भूमि व्यवस्थापन विभागका अनुसार ०८० मंसिरमा २२ र ०७९ मंसिरमा २६ युनिट अपार्टमेन्ट किनबेच भएका थिए ।
काठमाडौं । लामो समयदेखि सुस्त बनेको रियल इस्टेट क्षेत्रले मंसिरमा लय समात्न खोजेको छ । मंसिरमा घरघडेरी एवं अपार्टमेन्ट किनबेचदेखि राजश्व संकलन र कित्ताकाटसम्म बढेको छ ।
कार्तिकको तुलनामा मंसिरमा अपार्टमेन्ट किनबेच दोब्बरले बढेको छ । मंसिरमा देशभर ६३ युनिट अपार्टमेन्ट किनबेच भएका छन् । जबकी, अघिल्लो महिना कार्तिकमा २९ युनिट अपार्टमेन्ट किनबेच भएका थिए ।
मंसिरमा भएको अपार्टमेन्ट किनबेच गत साउनयताकै उच्च हो । असारमा ७१ युनिट अपार्टमेन्ट किनबेच भएकोमा साउनमा १६ युनिटमात्र किनबेच भएको भूमि व्यवस्थापन विभागले जनाएको छ ।
साउनदेखि थप सुस्त बनेको अपार्टमेन्ट किनबेच मंसिरमा बढेको हो । अघिल्ला वर्षहरुको मंसिर महिनाको तुलनामा पनि यो मंसिरमा भएको अपार्टमेन्ट किनबेच झन्डै तीन गुना बढी देखिन्छ ।
भूमि व्यवस्थापन विभागका अनुसार ०८० मंसिरमा २२ र ०७९ मंसिरमा २६ युनिट अपार्टमेन्ट किनबेच भएका थिए ।
कलंकीबाट ४३ युनिट किनबेच
मंसिर महिनामा कलंकी मालपोतबाट सबैभन्दा धेरै अपार्टमेन्ट किनबेच भएको विभागको तथ्यांकले देखाउँछ । एक महिनाको अवधिमा कलंकी मालपोतबाट ४३ युनिट अपार्टमेन्ट किनबेच भएका छन् ।
यस्तै, ललितपुर मालपोतबाट आठ युनिट किनबेच हुँदा डिल्लीबजारबाट सात, चाबहिलबाट चार, टोखाबाट एउटा अपार्टमेन्ट किनबेच भएको छ ।
मंसिरमा पोखरा, रुपन्देही, वीरगञ्ज, विराटनगर, झापा लगायतका ठाउँमा भने एउटै अपार्टमेन्ट किनबेच भएनन् ।