घरमा राम्रो गेट कसरी छनौट गर्ने? यस्ता छन् नेपाली बजारमा चलेका गेट

तपाईलाई घरको सुरक्षाको लागि गेट चाहिएको हो की घरको सौन्दर्य बढाउनको लागि चाहिएको हो ? उदेश्यको पहिचानले तपाईं को विकल्पलाई सजिलो बनाउँछ।

367B408218B985F-icon.png
2572views
750EE5C9584F9AE-118A1840.JPG

प्रवेशद्बार तपाईको घरको मुख्य केन्द्रबिन्दु हो । जोकोही तपाईको घरमा आउँदा पहिला गेटलाई देखेको  हुन्छ । गेट राखिँदा घर राम्रो देखिनुको साथै सुरक्षित पनि हुन्छ । आफ्नो अनुमति बिना कोही तपाईको घरभित्र आउन सक्दैनन् ।

गेट निर्माणकर्ता तथा स्थापनाकर्ताहरु बाट हामीले गेट सम्बन्धित धेरै जानकारी लिन सक्छौँ । तपाईले सहि गेट छनौट गर्दा विचार गर्नुपर्ने कुराहरु यसप्रकार छन्:

शैली

घरको संरचनाले गेटको शैली छनौट प्रभावित गर्छ । उदाहरणको लागि आधुनिक शैलीमा निर्माण भएको घरलाई गेटको शैली पनि आधुनिक नै चाहिन्छ । अर्कोतर्फ फलामको गेट सबै प्रकारको आर्किटेक्चरल शैलीसँग सुहाँउदो हुन्छ ।

गेटको शैलीले घरको समग्र स्वरुपलाई बढाउन मद्दत गर्छ ।

उद्देश्य

तपाईको घरको गेट कस्तो राख्‍ने भनेर छनौट गर्नुअघि आफ्ना आवश्यकताहरु बुझ्‍न जरुरी छ । तपाईलाई घरको सुरक्षाको लागि गेट चाहिएको हो की घरको सौन्दर्य बढाउनको लागि चाहिएको हो ? उदेश्यको पहिचानले तपाईको विकल्पलाई सजिलो बनाउँछ। तपाईको प्राथमिकतामा सुन्दर गेट छ भने फलामको सामान्य गेट राख्‍न सक्नुहुन्छ अरु गेटले भन्दा फलामको गेटले तपाईको घरलाई सुन्दर देखिन मद्दत गर्छ । यदि सुरक्षाको लागि हो भने स्वचालित गेट राख्दा ठिक हुन्छ ।

प्रकार 

गेट मुख्य गरि दुई प्रकार छन् । ति दुबै प्रकारका गेट लोकप्रिय छन् ।

स्लाइडिंग गेटः यो खालको गेटको गाडि पार्किङहरुमा प्रयोग गरिन्छ । यो गेटले ठाउँ कम ओगट्ने हुदाँ कम स्पेस भएको पार्किङमा यो उपयुक्क्त हुन्छ । 

हिन्ज गेट: यो गेट पैदल यात्राको आवतजावतको लागि प्रयोग हुन्छ । रुमको ढोका खोल्ने शैलीमा यो गेट खोल्ने बन्द गर्ने गरिन्छ । कुनै ठाउँ हिन्ज गेट पनि पार्किङमा प्रयोग गरिन्छ । तर यस्तो गेट पार्किङमा प्रयोग गर्दा बढि स्पेस लाग्छ । 

गेट निर्माणमा प्रयोग भएको सामाग्रीको अनुसार गेटको प्रकार–

के सामाग्रीको गेट बनाउने भन्ने हिसाबले गेटलाई २ प्रकारमा भाग लगाउन सकिन्छ ।

१. मेटल (फलाम-स्टीलको गेट)

यसमा फलाम वा स्टीलको २-३-४ इन्चको पाइपमा मोटो जस्ता पाता वेल्डिङ गरेर वा फलामको पाइप र सानो सानो प्लेट रोड प्रयोग गरेर गेट बनाउन सकिन्छ । यस्तो गेटको वजन एकदम धेरै हुन्छ । हाम्रो समाजमा बढि यस्तै फलामको गेट प्रयोग हुन्छ । 

फलामको गेटलाई डिजाइन अनुसार विभिन्‍न बुट्टाहरु राखेर आकर्षक पनि बनाउन सकिन्छ । फलामको गेटमा चाडैँ खिया लाग्‍ने डर हुन्छ । यसमा बेला बेलामा इनामेल पेन्ट गरि राख्‍ने हो भने यसलाई टिकाउ बनाउन सकिन्छ । फलामको गेट अरु भन्दा बलियो पनि हुन्छ । सस्तोमा बनाउने भए ५५ देखि ६० हजारमा सिम्पल फलामको गेट बनाउन सकिन्छ भने राम्रो डिजाइन सहितको गेट बनाउदा डेढलाख देखि २ लाखसम्म पनि खर्च हुन्छ ।

आजकल फलामको सट्टा आल्मुनियमको गेट बनाउन चलन पनि चलेको छ । आल्मुनियमको गेट हलुका हुन्छ र खिया लाग्‍ने समस्या हुँदैन । आल्मुनियमको गेट फलामको भन्दा अलि कमजोर हुन्छ । तर, निक्कै प्रिमियम देखिने गरि सस्तैमा बनाउन सकिन्छ । 

२. काठको गेट 

गेट पुरै काठको बनाउन अलिक गार्है हुन्छ । तर, ठूला र महँगो बङ्गलोहरुमा आकर्षक देखिन काठको गेट हाल्ने चलन पनि छ । काठको गेट बनाउँदा ध्यान दिनु पर्ने मुख्य कुरा भनेको पानीबाट बचाउनु हो ।गेट घरको बाहिर राख्‍ने कुरा हो र घाम र पानीमा पर्ने कुरा हो । त्यसैले गेटमा प्रयोग हुने काठ राम्रोसँग सिसोनिङ गरेको हुनु जरुरी छ । नराम्रो काठ परेको खण्डमा केही समयमा काठको पसाङ्गिने गेट नै बिग्रिन सक्छ । गेटमा प्रयोग हुने काठ लेमिनेटेड भयो भने अलिकति बढि टिकाउ हुन्छ । 

काठको गेटलाई फलामको फ्रेममा मिलाएर बनाउँदा थप बलियो बनाउन सकिन्छ । काठको गेट बनाउँदा खर्च भने धेरै नै माथि जान्छ । राम्रो गुणस्तरको गेट बनाउँदा कममा पनि १.५-२ लाख लगानी पर्न जान्छ। 
कहीँ कतै बाँसको प्रयोग प्रयोग गरेर पनि गेट बनाइएको देखिन्छ तर, यस्तो गेट बढि चाँही होटेल रेष्‍टुरेन्टहरुमा प्रयोग भएको पाइन्छ ।

घरको आकार

तपाईले पहिला आफ्नो घरको आकारप्रकार बारे बुझेर गेटको लागि योजना बनाउनुपर्छ । उदाहरणको लागि धकेल्ने गेट ठोस ठाउँको लागि उपयुक्त छ , किनभने धकेल्ने गेटको लागि अधिक ठाउँको आवश्यकता पर्छ ।

पहिले नै ठाउँ मापन गरी सुनिश्‍चित गर्नाले तपाईले सहि गेटको आकार पाउन सक्नुहुन्छ । कुनै बाधा बिना सजिलै गेट राख्‍न सक्नुहुन्छ ।

टिकाउ 

विभिन्‍न सामाग्रीले फरक–फरक स्थायित्वको स्तर प्रदान गर्दछ । फलाम व्यापक रुपमा लोकप्रिय, लामो समयसम्मका अत्याधिक टिकाउयुक्त हुन्छ , त्यसकारण फलामको गेट प्रायः सबैले राख्‍ने गरेको पाइन्छ तर, फलामको गेटमा छिटै खिया लाग्‍ने समस्या हुन्छ । आल्मुनियम गेटको डिजाइन यसकारण गरिएको हो यसमा खिया नलाग्‍ने र मौसम प्रतिरोधी भएकाले घाम र पानीले यो गेटमा कुनै असर पर्दैन ।

गेट राख्‍न सहजता

फलामको गेटहरु धेरै भारि हुन्छन् । यसलाई स्थापना गर्न कठिन हुन्छ । यदि तपाईं सहज र सजिलो तरिकाले गेट राख्‍न चाहनुहुन्छ भने आल्मुनियमको गेट राख्‍नु आकर्षक र उत्तम विकल्प हो ।

परिमार्जन

बजारमा विविध  डिजाइनका तयारी अवस्थाका गेटहरु उपलब्ध हुन्छ । तर, तपाईंको आवश्यकता र रुची अनुसारको गेटको आकार तपाईको घरमा ठ्याक्कै मिल्छ भन्‍ने कुरा निश्‍चित हँदैन । त्यसैले परिमार्जन गर्न मिल्ने गेट राखिनुपर्छ, ताकि आकार नमिल्दा त्यसलाई मिलाएर राख्‍न सकियोस् ।

मर्मत

फलामको गेटलाई मर्मत गर्न पर्दछ किनभने यसलाई प्रयोग गरेको केही समयपछि खिया लाग्‍ने समस्याले गेट लगाउन खोल्न समस्या आउँछ । त्यसकारण समय समयमा रंगहरु लगाउने ग्रिज हाल्ने गरिहनु पर्छ । आल्मुनियमको गेटलाई पनि न्युनतम मर्मतको आवश्यक पर्छ । यसको लागि पाउडर, रंग कोट लगाउने गर्नुपर्छ ।

मूल्य

मूल्य एक महत्वपूर्ण कारक तत्व हो । गेट राख्नुअघि गेटको बजार मूल्य विचार गर्नुपर्छ । गेट सम्बन्धित काम गर्ने व्यक्ति र बिक्रेतासँग परामर्श लिई राम्रो सम्झौताका साथ गेट राख्दा ठिक हुन्छ । तपाईं सर्वप्रथम गेटको अनुसन्धानको लागि समय निकाल्नुहोस् । बजारमा अहिले गेटको कस्तो गुणस्तर लागि प्रतिस्पर्धा भइरहेको त्यसबारे पनि केही बुझ्नु पर्छ । त्यसपछि मात्र गेट राख्‍ने कुरा फाइनलाइज गर्नुपर्छ । गेट राख्‍नु भनेको आफ्नो घरको सुरक्षा मात्र नभएर घरको सौन्दर्यलाई बढाउनु पनि हो ।