१५ हजार वर्गफिटको ठूलो हलमा थियटर सेटअपमा एकसाथ २५ सयभन्दा बढी व्यक्ति बसेर कार्यक्रम गर्न सकिन्छ ।
काठमाडौं । ललितपुरको पुल्चोकमा देशकै सबैभन्दा ठूलो र आलिशान मल्टिभेन्यु ‘द प्लाजा’ सञ्चालनमा आएको छ । सिजी होल्डिङ्सले अन्तर्राष्ट्रिय स्तरको खाना र सेवासहितको मल्टिभेन्यु सञ्चालनमा ल्याएको हो ।
पुल्चोकबाट झम्सिखेल जाँदै गर्दा दायाँपट्टी साझा प्रकाशनको छेवैमा द प्लाजा मल्टिभेन्यू रहेको छ । एक अर्ब ५० करोड रुपैयाँ लगानीमा निर्माण भएको द प्लाजाको व्यवस्थापन सिग्नेचर इभेन्ट्स प्रालिले गरिरहेको छ ।
१५ हजार वर्गफिटको ठूलो हलमा थियटर सेटअपमा एकसाथ २५ सयभन्दा बढी व्यक्ति बसेर कार्यक्रम गर्न सकिन्छ । ठूलो हललाई आवश्यकताअनुसार दुई र तीनवटा हलमा विभाजन गरेर पनि कार्यक्रम गर्न सकिने बताइएको छ ।
द प्लाजामा दुईवटा भिआइपी रुम, तीनवटा बल रुम, दुईवटा आउटडोर टेरेसेस रहेका छन् । कुल ४३ हजार वर्गफिटमा निर्माण भएको द प्लाजामा तीन सयभन्दा बढी कार पार्किङको सुविधा छ ।
प्लाजामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभासम्मेलन, विवाह तथा व्रतबन्धलगायत कर्पोरेट बैठक र सानादेखि ठूला कार्यक्रम गर्न सकिन्छ । द प्लाजामा आवश्यकताअनुसार सचिवलाय र भीआईपी कक्षको पनि सुविधा छ ।
कार्यक्रमको उच्च स्तरको व्यवस्थापनका लागि द प्लाजाले आवश्यकताअनुसार आधुनिक र उच्च प्रविधिको साउण्ड तथा लाइट, साँस्कृतिक कार्यक्रम, मल्टिमिडिया र अडियो भिजुअलसहितको प्रवन्ध गर्ने जनाइएको छ ।