बडागुरुको दरबारभित्र रैथाने खाना र संस्कृतिको संगम 'भोजन गृह'

भोजन गृहमा रैथाने स्वाद, मौलिक संगित र ग्रामिण वातावरणको अनुभव गर्न सकिन्छ, नेपालीका लागि २९ सय र विदेशीका लागि ४ हजार रुपैयाँको प्याकेज

367B408218B985F-icon.png
763views
52EDC9674903757-f6b3cc75-8a78-41ff-9074-d0b7267aa875.jpeg

काठमाडौं । मुख्य पाहुना गेटतर्फ प्रवेश गर्दै गर्दा गरिने स्वागत, त्यसपछि थियटर हल प्रवेश गर्दै गर्दाको जस्तो शान्त एवम् सम्पदाको झलक दिने माहोल । भित्र प्रवेश गर्दै गर्दा सायदै जो कोहीलाई लाग्न सक्छ, म कुनै होटल छिर्दै छु कि कुनै ऐतिहासिक सम्पदा ? या त कुनै दरबारमा पो पाहुना बन्दै छु कि ?

काठमाडौंको डिल्लीबजारस्थित भोजन गृहमा प्रवेश गर्दै गर्दा जो कोहीलाई यो दृश्यले अद्भूत अनुभूत गराउँछ । व्यस्त शहर, कामको थकानलाई बिर्साउन साँझ सात बजे नै त्यहाँ पुग्दा लाग्छ कि कुनै रेष्टुरेन्ट छिरेको नभई कुनै सम्पदायिक गाउँमा प्रवेश गर्दैछु, जहाँ सबै भुलेर आनन्दित बनाइदिन्छ मन । 

रेष्टुरेन्टको माथिल्लो तला जानका लागि काठको भर्‍याङ प्रयोग गर्नुपर्छ । जसले गाउँबाट शहर छिरेका र काठको भर्‍याङ भुल्न लागिसकेकाहरुलाई ‘नोस्टाल्जिक’ बनाइदिन्छ । माथि उक्लिएपछि जुत्ता चप्पल खोलेर राखिन्छ । जाँदाजाँदै ‘बाथरुम’मा हातमुख धोएर आफ्नो लागि तयार रहेको टेबल/कुर्सीमा बस्न गइन्छ।  त्यतिखेर लाग्छ कि खाना खानका लागि गाउँघरमा हामी जसरी प्रवेश गथ्र्यौं, ठ्याक्कै त्यस्तै । जुत्ता चप्पल खोलिसकेपछि र हातमुख धोइसकेपछि सारा थकान पनि त्यतै छाडेर भोजनका लागि प्रवेश गरेजस्तै शितल हुन्छ तनमन । 

स्वागतका लागि नेपाली रक्सी त्यहाँ दिइन्छ । रक्सी खान इच्छुकले निकै उत्साहित भएर त्यसको स्वाद लिन्छन् । 

त्यहाँ बस्दै गर्दा विभिन्न किसिमका स्न्याक्स तथा खाना आइपुग्छन् । नेपाली पोशाकमा सजिएका होटलका वेटरहरूले एक पछि अर्को गर्दै परिकारहरू पस्कँदै जान्छन् । पाहुनाहरू त्यसमा रमाउँदै जान्छन् ।

भोजन गृहमा सुरूमा लोकल रक्सी र भुटेको मकैले स्वागत गरिन्छ । त्यसपछि तारेको आलु, मःम, क्वाँटीको सुप खाजाका रुपमा पस्किइन्छ । त्यसपछि भोजनमा सादा भुजा, झानेको दाल, विभिन्न प्रकारका तरकारी, कुखुरा र खसीको मासु प्रस्तुत गरिन्छ । 

त्यसपछि दही र बिदाइका क्रममा चिया खुवाएर अतिथिलाई बिदाइ गरिन्छ । 

यही क्रममा नेवारी, तामाङ, शेर्पा लगायत जातजातिका विभिन्न नृत्यहरू प्रस्तुत गरिन्छ । यस्तो लाग्छ कि भोजन गृहमा भोजनका लागि मात्रै गएका छैनौं,  हरेक नृत्यसँग कनेक्ट भएर सोही गाउँ पुगेजस्तो भान हुने । 

भोजन गृहको यो विशेषताले त्यहाँ पुग्ने जोकोहीलाई लोभ्याइदिन्छ । भोजन गृहका सञ्चालक भरत बस्नेत आफैं भोजनमा सरिक सबै पाहुनाहरूसँग भलाकुसारीमा समय दिन्छन् । यसले पारिवारिक माहोल समेत सिर्जना गराउँछ ।

एकैपटक २ सय जनालाई सेवा दिन सक्ने भोजन गृहमा स्वदेशी उत्पादनकै स्वाद चाख्न सकिन्छ । भोजन गृहमा नेपाली ग्राहकका लागि २९ सय रुपैयाँ  र विदेशी ग्राहकका लागि ४ हजार रुपैयाँ शुल्क लाग्छ । 

यस प्याकेजभित्र मौलिक संगित, रैथाने नेपाली खाना र ग्रामिण वातावरणको अघाउन्जी अनुभव गर्न सकिन्छ । 

डिल्लीबजारमा नेपाली कला, संस्कृति र सम्पदालाई जगेर्ना गर्दै विगत २६ वर्षदेखि भोजन गृह सञ्चालनमा छ । जसलाई नेतृत्व गर्दै आइरहेका छन् वरिष्ठ पर्यटन व्यवसायी भरत बस्नेतले । अनवरत २६ वर्षसम्म उस्तै शैली, उस्तै स्वाद र उस्तै लोकप्रियता, भोजन गृहले आफ्नो पहिचान बनाएको छ ।  

सन् १९९७ मा सरकारले १९९८ लाई नेपाल भ्रमण वर्षको घोषणा गरेको थियो । तर त्यसका लागि प्रयाप्त पूर्वाधार विकास तथा अन्य पर्यटन विकास गर्न सरकार चुकिरहेको थियो । 

त्यसैसमयमा पर्यटन व्यवसायी बस्नेतले एउटा अभियान नै सुरू गरे । सो समयमा काठमाडौं निकै प्रदूशित र अव्यवस्थित थियो । भ्रमण वर्षको तयारी हुँदै गर्दा काठमाडौं सफा बनाउनुपर्छ भनेर उनी लागिपरे । सोही समयमा उनले पूराना र जीर्ण सम्पदा तथा त्यस्ता भवनहरूलाई पूननिर्माण गरी त्यसतर्फ पर्यटकको आकर्षण बढाउन सकिने योजना बनाए । 

त्यसपछि राणाकालीन भवनको खोजी गर्न थाले । सोही बेला उनले डिल्लीबजारमा रहेको दरबार भेटाए । सो दरबार राजाहरूको बडागुरूको दरबार थियो । लामो समयसम्म जीर्ण रहेको सो भवनमा उनले रेष्टुरेन्ट सञ्चालन गर्ने योजनासहित अनुमति मागे । सरकारले उनलाई अनुमति पनि दियो । 

त्यसपछि सन् १९९८ मा उनले जीर्ण दरबारलाई पूनर्निर्माण गरी भोजन गृह सञ्चालनमा ल्याए । भोजन गृह शब्द संस्कृतबाट आएको हो । जहाँ भोजन गरिन्छ, त्यसलाई भोजन गृहको नाम उनले दिए । त्यसपछि त्यहाँ कला भर्न थाले । 

कला र संस्कृतिको धनी मुलुकका रुपमा चिनिने देश हो नेपाल । बस्नेतले नेपालकै जाति विशेषका कला तथा संस्कृतिलाई जोगाउने र काठमाडौंमै पर्यटकहरूलाई त्यसतर्फ आकर्षित गर्न सुरू गरे । 

त्यसका लागि स्थानीय कला संस्कृति र जनशक्ति समेतलाई भोजन गृहमा ल्याए र पाहुनाहरूलाई विभिन्न नृत्य देखाएर मनोरञ्जन दिलाउन थाले । 

भोजन गृहमा भोजनमात्रै हैन भोजन गर्न जानेहरूका लागि मनोरञ्जन समेत त्यहाँ मिल्ने भयो । कला र संस्कृतिको संयोजन मिलाएर भोजन समेतको व्यवस्था गरेर नेपाली तथा विदेशी पर्यटकको आकर्षण त्यहाँ बढ्ने उनको योजना थियो ।

बस्नेत भन्छन्, ‘सोही योजनाअनुसार भोजन गृह अगाडि बढ्दै गयो ।’ नेपालको मौलिकपन रुचाउने अतिथिहरूले भोजन गृहलाई रुचाइरहेको उनको बुझाइ छ ।

भोजपुरमा जन्मिएका बस्नेत खोटाङको चिसापानीस्थित खेतुवा गाउँमा हुर्किए । गाउँमै अध्ययन गरेर उच्च शिक्षाका लागि वि.सं. २०३३ मा उनी काठमाडौं आइपुगे । त्यसपछि अध्ययनकै बीचमा उनले नेपालकै सबैभन्दा ठूलो ट्राभल कम्पनी ‘यति ट्राभल’ मा काम गरे । त्यहाँ केही वर्ष काम गरेपश्चात वाइल्ड लाइफ पर्यटनका लागि विश्वविख्यात चितवनको वाइल्ड लाइफ लज टाइगर टक्समा काम गरे । 

त्यहीँ काम गर्दै गर्दा उनी जर्मन, अमेरिका लगायतको मुलुकमा पुगे । ती मुलुकहरूमा विदेशीहरूलाई नियालीसकेपछि उनलाई लाग्यो,  नेपालको मौलिक संस्कृति तथा सम्पदा विदेशीका लागि आकर्षण हो ।

उनले त्यसपछि नेपालको मौलिक कला र संस्कृति तथा सम्पदाको सम्बर्द्धन गरी विदेशी पर्यटक भित्र्याउन सकिने सोचे । सोही समयमा नेपाल भ्रमण वर्षको पनि माहोल सिर्जना हुँदै थियो । उनले नेपालमा आएर केही समयमै भोजन गृह सञ्चालन गर्न सफल भए । 

उनी आफूले विदेश गएपछि मात्रै नेपालको कला र संस्कृतिको महत्व बुझेको बताउँछन् । उनलाई नेपालका गाउँ, हिमाल, पहाड, नदिनाला लगायतले छुन थाल्यो । उनी भन्छन्, ‘त्यहाँ पुगेपछि मलाई यहाँको मौलिकता परम्परा संस्कृति वा वास्तुकला बचाएर राख्न सकेमा पर्यटनको खानी हुने बुझें । त्यो शैलीलाई  नै अगाडि बढाउने अठोट गरें ।’

उनले विदेशीले नेपालमा के रूचाउँछन् भन्ने समेत बुझिसकेपछि भोजनगृहको कल्पना गरेको सुनाए । उमेरले ६७ वर्षका भए बस्नेत । भोजन गृहलाई जस्तै आफूलाई पनि सधैं नेपाली पोशाकमै सजाइरहन्छन् उनी । उनले आफू बस्ने घरलाई पनि भक्तपुरको कुनै दरबार जस्तो देखिने गरी बनाएका छन् । 

उनले लगाउने पोषाक पनि शुद्ध नेपाली दौरा सुरुवाल हो । सबैले आफ्नो धर्म संस्कृति एवम् परम्परा अनुसारको भेषभुषा लगाएमात्रै पनि नेपाल झनै धपक्कै बल्ने उनी बताउँछन् । 

काठमाडौंको मध्यभागमा पर्ने डिल्लीबजारमा प्रशस्त पार्किङ सुविधासहित सञ्चालित भोजन गृहमा अतिथिहरूलाई पारिवारिक माहोल सिर्जना गर्न लागिपरेका छन् उनी । दैनिक भोजनका लागि पुग्ने अतिथिहरूलाई गएर टेबल टेबलमा भेट्ने तथा प्रतिक्रिया लिने काम उनी आफैंले गर्छन् ।

कुराकानीको बिट मार्दै उनले भने- 'सकेसम्म पाहुनासँग नजिकिने र उहाँहरूलाई पारिवारिक महशुस गराउने गरी म उपस्थित हुन्छु ।'

फेरी घट्यो बैंकको ब्याजदर, अशोजमा २ बैंकले मात्र बढाए

निर्माण क्षेत्र तंग्रिन नसक्दा चितवनका सबै इँटा उद्योग बन्द

बागलुङमा साढे १८ सय रोपनी जग्गामा चक्लाबन्दी, बाँझो जग्गा हराभरा

तनहुँमा एक अर्ब लगानीमा खुल्यो ‘सिद्धार्थ होटल दमौली’

आक्रमक फैलिदै भाटभटेनी, तीन दिनको अन्तरमा दुई स्टोर शिलन्यास, तीन अर्ब लगानी हुँदै

जग्गा वर्गीकरणका लागि ११ महिना समय थप, ०८२ असार मसान्तसम्म टुंग्याउनुपर्ने

कंक्रिटका घरले फेरिँदै मनाङको मौलिकता

खोला किनारामा नयाँ मापदण्डको फैसला गर्ने न्यायाधीशलाइ महाअभियोग लगाउन माग

1E66E8F432913B7-Siddhartha Hotel Damauli.jpg

तनहुँमा एक अर्ब लगानीमा खुल्यो ‘सिद्धार्थ होटल दमौली’

9A924C74B81B5BC-gandaki_province1691914550_1024.jpg

गण्डकी प्रदेशमा पनि घट्यो घर–भवनको नक्सा पास

D2DD82ABE38BF6C-Project news.jpg

औद्योगिक सहर वीरगञ्‍जमा अपार्टमेन्ट कल्चर हुर्कन नपाउँदै मन्दीको मारमा