म डेराको बसाइ सर्दै गर्दा गोंगबु टाउन प्लानिङमा फ्लाट लिएर बस्थेँ । त्यस घरको बुवाआमा बृद्ध हुनुहुन्थ्यो । उहाँहरुको छोराछोरी सबै विदेशमा थिए । अनि त्यहाँ बस्दै गर्दा केही कारण म मेरा मित्र दीपक भट्टराईको घरमा सर्न लागेको थिएँ ।
- खगेन्द्र लामिछाने
मेरो घर स्याङ्जा हो । उतै हुर्किएँ, स्कुल पढेँ । कलेज पढ्ने र नाटकमा काम गर्ने सपना बुनेर ०५७ सालमा काठमाडौं आएको हुँ । मात्र, सपना पुरा गर्न जन्मथलो छाडेँ । समय यस्तो बनिदियो कि, मेरो बसाइँ विस्तारै काठमाडौंमा विस्तारै र स्याङ्जामा कम हुँदै गयो । कर्मले काठमाडौंमा बढी बस्न बाध्य बनायो ।
मेरो काठमाडौं बसाइ बबरमहलको डेराबाट सुरु भएको थियो । त्यहाँ हामीले साथीभाई मिलेर दुईवटा कोठा भाडामा लिएका थियौं । ४ जना बस्थ्यौं । दुई कोठाको भाडा मासिक २४ सय थियो । ४ जनालाई भाग लगाउँदा एउटाको भागमा ६ सय पर्न आउँथ्यो ।
अहिले बसाइ सर्दै सर्दै सामाखुशी आइपुगेको छु । मेरो बानी जहाँ बस्यो त्यसलाई नै आफ्नो घर सम्झिने हुनाले मेरो बसाइ गज्जबै छ । हामी कोठा भाडामा लिएर बस्नेहरुलाई सधैभरि एउटै ठाउँ अनुकुल हुँदैन । त्यही भएरै होला मैले पनि ९ ठाउँमा डेरा सर्दासर्दा अहिले बल्ल अलिकति स्थायी भएको छु ।
९ ठाउँमा डेरा सर्दा पनि सबै घरबेटीहरुसँग उत्तिकै राम्रो सम्बन्ध बन्यो । त्यस्तो नराम्रो अनुभूति कहिल्यै भएन । म जुन घरमा डेरा लिएर बसेँ, एउटा परिवारको सदस्य झैं भएर बसे । डेरा पनि कहिले साथीको लागि सरियो त कहिले आफ्ना लागि सरियो ।
म डेराको बसाइ सर्दै गर्दा गोंगबु टाउन प्लानिङमा फ्लाट लिएर बस्थेँ । त्यस घरको बुवाआमा बृद्ध हुनुहुन्थ्यो । उहाँहरुको छोराछोरी सबै विदेशमा थिए । अनि त्यहाँ बस्दै गर्दा केही कारण म मेरा मित्र दीपक भट्टराईको घरमा सर्न लागेको थिएँ । तर, म घर सर्न लागेको कुरा घरबेटी बुवा आमालाई सुनाउँदा उहाँहरुले भन्नुभएको थियो, ‘बरु हामी भाडा घटाइदिन्छौं, कोठा नसर बाबु ।’
सायद उहाँहरुले मलाई आफ्नो छोराजस्तै मान्नुभएको थियो । उहाँहरुको काठमाडौंमा घर भएपनि बुढेसकालका साहारा सबै छोराछोरी बिदेशमै थिए । केही भएर पनि केही नभएजस्तो । बुढेसकालमा आफ्नासँग बस्न नपाउनुको पिडा ।
म सर्नु नै पर्ने थियो, त्यसकारण दिपकजीकै घरमा सरेँ । म दिपकजीको घरमा लामो समय डेरा जमाएर बसेँ । रमाइलो कुरा त के थियो भने दिपक जीको घरमा बस्दा भाडा दुई वर्षमा दिन्थेँ । बडो रमाइलो पारिवारिक माहौल थियो ।
अहिले पनि मेरो काठमाडौंमा आफ्नो पनि छैन । र, डेरामा पनि बस्दिन । खासै मलाई काठमाडौंमा घर बनाउने सपना पनि छैन । किनभने, स्याङ्जाको गाउँमा मलाई आवश्यक पर्ने सुविधासहितका दुईवटा घर छन् । मलाई यस्तो उस्तो सुविधा सम्पन्न भन्दा पनि म घरभित्र पसेपछि मेरो मन पनि घरभित्र पसोस् भन्ने लाग्छ ।
मेरो विचारमा जहाँ मन बस्छ त्यही नै घर हो । हरेक मानिसले आफ्नो घरको परिभाषा आफैँले बनाएको हुन्छन् । घर पस्दा आत्मियता हुनुपर्छ, न्यानोपन हुनुपर्छ । भावना जागृत हुनुपर्छ । त्यो घरमा छिर्दा मन शान्त हुनुपर्छ ।
घरजग्गा जोड्ने चाहना जो–कोहीको पनि हुन्छ । सबै आममानिसको सपना कमसेकम टाउको ओत्ने ठाउँ भयो भने बिहान बेलुकीको छाक त जसरी पनि टारुला भन्ने हुन्छ । अहिलेको अवस्था हेर्ने हो भने मानिसहरु बढी शहरमा बस्न केन्द्रित भइरहेका छन् । जहाँको बसाई महँगो र घरजग्गा पनि अत्यन्तै महँगो छ ।
त्यसैले सरकारले सबै ठाउँहरुमा रोजगारीका अवसर र आधुनिक सेवा सुविधाहरु उपलब्ध गराई मान्छेको बसाइलाई विकेन्द्रीकरण गर्नुपर्छ । यसो गरियो भने श्रमजीवि नेपालीले आफ्नो सपनाको घर बनाउन सक्छन् । घरमा बढी लगानी गरेर खासै उपलब्धि छैन । घर जोड्न चाहानेहरुलाई कम भन्दा कम तर बस्न लायकको घर बनाउन सुझाव दिन्छु ।
Cover image: Highlights Nepal