन विभागको तथ्यांक छ । सबैभन्दा धेरै घरजग्गा किनबेच गर्नेमा सुनसरीको इनरुवा मालपोतबाट ११ सय ४, सप्तरीको राजविराजबाट १६ सय ८, मोरङको बेलवारीबाट १५ सय २०, झापाको भद्रपुरबाट १४ सय ६५ घरजग्गाको लिखत पारित भएका छन् ।
भदौमा देशभर ३२ हजार ७९८ लिखत पारित भए । सो महिना सबैभन्दा धेरै सुनसरीको इनरुवा मालपोतबाट १६ सय ५१, झापाको भद्रपुरबाट १२ सय ६५, जनकपुरधामबाट ११ सय ४८, सप्तरीको राजविराजबाट ११ सय एक, मोरङको बेलवारीमा ९०८ घरजग्गाको लिखत पारित भएका छन् । भदौमा पनि कोशी प्रदेशका तीन जिल्ला प्रमुख पाँचमा दहरिएका छन् ।
अशोजमा देशभर ३० हजार ५२७ लिखत पारित भएका थिए । सो महिना पनि ११ सय ८५ लिखत पारित गरी इनरुवा मालपोत पहिलो बनेका थियो । अशोजमा जनकपुरबाट ११ सय ७ लिखत पारित गरी दोस्रो र एक हजार १६ लिखत पारित गर्दै बेलवारी मालपोत तेस्रो बनेका थिए । सप्तरीको राजविराज चौथो र भद्रपुर मालपोत पाँचौ स्थानमा परे । असोजमा पनि कोशी प्रदेशका तीन जिल्लाका मालपोत प्रमुख पाँचमा दहरिए ।
कार्तिकमा देशभरी ३३ हजार ५१४ लिखत पारित भएका थिए । सो महिना १२ सय ४६ लिखत पारित गरी इनरुवा मालपोत पहिलो र ११ सय १२ लिखत पारित गरी बेलवारी मालपोत दोस्रो भएका थिए । तेस्रो स्थानमा जनकपुर मालपोत हुँदा चौथो नम्बरमा सप्तरीको राजविराज र पाँचौं नम्बरमा झापाको भद्रपुर मालपोत कार्यालय रहेको थियो ।
कार्तिकमा पनि कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्ला मालपोत कार्यालय सबैभन्दा धेरै लिखत पारित गर्ने प्रमुख पाँच मालपोत कार्यालय बनेका छन् ।
झापामा पछिल्लो समय होटेलमा ठूलो लगानी भइरहेको छ । दुईवटा पाँचतारे सञ्चालनमा आइसकेका छन्, दुईवटा पाँचतारे सञ्चालनको तयारीमा छन् । अरु थुप्रै होटेल निर्माणको तयारीमा देखिन्छन् ।
विराटनगर र इटहरी रियल इस्टेटको उम्दा हब बनेका छन् । इटहरी र विराटनगरमा तारे होटेलमात्र होइन, भाटभटेनीजस्ता ठूला सपिङ मलहरु पनि बनिरहेका छन् । सेञ्चुरी ग्रुपले विराटनगरमै मलसहितको पाँचतारे होटे निर्माण अन्तिम चरणमा पुराएको छ ।