खुर्कोट, मुलकोट, नेपालथाेकसहित मेलम्ची बजार, सोलुखुम्बुको थामे, काभ्रेको बेथानचोक, मुस्ताङको कागबेनी, बाह्रबिसेलगायत धेरै इमर्जिङ शहरहरू बाढीपहिरोले बगर बनिसकेका छन्
काठमाडौं । पूर्वलाई काठमाडौं जोड्ने सबैभन्दा छोटो बीपी राजमार्ग बनेपछि सिन्धुलीको खुर्कोट शहर बन्दै थियो । बीपी राजमार्ग र मध्यपहाडी लोकमार्गको संगमस्थल भएका कारण पनि खुर्कोट गुल्जार बन्यो ।
अर्कोतिर सुनकोसी नदीमा खुर्कोट–रामेछाप जोड्ने पुल बन्यो । खुर्कोट, रामेछाप हुँदै दोलखासम्म जानेले त्यहीँबाट यात्रा गर्न थाले । रामेछापको मन्थली एयरपोर्ट हुँदै लुक्ला पर्यटक पनि खुर्कोट हुँदै हिँड्न थाले ।
सहरोन्मुख खुर्कोट मध्यपहाडी लोकमार्गमा विकास गर्ने भनिएका १२ नयाँ शहर परियोजनामा पर्यो । सरकारले पहाडी भेगबाट बसाइसाइ नियन्त्रण गर्न आधुनिक सुविधासम्पन्न नयाँ शहर बनाउने घोषणा गरेको थियो । जसअन्तर्गत खुर्कोटमा व्यवस्थित विकास र शहरीकरणका लागि सडक, स्वास्थ्य संस्था, शिक्षालय, खुला पार्कलगायन आधुनिक सुविधायूक्त संरचना निर्माण भइरहेका थिए ।
खुर्कोट व्यापारीक र पर्यटनको पनि हब बन्यो । सुनकोशीका माछा खान भन्दै काठमाडौंबाट मान्छे खुर्कोट पुग्थे । विपी राजमार्ग भएर काठमाडौं–तराई यात्रा गर्नेहरु मात्र होइन, रामेछाप, दोलखा, ओखलढुंगा खोटाङ, सोलुखुम्बु लगायत ठाउँमा जाने यात्रुहरुको खाना र खाजा खाने ठाउँ खुर्कोट बन्यो । रियल इस्टेटको पनि हब बन्दै थियो ।
बजारबाट शहरमा परिणत भइरहेको खुर्कोटको त्यो वैभव सुनकोशीको बाढीले क्षणभरमै क्षतविक्षत बनायो । यही ११ र १२ असोजमा परेको अविरल वर्षाका कारण सुनकोशीको बाढी पसेर गुल्जार खुर्कोट बगरमा परिणत भएको छ । त्यहाँ अहिले सन्नाटा छाएको छ ।
विपी राजमार्गमै पर्ने सिन्धुलीकै नेपालथोक र मुलकोट पनि गुल्जार थिए । नागबेली बाटोको ऐना डाँडाबाट हेर्दा हरियाली फाँट, सुनकोशी नदि, झुरुप्प परेको वस्ती, स्वीमिङ पुलसहितका रिसोर्टलगायतले मुलकोट अत्यन्तै मनमोहक देखिन्थ्यो । वीपी राजमार्गमा यात्रा गर्नेहरुले खाना खाजा खाने मात्र होइन, वान नाइट स्टेका लागि मुलकोट चर्चित बन्दै थियो । करोडौं लगानीका क्वालिटी बिच रिसोर्ट, पौवा होटेल, ताज रिसोर्ट, रिभर भ्युलगायत होटेलले मुलकोट र नेपालथोकलाई पर्यटकीय हबमै परिणत गरेका थिए ।
विद्यूतीय गाडीमा हुँइकिनेले गाडी रोकेर त्यहीँ खान खान्थे । तर, अब पहिलाको मुलकोट छैन, सुनकोशी बाढीको मुलकोट बगर बनेको छ । ऐना डाँबाट हेर्दा हरभरा देखिने मुलकोट अहिले बगरजस्तै देखिन्छ । त्यहाँको वस्ती, होटेल, रिसोर्ट, बजार, स्कुल, पुल बाढीले बगाएको छ ।
मुलकोट क्षेत्रमा मात्रै सुनकोशीको बाढी पसेर ६० भन्दा बढी घरहरु डुबेको बताइन्छ । एउटैमा ५० करोडसम्म लगानी गरेर सञ्चालन गरिएका रिसोर्ट बगरको बिचमा देखिन्छन् । पर्यटकीय शहरोन्मुख मुलकोटको स्थिती कहालीलाग्दो छ ।
१२ असोजमा रोशी र कोशी नदीको मिलन यसरी भयो कि क्षणभरमै नेपालथोक बजार बगरमा परिणत भयो । नेपालथोकमा बाढीले साना किराना पसलदेखि होटेल, रिसोर्ट, पेट्रोल पम्प, चार्जिङ स्टेसनमा ठूलो क्षति पुरायो । त्यहाँ सञ्चालित रिभर भ्यू रिसोर्ट बालुवाले पुरिएको देखिन्छ ।
वीपी राजमार्गमा पर्ने सुनकोशी किनारका नेपालथोक, मुलकोट र खुर्कोट पुरानै अवस्थामा फर्किन वर्षौं लाग्ने छ । बालुवाले पुरिएका होटेल तथा रिसोर्टहरु तत्कालै सञ्चालनमा आउने छैनन् । लगानी पनि ठूलै लाग्ने छ । कोशी किनारमा रहेको उर्वर खेतीयोग्य जमिन बालुवै बालुवा छ । जग्गाधनीहरुले आफ्नो जग्गा जमिन यहाँनेर थियो भनेर यकिन गर्न नसक्ने स्थिती छ ।
११ र १२ असोजमा परेको अविरल वर्षाले खोला र नदि किनारामा विकास भइरहेका नयाँ शहर तथा बजारहरु तहसनहस भएका छन् । दर्जनौं विकासोन्मुख शहर तथा बजार बगरमा परिणत भएका छन् । कतिपय बजारहरु बाढीपहिरोले पुरिएर नामोनिसान छैन् ।
सिन्धुपाल्चोकको मेलम्ची बजार, सोलुखुम्बुको थामे, काभ्रेको बेथानचोक, मुस्ताङको कागबेनी, बाह्रबिसेलगायत बाढीपहिरोले बगर बनिसकेका छन् । कतिपय बजार पुरानै अवस्थामा फर्किन संघर्षरत छन् । काठमाडौं उपत्यकाकै बागमती, धोवीखोला, मनोहरा, हनुमन्ते, बल्खु, विष्णुमती खोलाले वस्ती डुबानमा पर्दै आएका छन् । यस पटक बल्खु खोलाले ललितपुरको नख्खु क्षेत्रमा बसेको बस्ती नै बगाएर उजाड बनाइदियो ।
यस्तै, असोजमा आएको बाढीपहिरोले ललितपुरको लक्षिणी भेगमा पर्ने ऐतिहासिक, व्यापारिक र पर्यटकीय बजार गोटीखेल बजारमा परिणत भयो ।
पछिल्लो समय उच्च वृद्धि, आधुनिक संरचना र व्यवसायिक क्षेत्रमा आकर्षण बन्दै गइरहेका भर्रभराउँदा नयाँ शहर, बजार वस्तीहरु बाढीपहिरोले तहसनहस भएका छन् ।
नेपालका सहरोन्मुख बस्तीहरू, जसले विकासको गति समात्दै आफूलाई आधुनिक सहरको रूपमा स्थापित गर्न खोजिरहेका थिए । बाढीपहिरोले यी बस्तीहरू पुरिएर÷बगाएर तहसनहस बनेका छन् ।
नेपालमा मनसुनको समयमा बाढीपहिरोले धेरैको उठिबास नै लगाउँदै आइरहेको छ । कुनै पनि देशमा शहरहरू विकास र समृद्धिका प्रतीक मानिन्छन्, नेपालमा पनि धेरै ठाउँमा शहर विकास हुँदै थिए । ती शहर आधुनिक सुविधा सम्पन्न बनाउने सरकारको तयारी थियो ।
काभ्रेको बेथानचोक पर्यटकीय केन्द्र बन्दै थियो । चहलपहल बढ्दै जाँदा बजार बस्न थालेको छ । तर, सालोङदुङ खेलाको भेल उर्लिंदा अहिले बेथानचोक बगर बनेको छ । बेथानचोक र पनौती जोड्ने पुल बाढीले बगाइसकेको छ । खोला किनारका पक्की घर बाढीपहिरोले पुरिए/बगे । खोला किनाराको सडकको पनि नामोनिसान छैनन् ।
देविस्थान, गणेशस्थान, ढुङखर्कलगायत बस्तीहरु कहालीलाग्दो बनेका छन् । यतिसम्म कि सन्दुक खहरे खोलामा आएको बाढीले पोल बगेपछि बेथानचोक बिजुलीविहीन बन्न पुग्यो । न सकड, न बिजुली । बिजुली नभएपछि मोबाइल पनि चल्ने कुरो भएन । काठमाडौंबाट ४० किलोमिटर दुरीमा रहेको बेथानचोक परिखर्क बजार ११ र १२ असोजको बाढीपहिरोले मसानघाट जस्तै बनेको छ ।
०७८ जेठसम्म सिन्धुपाल्चोकको मेलम्ची बजारको चमकधमक नै अर्कै थियो । उदाउँदो शहर मेलम्ची पर्यटकी हब पनि बन्दै थियो । काठमाडौंबाट मेलम्चीका माछा खान जानेको लर्को लाग्यो । वान नाइट स्टेका लागि पनि मेलम्ची चर्चित थियो ।
बजारमा घरजग्गा कारोबार अकाशिएको थियो । मूल्य झन्डै झन्डै काठमाडौं उपत्यकाकै सरह थियो । ठूल्ठूला पक्की घरहरु बनिरहेका थिए । करोडौं लगानीका होटल खुल्न थालेका थिए । १ असार ०७८ मा आएको मेलम्ची र इन्द्रावती नदीको लेदोसहितको बाढीले गुल्जार मेलम्ची बजार एकाएक बगरमा परिणत भयो । अझै पनि मेलम्ची बजार लयमा फर्किन सकेको छैन । स्थानीयहरु चार वर्षअघिको त्यो कहालीलाग्यो दृश्य सम्झेर अझै झस्किन्छन् ।
अझै पनि त्यो ठाउँमा घरखेत थिए, बजार थियो, होटेलहरु थिए भनेर पत्यारै लाग्दैन । मेलम्ची खोला थुनिएर आएको बाढीले पसेर मेलम्ची बजार बगेको/पुरिएको थियो ।
०७५ भदौमा अविरल वर्षाका कारण आएको बाढीले सिन्धुपाल्चोककै बाह्रबिसे बजार बगरमा परिणत भएको थियो । त्यो समय बाढी बजार क्षेत्रमा प्रवेश गरेपछि घरहरु डुबानमा मात्र परेनन्, बगे पनि ।
यसै वर्ष ३२ साउनमा आएको बाढीले पर्यटकीय बजार सोलुखुम्बुको थामे तहसनहस पारिदियो । बाढीले स्कुलको होस्टेल, हेल्थ क्लिन, होटेल र घरसहति डेढ दर्जन घर तथा भवन पूर्ण रुपमा बगे । दिउँसो साढे एक बजेतिर अचानक भिषण बाढी आउँदा झुरुप्प परेको सुन्दर थामे बजार कहालीलाग्दो बन्यो ।
हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङको कागबेनी गत वर्षको साउन अन्तिममा आएको भीषण बाढीले बगरमा परिणत भयो । कागखोलमा आएको बाढीले कागबेनीमा रहेको प्रहरी चौकी भवनसहित २९ घरपूर्ण रूपमा बगायो । थप १३ घरमा बाढीले आंशिक क्षति गरायो भने ९ वटा गोठ पनि बगे ।
मुक्तिनाथ हुँदै झर्ने कागखोला पहिरोका कारण थुनिएपछि आएको बाढीले बितन्डा मच्चाउँदा कागबेनीमा ठूलो भौतिक क्षति भएको हो । गाउँभित्र रहेका ३ वटा काठेपुल, एउटा भोलंगे पुल र जोमसोम–कोरला सडकमा पर्ने पक्की पुलसमेत भत्कियो ।
बाढीले स्थानीयको घर, पसल, होटेल, प्रहरी चौकी भवन, वडा कार्यालय, आमा समूह भवनल, धर्मशाला, मन्दिरसमेत बगाएको थियो । बाढीको बितन्डाले पूरै कागबेनीको जनजीवन अस्तव्यस्त बनेको छ ।