काठमाडौं । सरकारले लकडाउन खोलेपछि बैंक तथा वित्तीय संस्थाहरुले धमाधम कम ब्याजदरका स्किमहरु सार्वजनिक गरिरहेका छन् । ग्राहकलाई आफुतर्फ आकर्षित गर्न बैंकहरुबीच कमभन्दा कम ब्याजदरमा ऋण उपलब्ध गराउने कडा प्रतिस्पर्धा चलिरहेको छ ।
काठमाडौं । सरकारले लकडाउन खोलेपछि बैंक तथा वित्तीय संस्थाहरुले धमाधम कम ब्याजदरका स्किमहरु सार्वजनिक गरिरहेका छन् । ग्राहकलाई आफुतर्फ आकर्षित गर्न बैंकहरुबीच कमभन्दा कम ब्याजदरमा ऋण उपलब्ध गराउने कडा प्रतिस्पर्धा चलिरहेको छ ।
अहिले बैंकहरुले सार्वजनिक गरेको स्किममा एकल अंकमै ऋण लिन सकिन्छ । बैंकले सस्तो र सुलभ तरिकाले ऋण दिन बेसरेट पनि १० प्रतिशतभन्दा तल झारेका छन् । बैंकको नयाँ स्किम नयाँ ग्राहकका लागि हो । पुराना ऋणीहरुका लागि बैंकहरुले पुरानै बेसरेटमा साँवा र ब्याजको किस्ता असुलिरहेका छन् ।
कोभीडबाट थलिएका व्यवसायीहरुले पनि कर्जाको ब्याजदर एकल अंकमा झार्नुपर्ने माग गर्दै आइरहेका थिए । तर, बैंकले १० प्रतिशतभन्दा कम ब्याजदरमा ऋण उपलब्ध गराउने नयाँ स्किम पुराना ऋणीहरुका लागि ‘कागलाई बेल पाक्यो, हर्स न बिस्मात’ भयो ।
नयाँ स्किमले कोरोनाले थलिएका पुराना ऋणीहरु लाभान्वित हुन सकेनन् । नयाँ ग्राहकलाई सस्तो ब्याजदरको ऋण उपलब्ध गराएर पुराना ग्राहकलाई पुरानै बेसरेटमा बढी ब्याजदर कायम गरेको गुनासो छ ।
अहिले बैंकहरुले पुराना ऋणीहरुका लागि राष्ट्र बैंकले तोकेको सुविधा उपलब्ध गराएका छन् । तर, नयाँ कर्जा योजनामा सहभागी बनाएका छैनन् । बैंकमा गएर कराएपछि बल्लतल्ल एक प्रतिशतसम्म ब्याज छुट गराउन सकेको ऋणीहरु बताउँछन् । एक/दुई प्रतिशत ब्याजदर छुट दिँदा पनि पुरानो ऋणको ब्याज एकल बिन्दूमा झर्दैन ।
‘बैंकहरुले पुराना ऋणीको ब्याजदर पनि धेरथोर घटाउँछन्, तर नयाँ ऋणीकै सरह सुविधा पाउने सम्भवना देखिदैन’ बैंकको ऋण विभागका कार्यरत कर्मचारीहरु भन्छन्, ‘नयाँ सुविधा उपभोग गर्नका लागि नयाँ ऋणी हुनुपर्छ ।’
नयाँ ऋणीका लागि ब्याजदरमा घटेको छैन्, सेवा शुल्क पनि कम तिर्दा हुन्छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकको सेवा शुल्कमा ‘क्याप’ लगाइदिएको छ । अब ‘क’ बर्गका बाणिज्य बैंकहरुले बढीमा ०.७५ प्रतिशतसम्म र विकास बैंकले १ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन पाउने छैनन् ।
बैंकहरुले नयाँ ऋणीहरुका लागि आवेदन दिएको दुई दिनभित्र नै ऋण उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । यसअघि ऋण लिँदा एक हप्तासम्म कुर्नुपर्ने बाध्यता थियो । ऋणीलाई सहज होस भनेर बैंकले चुस्त सेवा दिन कस्सिएका हुन् ।
अहिले पुराना ऋणीहरु बैकमा गएर ब्याजदर घटाउन बार्गेनिङ गरिरहेका छन् । यसरी ऋणीहरु बैंकमै गएर बार्गेनिङ गर्दा एक प्रतिशतसम्म ब्याजदर घटाउन सफल पनि भएका छन् ।
बैंक तथा वित्तीय संस्थाहरुले हरके तीन÷तीन महिनामा बेसरेट परिवर्तन गर्छन । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणकर भट्टका अनुसार ऋणीले बैंकसँग परिवर्तित ब्याजदरको सम्झौता गरेको भए बैंकले बेसरेट परिवर्तन गर्दा ब्याजदर पनि परिवर्तन गर्नुपथ्र्यो ।
नयाँ आर्थिक वर्षपछि सबै बैंकले एकल बिन्दूमा नयाँ बेसरेट कामय गरेका छन् । बैंकले बेसरेटमा रिस्क प्रिमियम जोडेर कर्जा प्रवाह गर्छन् । अहिले बैंकबाट ऋण लिएर घरजग्गा खरिद गर्दा ७.५९ प्रतिशतसम्ममा ऋण लिन पाइन्छ । स्टान्डर्ड चार्टर्ड बैंकले ७.५९ प्रतिशत ब्याजदरमै घरकर्जा उपलब्ध गराउने नयाँ स्किम ल्याएको छ त्यो पनि ०.७५ प्रतिशत सेवा शुल्कमा ।
यदि कुनै बैंकले बेसरेट घटाएर पुरानो ऋणीसँग महंगो ब्याजदर असुली गरेको भेटिएमा राष्ट्र बैंकले कारवाडी गर्न सक्ने भट्टले बताए । यसका लागि ग्राहकहरुले राष्ट्र बैंकको गुनासो सुनुवाई ईकाइमा जानकारी गराउनु पर्छ । बैंकहरुले तोकेको स्प्रेडदर र घटेको बेसरेटमा सम्झौतअ अनुसार ब्यादजदर संसोधन नगरे राष्ट्र बैंकको निर्देशन उल्लंघन गरेको आधारमा कारबाही हुनेछ ।
करीव चार महिना लामो लकडाउन भएपछि बैंकमा लगानीयोग्य पुँजी थुप्रिएको छ । बैंकहरुले अधिक तरलता भएकै कारण एकल अंकमा झरेर कर्जा उपलब्ध गराउन कस्सिएका हुन् ।
अहिले बैंकिङ प्रणालीमा २ खर्ब ५ अर्ब रुपैयाँ अधिक तरलता छ । अधिकत तरलता थुपारेर बसेका बैंकहरुलाई नयाँ लगानीका लागि दबाब भइरहेको छ । घरजग्गा र गाडीमा ऋण लगानी गर्दा कम जोखिम हुने भएकोले बैंकहरु कम ब्याजदरमा घरजग्गा कर्जा दिन प्रतिस्पर्धामा छन् ।
हिमालयन बैंकले ८.४९ प्रतिशत ब्याजदरमा घरकर्जा उपलब्ध गराउने स्किम ल्याएको छ । एसएमई कर्जा, सवारी साधन कर्जा, शैक्षिक कर्जा र साना तथा मझौला व्यवसायिक कम्पलेक्सन निर्माण कर्जा पनि यही ब्याजदरमा उपलब्ध गराउने बैंकले जनाएको छ ।
सानिमा बैंकले ८.९९ प्रतिशत ब्याजदरमै घरकर्जा दिने स्किम सार्वजनिक गरेको छ । यो कर्जा लिँदा ६ महिनासम्म ब्याजदर बढ्ने छैन ।
नबिल बैंकले ७.९९ प्रतिशत ब्याजदरमै घरकर्जा उपलब्ध गराउने भएको छ ।
पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले सबै खालका कर्जाको ब्याजदर १० प्रतिशतभन्दा तल झारेको छ । यही बुधबारदेखि लागू हुने गरि बैंकले नयाँ तथा पुराना ग्राहकका लागि कर्जाको ब्याजदर अधिकतम ९.३२ प्रतिशतमात्रै हुने गरी तोकेको छ ।
अब राष्ट्रिय बाणिज्य बैंकबाट हाउजिङ तथा रियलस्टेट कर्जा लिँदा ९.३२ प्रतिशतभन्दा कम पर्न आउने छ । यो बैंकको बेसरेट पनि ६.०७ प्रतिशत रहेको छ जुन ‘क’ बर्गका बैंकहरुमध्ये सबैभन्दा कम हो ।
ग्लोबल आईएमई बैंकले पनि ८.७५ प्रतिशत ब्याजदरमै घरकर्जाको स्किम सार्वजनिक गरेको छ । बैंकका अनुसार यो कर्जाको ब्याजदर एक वर्षसम्म स्थिर रहने छ । ग्राहकले घर निर्माण गर्न वा घरजग्गा खरिद गर्नका लागि २५ वर्ष अवधिको घरकर्जा पाउने बैंकले जनाएको छ ।
सनराइज बैंकले ८.९५ प्रतिशत ब्याजदरमा घरकर्जा योजना ल्याएको छ । यो योजनाअन्र्तगत कर्जा लिँदा ४० वर्षसम्म ऋण तिर्न सकिन्छ ।
एभरेष्ट बैंकले चाडपर्व विशेष कर्जा योजना योजना ल्याएको छ । तीन महिनाका लागि ल्याइएको यो योजनामा ८.२५ प्रतिशत ब्याजदरमै घरकर्जा पाइन्छ । चाडपर्व विशेष योजनामा सेवा शुल्क ०.५० प्रतिशतमात्र तोकिएको छ । यो योजना साउन १५ गतेदेखि सुरु भई कार्तिक १४ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।
स्टान्डर्ड चार्टर्ड बैंकले ऋण लिएर घरजग्गा खरिद गर्न चाहने ग्राहकका लागि ७.५९ प्रतिशत ब्याजदरमा घरकर्जा उपलब्ध गराउने भएको छ । यो बैंकले ०.७५ प्रतिशत सेवा लिने बताएको छ । एक वर्षसम्म कर्जाको ब्याजदर स्थिर रहने छ भने त्यसपछि बेसरेटमा २.२ प्रतिशत प्रिमियम जोडिने छ ।
हिमालयन बैंकले घरकर्जा लिने ग्राहकलाई ८.४९ प्रतिशत ब्याजदर लिने भएको छ ।
अरु बैंकहरुले पनि नयाँ ब्याजदर सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । आउने हप्ता नयाँ ब्याजदरको स्किम सार्वजनिक गर्ने प्रभु बैंकले जनाएको छ ।