विराटनगरमा सेञ्चुरीयन होटेल, झापामा किङ्सवेरी, दरबारमार्गमा अन्नपूर्ण, विराटनगरमा ४८ रोपनीको प्लट, काभ्रेमा डिएमआर रिसोर्ट, नक्सालमा कर्पोरेट भवन किनबेच भएका छन्
काठमाडौं । रियल इस्टेटमा छाएको मन्दीकै बिच पनि महंगो मूल्यका ठूला प्रोपर्टी किनबेच भइरहेका छन् ।
काठमाडौं उपत्यकादेखि मोफसलसम्म होटेल, मल, कर्पोरेट भवनदेखि जग्गाका ठूला प्लटहरु किनबेच भइरहेको देखिन्छ ।
पछिल्लो समयमा विराटनगरमा निर्माणाधिन सेञ्चुरीयन होटेल, झापामा किङ्सवेरी, दरबारमार्गमा अन्नपूर्ण, विराटनगरमा ४८ रोपनीको प्लट, काभ्रेमा डिएमआर रिसोर्ट, नक्सालमा कर्पोरेट भवन किनबेच तथा भाडामा लेनदेनको काम भएको छ ।
हालै भाटभटेनी समूह र सेञ्चुरियन समूहबीच ठूलो प्रोपर्टी किनबेच सम्झौता भएको छ । व्यवसायी मोती दुगडले विराटनगरमा निर्माण गरिरहेको मल र गेमिङ जोनसहितको पाँचतारे होटेल मीन बहादुर गुरुङले खरिद गरेका छन् ।
निर्माणाधिन होटेलको ८० प्रतिशत हिस्सा भाटभटेनी समुहलाई डेढ करोडमा बिक्री गरेको सेञ्चुरी ग्रुपका अध्यक्ष दुगडले बताए । ‘होटेल निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउन नसकिएपछि बिक्री गर्ने निर्णयमा पुगेको हुँ’ उनले भने, ‘नयाँ लगानीकर्ता आएपछि होटेल निर्माणले गति लिनेछ ।’
यतिबेला नगद हुने व्यवसायीहरुमा भाटभटेनी समूहका अध्यक्ष गुरुङ अग्रस्थानमा पर्छन् । होटेलमा तीनवटा छुट्टाछुट्टै भवनहरु छन् । एउटा भवनमा होटेल, अर्कोमा क्यासिनो र अर्कोमा सपिङ मल हुने बताइएको छ । ठूलो ब्यांक्वेट हल र इन्टरटेनमेन्ट पार्क पनि निर्माण हुनेछ ।
होटलसहितको परियोजना सञ्चालनमा ल्याउन अझै सवा अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । डेढ विगाहा क्षेत्रफलमा फैलिएको होटेल डेढ वर्षभित्रै सञ्चालनमा ल्याउने गुरुङको योजना छ ।
नेपालमा आधुनिक सपिङ कल्चरका ट्रेन्ड सेटर गुरुङ हस्पिटालिटी उद्योगमा आक्रमक ढंगले अगाडि बढ्न थालेको छ । यसअघि उनले लिटिल एञ्जल्स स्कुलका संस्थापक एवं कांग्रेका कोषाध्यक्ष उमेश श्रेष्ठसँग मिलेर दरबारमार्गमा अन्नपूर्ण स्क्वायर निर्माण सुरु गरिसकेका छन् ।
कपिल राणा र सिर्जना राणसँग पाँचतारे अन्नपूर्ण होटेलको जग्गा ३५ वर्षलाई भाडामा लिएर ६ अर्ब खर्च गरी २५ तलाको अन्नपूर्ण स्क्वायर निर्माण थालिएको हो । भाटभटेनी, लिटिल एञ्जल्स र अन्नपूर्ण समूहको संयुक्त लगानी रहने नेपालको सुन्दरताको प्रतिकका रुपमा स्क्वायर निर्माण गर्न लागेका हुन् ।
त्यहाँ होटेल र अर्केड छुट्टा छुट्टै हुनेछ । नौ लाख स्क्वायरफिट क्षेत्रफलको होटेलमा तीन सय कोठा, ४० अपार्टमेन्ट र भाटभटेनी स्टोर पनि रहनेछ । २५ सय, २ हजार र १५ सय अटाउने तीनवटा अलग अलगत ब्यांक्वेट हल हुने बताइएको छ ।
देशकै अग्लो भवनमा रहने यो होटेल १ वैशाख २०८५ देखि सञ्चालनमा ल्याउने तयारी छ, जसको व्यवस्थापनमा भारतको आइटीसी समूहको वेलकम ब्रान्ड आउने सहमति भइसकेको छ ।
झापामा रहेको पाँचतारे किङ्सवेरी होटेल पनि किनबेच भएको छ । प्रकाश गौतमको स्वामित्वमा रहेको होटेल रवि धिताले करिव दुई अर्ब रुपैयाँमा किनेका हुन् । धिताल क्यासिनो व्यवसायी हुन् ।
झापाको किङ्सवेरी बिक्री गरेका प्रकाश गौतमले विराटनगरमा अर्को होटेल निर्माणको तयारीमा छन् । उनैले केही महिनाअघि विराटनगरको रत्ना होटेलसँग जोडिएको प्रिमियम मूल्यको प्लटिङ एकमुष्ठ किनेका थिए ।
दीपक मलहोत्राको टिमले ४८ कट्ठा जग्गामा तयार पारेको प्लटिङ गोतामेले एक अर्ब २५करोडभन्दा बढी मूल्यमा एकमुष्ठ खरिद गरेका हुन् । व्यवसायी मलहोत्राले बैंकको ऋण तिर्नका लागि जग्गा बिक्री गरे । झापाका व्यवसायी गौतमले यही मौकामा एकमुष्ठ जग्गा खरिद गरे ।
करिव पाँच वर्षअघि अहिलेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासँग ४८ कट्ठा जमिन खरिद गरेर मलहोत्रासहित ध्रुब घिमिरे, सुरेन्द्र बहादुर सिंहलगायतको लगानी रहेको ट्यालेन्ट रिक्युटमेन्ट एन्ड हाउजिङ प्रालिले स्मार्ट प्लानिङ गरेको थियो ।
विराटनगरको केन्द्रमा व्यवस्थित बस्ती विकास गर्नका लागि भन्दै जग्गा खरिद गरेर प्लानिङ गरेका थिए । तर, नगद प्रवाह र बैंकको ब्याजदरले समस्या आएपछि जग्गा बिक्री गर्ने निष्कर्षमा मलहोत्रा पुगेका हुन् ।
त्यहाँ ६९ घडेरी तयार पारिएको थियो । घडेरीको मूल्य प्रतिधुर २० लाखदेखि ३० लाख रुपैयाँसम्म तोकिएको थियो । प्लटिङमा ८ धुरदेखि एक कट्ठासम्मका घडेरी उपलब्ध थिए ।
चिनियाँ इभी ब्रान्ड बीवाइडीको नेपाली बिक्रेता साइमेक्स इंकले नक्साल नारायणचौरमा रहेको भवन खरिद गरेको छ । कर्पोरेट अफिस बनाउने उद्देश्यसहित साइमेक्सले ४४ करोडमा भवन खरिद गरेको बताइएको छ ।
सहकारीले लिलामीमा राखेको जग्गा र भवन साइमेक्सले लिलाम बढाबढमा खरिद गरेको हो । त्यहाँ २४ आना जग्गासहित पाँचतले भवन छ । साढे ४१ करोडमा खरिद गरेको भवनको पास खर्चलगायतका प्रकृया पुरा गर्दा ४४ करोड पुगेको हो ।
सो भवन कर्पोरेट अफिसले भाडामा लिइरहेका थिए । अब स्तरोन्नती गरेर बीवाइडीको केन्द्रीय कार्यालय तयार हुँदैछ ।
साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठको समूहले फागुन ०८० तिर गैरआवासीय नेपाली भुवन भट्टको काभ्रे पाँचखालस्थित धुलिखेल माउन्टेन रिसोर्ट (डीएमआर) खरिद गरेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष भट्ट स्वामित्वको बीबी होल्डिङ्स कम्पनीमार्फत रिसोर्ट सञ्चालन हुँदै आएको थियो । यो रिसोर्ट करिव ७० करोडमा किनबेच भएको बताइएको छ ।
यो रिसोर्ट सन् १९८१ मा स्थापना भएको थियो । बीबी होल्डिङसले सन् २०१३ मा खरिद गरेपनि राम्रोसँग सञ्चालन गर्न सकेको थिएन । २२० रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा ४२ वटा भिल्ला रहेका छन् ।