गैरआवासिय नेपाली शेष घले र अमृत रत्न शाक्य र सुवर्णकृष्ण श्रेष्ठले ‘स्वनिगः’ सहरमा बनाउँदैछन् नयाँ लक्जरी डेस्टिनेसन
काठमाडौं । स्वनिगः नेवारी शब्द हो, जसको अर्थ काठमाडौं (येँ), ललितपुर (यलाः) र भक्तपुर (ख्वपः) समेटिएको काठमाडौं उपत्यका हो । यही परिभाषालाई समेट्ने गरी भक्तपुरको गुण्डुस्थित घ्याम्पे डाँडामा हाई एन्ड लक्जरी रिसोर्ट ‘स्वनिगः’ निर्माण सुरु भएको छ ।
नयाँ वर्षको दिन पारेर गैरआवासीय नेपाली शेष घले, अमृतरत्न शाक्य र सुवर्णकृष्ण श्रेष्ठले रिसोर्टको भूमि पुजा गरे । चार अर्ब ७५ करोड रुपैयाँभन्दा बढी लगानी रहने अनुमान गरिएको टाइम–सेयर मोडलका ६० वटा भिल्लासहित रिसोर्ट सन् २०२७ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
इम्प्लिमेन्टिङ एक्सपर्टस् ग्रुप (आईईजी) र एस एन्ड जेजी होल्डिङ्स (अस्ट्रेलिया)ले साझेदारीमा रिसोर्ट निर्माण थालनी गरेका हुन् । आइईजीको प्रतिनिधित्व अमृतरत्न शाक्य र सुबर्णकृष्ण श्रेष्ठले गरिरहेका छन् भने एस एन्ड जेजी होल्डिङ्समा गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष समेत रहेका शेष घले र जमुना घलेको स्वामित्व छ ।
स्वनिगः रिसोर्ट प्रालिले भक्तपुरको गुण्डुस्थित आफ्नो जमिनलाई अत्याधुनिक पाँचतारे सम्पत्तिमा विकास गर्न लागेको जनाएको छ ।
यो महत्वाकांक्षी परियोजनामा एउटा अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे रिसोर्ट, टाइम–सेयर मोडेलका भिल्ला तथा विभिन्न मनोरञ्जन केन्द्रहरू समावेश हुनेछन् । उक्त प्रोपर्टी नयाँ नेपाली ब्रान्ड ‘स्वनिगः’ अन्तर्गत सञ्चालन हुने बताइएको छ ।
स्वनिगः उक्त परियोजनाको लागि उपयुक्त नाम हो, जसले यी सहरहरूमा सहअस्तित्वमा रहेको स्थापत्य (पर्फर्मिङ आर्ट) कला, परम्परागत हस्तकला, खाद्य संस्कृति र इतिहास जस्ता अमूर्त सांस्कृतिक सम्पदासहित परम्परागत संरचनालाई पुनर्निर्माण गर्ने लक्ष्य राखेको छ ।
घनाजंगलले घेरिएको थुम्कोमा रिसोर्ट
यो प्रोपर्टी निर्माणस्थल सुन्दर हिमशृंखला देखिने घना जंगलले घेरिएको पहाडी थुम्कोमा रहेको छ, जुन ‘सुतिरहेका बुद्ध शाक्यमुनि’को अगाडिपट्टि रहे जस्तो देखिन्छ । यहाँबाट उपत्यकाका प्राचीन तीन सहर येँ, यलः र ख्वपःको सुन्दर दृश्य देखिन्छ ।
नेपाली संस्कृति, सम्पदा र संगीतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पारखी र प्रकृतिप्रेमीका लागि स्वनिगः परियोजना उत्कृष्ट गन्तव्य हुनेछ ।
यो परियोजनालाई माइस (मिटिङ, इन्सेन्टिभ, कन्फेरेन्स, एक्जिबिसन), इभेन्ट, अन्तर्राष्ट्रिय सेमिनार, डेस्टिनेसन वेडिङ हब (वैवाहिक कार्यक्रमको गन्तव्य), लाइभ संगीत प्रदर्शनस्थल, एम्फिथिएटर (कला, संस्कृति र संगीतको जीवन्त प्रदर्शन), योग, ध्यान, आध्यात्मिक साधना र रक क्लाइम्बिङ, हाइकिङ, साइक्लिङ जस्ता खेलकुद गतिविधिहरूमा विशेष जोड दिँदै खानपान र स्वास्थ्य तथा मनोरञ्जनका लागि उत्कृष्ट गन्तव्यका रुपमा विकास गर्ने सञ्चालकहरुको लक्ष्य छ ।
यो गन्तव्यले स्थानीय समुदायको उत्थान गर्दै नेपाली र स्थानीय सम्पदाको प्रवद्र्धन गर्ने लक्ष्य राख्ने बताइएको छ । यो परियोजनालाई नेपाली तथा विदेशी पाहुनाका निम्ति बिलासी पर्यटकीय गन्तव्य र गुणस्तरीय तथा स्वस्थ जीवनशैलीमा जोड दिने परिपूर्ण वेलनेस सेन्टरका रुपमा विकास गरिनेछ ।
यसले विश्राम, आध्यात्मिकता, कला/संस्कृति, खेलकुद र लाइफस्टाइल अतिथि सत्कारको अद्वितीय समिश्रण प्रस्तुत गर्ने छ ।
हस्पिटालिटीमा अनुभवी साझेदारहरू
होटलका साझेदार कम्पनी आइईजीले ५० वर्षदेखि मन्दिर, सत्तलजस्ता विशाल संरचनाहरू निर्माण गर्दै अन्तर्राष्ट्रिय प्रदर्शनीहरूमा प्रशंसा र पुरस्कार जितेका छन् । यस्तै, समिट होटल, एयरपोर्ट होटल र निर्माणाधीन ओएसिस होटलमा लगानी गरेर अतिथि सत्कार परियोजनाहरूमा पनि संलग्न छ ।
अर्को साझेदार अस्ट्रेलियाको एस एन्ड जेजी इन्भेस्टमेन्ट्स प्रालि प्रत्यक्ष विदेशी लगानी (एफडीआई) कम्पनी हो । यसमा विश्वव्यापी रूपमा शिक्षा, अतिथि सत्कार तथा रियल स्टेट क्षेत्रमा सक्रिय अगुवा शेष घले र जमुना घले गुरुङको स्वामित्व छ ।
एस एन्ड जेजीले आफ्नो सहायक कम्पनी एमआईटी ग्रुप होल्डिङ्समार्फत यसअघि नै काठमाडौंको मुटु कान्तिपथमा एउटा पाँचतारे होटल निर्माण गरिरहेको छ ।
उक्त बिलासी पाँचतारे होटल यसै वर्षको अन्त्यतिर सञ्चालनमा आउने लक्ष्य छ, जुन अतिथि सत्कार क्षेत्रमा सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) रहेको परियोजना हो ।
एस एन्ड जेजीले काठमाडौंबाहिर पनि अन्य पर्यटनसम्बद्ध व्यावसायिक अवसरहरु अध्ययन तथा अन्वेषण गरिरहेको छ । र, ऊर्जा क्षेत्रमा पनि हात हाल्ने यसको लक्ष्य छ ।