कोरोना महामारीमा घर कर्जा : कहाँ–कहाँ छन् अवसर ?

यही कोरोना महामारीका बीच केही क्षेत्रमा भने नयाँ अवसर सिर्जना भएका छन् । बैंकबाट ऋण काढेर घरजग्गा जोड्ने योजना बनाउनुभएको छ भने तपाईंका लागि यो समय उपयुक्त हुने देखिन्छ ।

E2C01160A61F17A-Home.jpg

यतिबेला कोरोना महामारीको चपेटाले सम्पूर्ण विश्वलाई लपेटेको छ । नेपालले पनि पछिल्लो ६ महिनादेखि यो महामारीको संकट झेलिरहेको छ । कोरोना महामारीले विश्वभर आर्थिक संकट खडा गरेको विभिन्न रिपोर्टहरू आइरहेका छन् । हरेक संकटपछि त्यसबाट तंग्रिन विश्व समुदायले स्टिमुलस प्याकेजदेखि अनेकन उपाय लगाउँदै आइरहेको हामीले देखेका छौँ । 

हरेक संकटसँग कुनै न कुनै नयाँ अवसर जोडिएको हुन्छ भन्ने तथ्यलाई हामीले बिर्सनु हुँदैन ।

नेपालमा पनि लामो समयदेखि लकडाउन हुँदा अर्थतन्त्र थिलथिलो भएको छ । उद्योग, व्यापार व्यवसाय चौपट भएका छन् । कतिपय उद्यमी/व्यवसायी पलायन भइसकेका छन् ।

नेपाल राष्ट्र बैंकको सर्भेअनुसार लकडाउन खुकुलो भएपछि व्यापार/व्यवसाय पुरानै लयमा फर्किन कम्तीमा पनि ९ महिना लाग्नेछ । 

तर, यही कोरोना महामारीका बीच केही क्षेत्रमा भने नयाँ अवसर सिर्जना भएका छन् । बैंकबाट ऋण काढेर घरजग्गा जोड्ने योजना बनाउनुभएको छ भने तपाईंका लागि यो समय उपयुक्त हुने देखिन्छ । अहिले बैंकको ब्याजदर एकल अंकमा झरिसकेको छ ।  कोरोना महामारीअघि घर कर्जा ऋणको ब्याज १४ प्रतिशतसम्म तिर्नुपथ्र्यो, जुन अहिले घटेको छ । 

नेपालका बैंक तथा वित्तीय संस्थाहरूले घर खरिद गर्न, घर बनाउन, जग्गा किन्न, घर मर्मतसम्भार तथा विस्तारलगायत शीर्षकमा घर कर्जा उपलब्ध गराउँदै आएका छन् । यस्तो कर्जा ३५ वर्ष अवधिसम्मका लागि पाइन्छ । 

यदि तपाईंको नियमित आम्दानीको स्रोतमा कोरोना महामारीले असर गरेको छैन । आगामी केही महिना वा वर्ष यसमा कुनै असर पर्ने सम्भावना छैन भने पनि तपाईंका लागि अहिले कर्जा लिएर घरजग्गा जोड्नु लगानीको प्रतिफलका हिसाबले लाभदायक हुनेछ । 

आखिर कहाँ–कहाँ छन्, कोरोना महामारीका बेला घर कर्जामा अवसर ? कुन अवसरलाई समाउन सक्दा तपाईंले कस्तो फाइदा लिन सक्नुहुन्छ ? 

यसबारे तपाईंहरूका लागि केही महत्वपूर्ण जानकारी:

सस्तो ब्याजदर

सरकारले कोरोना संक्रमणबाट जोगिन लकडाउन गरेसँगै बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने ठाउँ पाएनन् । गत चैत ११ देखि सुरु भएको लकडाउनसँगै बैंकिङ प्रणालीमा तरलता थुप्रिँदै गएपछि बैंकहरू सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने प्रतिस्पर्धामा उत्रिन थालेका छन् ।

लकडाउन खुकुलो हुनेबित्तिकै बैंकहरूले धमाधम एकल अंकको ब्याजदरमा कर्जाका स्किम घोषणा गरेका थिए । बैंकबाट ऋण लिएर घरजग्गा किन्ने हो भने अहिले एकल अंकको ब्याजदरमै कर्जा पाइन्छ ।

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले ७.२५ प्रतिशत ब्याजदरमा घरकर्जा योजना ल्याएको छ । यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ७.५९ प्रतिशत, नबिल बैंकले ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा उपलब्ध गराउने घोषणा गरेका छन् ।

बैंकबाट ऋण काढेर घरजग्गा जोड्ने योजना बनाउनुभएको छ भने तपाईंका लागि यो समय उपयुक्त हुने देखिन्छ । अहिले बैंकको ब्याजदर एकल अंकमा झरिसकेको छ ।  कोरोना महामारीअघि घर कर्जा ऋणको ब्याज १४ प्रतिशतसम्म तिर्नुपथ्र्यो, जुन अहिले घटेको छ ।

अहिले ‘क’ वर्गका वाणिज्य बैंकहरूले १० प्रतिशतभन्दा कम ब्याजदरमै घरकर्जा उपलब्ध गराइरहेका छन् । कतिपय बैंकले यति समयसम्म ब्याजदर नबढाउने र त्यसपछि बेसरेटअनुसार ब्याजदर थपघट हुने बताएका छन् । बैंकहरूले स्किम ल्याउँदा ६ महिनादेखि दुई वर्षसम्म ब्याजदर नबढाउने प्रतिबद्धता जनाएका छन् । 

अझ पछिल्लो समय राष्ट्र बैंकले सुरुमा घर कर्जा लिँदा जुन ब्याज दिइएको हो, कर्जा भुक्तानी पूरा नहुँदासम्म ब्याज घटबढ गर्न नपाइने प्रावधान सार्वजनिक गरेपछि त घर बनाउन सहज भइहाल्यो । 

नेपाल राष्ट्र बैंकले गत हप्ता एकीकृत निर्देशिका, २०७७ जारी गर्दै बैंकहरूले प्रिमियममा छुट दिएर ल्याएका कर्जा योजना भने खारेज गरिदिएको छ । प्रिमियमा छुट दिएर कर्जाको स्किम एनआईसी एसिया बैंकले कार्यान्वयनमा ल्याइसकेको थियो । 

नयाँ ग्राहकका लागि सस्तो व्याजदरको घरजग्गा कर्जाको स्किम ल्याएका बैंकहरुले पुराना ग्राहकहरु पनि बैंकमा गएर बार्गेनिङ गरेको खण्डमा ऋणको ब्याजदर घटाउन सक्छन् । 

फिक्स ब्याजदर

व्यक्तिगत प्रयोजनका लागि घर तथा गाडी किन्न बैंकबाट लिएको कर्जाको ब्याजदर कहिल्यै परिवर्तन हुने छैन । कर्जा अवधिभर एउटै ब्याजदरमा निश्चित रकम किस्ता बुझाउन पाउने गरी राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गरेको छ ।

बैंकले बेलाबेला कर्जाको ब्याजदर अनियन्त्रित रूपमा बढाउँदा निश्चित आम्दानी हुने सर्वसाधारण मर्कामा परिरहेका थिए । अब बैंकबाट घर कर्जा लिँदा जति ब्याजदर तोकिएको हुन्छ, कर्जाको अन्तिम किस्ता बुझाउँदा पनि सोही ब्याजदर कायम हुनेछ । 

नेपालमा पहिलो पटक गाडी र घर कर्जामा फिक्स ब्याजदर कायम गरिएको हो । बैंकले सुरुमा सस्तो ब्याजदरमा ऋण दिएपछि लगत्तै बेसरेट बढाएर ब्याजदर पनि बढाउँदै आइरहेका थिए । 

राष्ट्र बैंकको नयाँ व्यवस्थाले बैंकको मनपरी ढंगले ब्याजदर बढाउने प्रवृत्तिको अन्त्य भएको छ । स्थिर कर्जाको ब्याजदर बैंकले ६÷६ महिनामा प्रकाशित गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

यो स्थिर ब्याजदरको सुविधा नयाँ/पुराना दुवै ग्राहकले पाउनेछन् । यदि कुनै ग्राहकले मलाई स्थिर ब्याजदर होइन, तरलताअनुसार थपघट हुने ब्याजदर चाहिन्छ भन्यो भने पनि उसलाई त्यो विकल्प दिनुपर्ने निर्देशिकामा उल्लेख छ ।

तत्कालीन समय स्थिर ब्याजदरको कर्जाभन्दा फ्लटिङ ब्याजदरको कर्जा लिँदा सस्तो पर्न आउँछ । तर, ब्याजदर परिवर्तन नहुने हुँदा दीर्घकालमा स्थिर ब्याजदरकै कर्जा लाभदायक हुने देखिन्छ । 

बैंकहरूले कर्जाको स्किम ल्याउँदा फ्लटिङ ब्याजदरको भन्दा फिक्स ब्याजदरको रेट अलि महँगो राखेका हुन्छन् । उनीहरूले रिस्क प्रिमियम जोडेर पिक्स ब्याजदर निर्धारण गर्छन् ।

सेवाशुल्क अधिकतम ०.७५ प्रतिशत मात्र  

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह गर्दा लिने सेवा शुल्कमा ‘क्याप’ लगाइदिएको छ ।

अब ‘क’ वर्गका वाणिज्य बैंकहरूले कर्जा प्रवाह गर्दा सेवाशुल्क ०.७५ प्रतिशतभन्दा बढी लिन पाउँदैनन् । यस्तै, विकास बैंकले १ प्रतिशत, वित्त कम्पनीले १.२५ प्रतिशत र लघुवित्त वित्तीय संस्थाहरूले १.५० प्रतिशतभन्दा बढी सेवाशुल्क लिन नपाउने व्यवस्था गरिएको छ ।

जबकि यसअघि वाणिज्य बैंकहरूले १ देखि २ प्रतिशतसम्म एवं वित्त कम्पनी र लघुवित्तले ४ प्रतिशतसम्म सेवाशुल्क असुल्दै आइरहेका थिए । मौद्रिक नीतिको व्यवस्थाले बैंकबाट कर्जा लिने नयाँ ऋणीहरूलाई केही राहत मिलेको छ ।

६० प्रतिशतसम्म कर्जा पाइने

मौद्रिक नीतिमार्फत पहिलो पटक घरजग्गा खरिद गर्ने ग्राहकलाई धितो मूल्यांकनको ६० प्रतिशतसम्म कर्जा दिने व्यवस्था गरिएको छ । जबकि यसअघि धितो मूल्यांकनको ७० प्रतिशतसम्म कर्जा दिने व्यवस्था थियो । तर, सेकेन्ड होम बायरको तुलनामा फस्र्ट होम बायरले धितो मूल्यांकनको १० प्रतिशत बढी कर्जा पाउँछन् ।

तर, मौद्रिक नीतिले सेकेन्ड होम बायरका लागि पनि सरकारबाट अनुमति लिएका व्यवस्थित आवास परयोजना र परियोजनाभित्रका घर तथा अपार्टमेन्ट खरिद गर्ने ग्राहकलाई ऋणको सीमा बढाइदिएको छ ।

यस्तै, निर्माणाधीन हाउजिङ तथा अपार्टमेन्टका लागि कर्जा सुरक्षण मूल्य अनुपात ६० प्रतिशत पुर्याइएको छ । यसअघि यस्तो मूल्य अनुपात ५० प्रतिशत थियो । यो व्यवस्थाले नयाँ हाउजिङ तथा अपार्टमेन्ट परियोजना ल्याउन उत्साह थपेको छ ।

यस्तै, व्यवस्थित आवास परियोजनाभित्रका घर किन्नेले पनि धितो मूल्यांकनको ६० प्रतिशतसम्म कर्जा पाउँछन् जबकि यसअघि ५० प्रतिशत मात्र कर्जा पाइन्थ्यो । व्यवस्थित आवास क्षेत्रभित्र घर किन्दा सेकेन्ड होम बायरले पनि ६० प्रतिशत कर्जा पाउने भयो, उसले परियोजनाबाहिरका घर किन्दा ५० प्रतिशत मात्र कर्जा पाउँछ ।

ऋण स्थानान्तरण गर्न पाइने

यदि तपाईंले एउटा बैंकबाट घर कर्जा लिनुभएको छ, तर त्यो बैंकमा ब्याजदर बढी भयो वा विविध कारणले अर्को बैंकमा ऋण सार्न पाउनुहुन्छ । महँगो ब्याजदर भएको बैंकबाट सस्तो ब्याजदर भएको बैंकमा ऋण स्थानान्तरण गर्न पाउने ग्राहकको अधिकार नै हो । 

तपाईंले सुरुको बैंकमा जे–जस्ता सर्तहरू राखेर घर कर्जा लिनुभएको छ, त्यही सर्तअनुसार अर्को बैंकमा ऋण स्वाप गर्न सकिने व्यवस्था छ । यसलाई बैंकिङ भाषामा ‘लोन स्वापिङ’ भनिन्छ । ऋण स्थानान्तरण गर्दा चर्को ब्याजबाट बच्न सकिन्छ । लोन स्वाप गर्न त्यति कठिन पनि हुँदैन, तर प्रक्रियाचाहिँ ‘फ्रेस लोन’ कै सरह गर्नुपर्छ । 

ऋण तिर्ने समयसीमा बढ्यो 

राष्ट्र बैंकले कोभिड महामारीमा बैंकलाई तिर्नुपर्ने ऋणको समयसीमा पनि बढाइदिएको छ । यो सुविधा कोरोना प्रभावित पुराना ऋणीले पाउँछन् । यसअघि राष्ट्र बैंकले चैत, वैशाख र जेठ महिनाको ब्याजदर पनि २ प्रतिशतले घटाउन निर्देशन दिएको छ । 

चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कोरोनाको जोखिम क्षेत्र हेरेर ६ महिनादेखि २ वर्षसम्मका लागि कर्जाको समयावधि बढाइदिएको हो ।

एक वर्षसम्मको मोनाटोरियम पिरियड

यदि तपाईंले घर निर्माणका लागि बैंकबाट कर्जा लिनुभएको छ भने तपाईंले मोनाटोरियम (ग्रेस पिरियड) सुविधा पाउनुहुनेछ । बैंकले उपलब्ध गराएको यो सुविधाअन्तर्गत तपाईंले घर निर्माण गर्दासम्म ईएमआई तिर्नु पर्दैन । घर निर्माण गर्दासम्म मासिक ब्याज बुझाउँदा हुन्छ । तपाईंले घर निर्माण सम्पन्न गरेपछि मात्र ईएमआई सुरु हुन्छ ।

ऋण लिएर घर बनाउँदा ऋणीमाथि अतिरिक्त दबाब थपिने हुँदा बैंकहरूले मोनाटोरियम सुविधा दिएका हुन् । यो अवधिमा ऋणीको कमाइ पनि निर्माणमै खर्च हुन्छ । निर्माण अवधिमा किस्ता तिर्न नपर्ने हुनाले यो समय बैंकबाट ऋण लिएर घर निर्माण गर्नका लागि उपयुक्त मौका हो । 

सस्तियो निर्माण सामग्री

कोरोनाले आर्थिक गतिविधि सुस्ताउँदा निर्माण उद्योगमा पनि प्रभाव परेको छ । अहिले सिमेन्ट, बालुवा, गिट्टी, डन्डीलगायत निर्माण सामग्रीको मूल्य घटेको निर्माण व्यवसायी बताउँछन् । निर्माण कम हुँदा माग घटेपछि निर्माण सामग्रीको मूल्यमा गिरावट आएको हो । 

निर्माण व्यवसायीका अनुसार अहिले घर बनाउँदा लागत २० प्रतिशसम्म कम पर्न आउँछ । 
 

विदेशीलाई अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गर्न नेपाली कांग्रेसलाई चेम्बरको सुझाव

नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातका समयमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने

यस्ता छन् व्यवस्थित शहर तथा वस्ती विकासमा ‘खनाल आयोग’ले औंल्याएका १९ समस्या र चुनौतीहरु

वैशाख कृष्ण औंसी: आज आमाको मुख हेर्ने पर्व मनाइँदै

ग्लोबल वार्मिङले मुस्ताङमा सुक्न थाल्यो खानेपानीका मुहान

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

FB68CCC54E723D0-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

आठ महिनामा ८% थपियो रियल इस्टेट कर्जा, व्यक्तिगत घरकर्जा प्रवाह सुस्त

9941C4AC1CD8AFB-Nepalgunj.jpg

चहलपहल घट्दै गएपछि नेपालगञ्‍जमा तीन वर्षमा डेढ सय होटल बन्द

192FB0C74DE5229-46FC5FB8F490228-Grande Towers.jpg

फ्ल्याटसँगै जग्गा हस्तान्तरण नहुँदा ७२ अपार्टमेन्टका १२ हजार घरधनी जग्गाको स्वामित्व बिहीन