६ महिनाको अवधिमा देशभरी १६ हजार १४७ घर तथा भवनको मात्रै नक्सा पास भएका छन् ।
काठमाडौं । कोभिड महामारीपछि अर्थतन्त्रमा मन्दी छाउँदा निर्माण तथा रियलस्टेट क्षेत्रमा चरम निरासा देखिएको छ । पछिल्लो समय घर तथा भवन निर्माण, घरजग्गा रजिष्ट्रेसन, मालपोत राजश्व असुली घटेको छ ।
नेपाल राष्ट्र बैंकको हालै प्रकाशित 'आर्थिक गतिविधि अध्ययन अर्धवार्षिक ०७९/८० को प्रतिवेदन'ले निर्माण क्षेत्रमा चरम मन्दी छाएको स्पष्ट देखाउँछ । चालु आर्थिक वर्षको पहिलो ६ महिना (साउन–पुस)मा घर तथा भवनको नक्सा पास संख्या ३७.५ प्रतिशतले घटेको छ ।
अर्थात्, ६ महिनाको अवधिमा देशभरी १६ हजार १४७ घर तथा भवनको मात्रै नक्सा पास भएका छन् । सार्वजनिक एवं व्यक्तिगत निर्माण क्षेत्र नै सुस्ताउँदा सिमेन्ट, डन्डी, पाइप एन्ड फिटिङ, क्रसर उद्योगलगायतको व्यापार पनि चौपट भएको छ ।
घर/भवनको कुल नक्सा पासमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा ७ हजार ४५९ र सबैभन्दा कम कर्णाली प्रदेशमा ३८१ नक्सा पास भएको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ ।
चालु आवको ६ महिनामा आधारित राष्ट्र बैंकको प्रतिवेदन
स्रोतः नेपाल राष्ट्र बैंक
कोशी प्रदेशमा १८ सय ८२ घर/भवनको नक्सा पास भएको छ भने मधेश प्रदेशमा १८ सय ३४, गण्डकी प्रदेशमा १२ सय ६५, लुम्बिनी प्रदेशमा २४ सय ६६ र सुदूरपश्चिम प्रदेशमा ८६० नक्सा पास भएका छन् ।
राष्ट्र बैंकको रिपोर्टले पहाडका शहरी क्षेत्र र तराई भेगमा बढी घर तथा भवन निर्माण भइरहेको देखाउँछ । उपत्यकाका तीन जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुरमा तुलनात्मक रुपमा धेरै घर र सरकारी भवन निर्माण भइरहेका छन् ।
घरजग्गा रजिष्ट्रेसन पनि सुस्त
यस्तै, ६ महिनमा घरजग्गा रजिष्ट्रेसन संख्या एक लाख ९६ हजार ५९५ पुगेको छ भने घरजग्गा रजिष्ट्रेसनबाट नौ अर्ब ९० करोड मात्रै राजश्व संकलन भएको छ ।
घरजग्गाका रजिष्ट्रेसन पास सबैभन्दा धेरै मधेश प्रदेशमा (४४ हजार ६५२) र सबैभन्दा कम सूदुरपश्चिम प्रदेशमा (१० हजार ३४) भएका छन् । घरजग्गा रजिष्ट्रेसन शुल्क भने सबैभन्दा धेरै बागमती प्रदेशमा भएको छ ।
साउनदेखि पुसम्म बागमती प्रदेशबाट घरजग्गा रजिष्ट्रेसनवापत ५ अर्ब ६६ करोड रुपैयाँ राजश्व उठेको छ । सबैभन्दा कम राजश्व कर्णाली प्रदेशमा १२ करोड ३३ लाख मात्रै उठेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।