यस्तो छ पूर्वसचिव बाँस्कोटाको काठमाडौं सडक विस्तार सम्बन्धि अनुभव

काठमाडौं उपत्यकामा चारै दिशामा सडक फराकिलो गर्न संरचनाहरू भत्काउने तर निर्माण भने समयमा हुन नसक्दा जनमानसमा असन्तोष र दिग्दारी प्रकट हुनु स्वाभाविकै हो । मैले सधैंको धुलो र हिलोले काठमाडौंवासी आक्रान्त भएको महसुस गरे ।

367B408218B985F-icon.png
820views
73455D54354E2B3-cover image news perception.jpg

डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँकै पहलमा काठमाडौं उपत्यकाभित्रका सडकहरू चौडा पार्ने अभियान छेडियो । यसै दौरान म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा सरुवा भएर आएँ। मेरो जिम्मेवारीमा आर्थिक र पूर्वाधार विकास परेको थियो । यसैलाई समाएर काठमाडौं उपत्यका सडक विस्तार र निर्माणको कामलाई द्रुतता दिने जिम्मेवारी सम्हाँले । मेरो संयोजकत्वमा अर्थ, गृह, परराष्ट्र, सहरी विकास, भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, वन तथा भू–संरक्षण, सूचना तथा सञ्‍चार मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिवहरू, काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख, अधिकार सम्पन्‍न वाग्मती ढल निकासका कार्यकारी प्रमुख, स्थानीय प्रशासन, प्रहरी, ट्राफिक प्रहरी लगायतको विशाल टीम गठन भयो । 

प्रत्येक महिनामा कम्तीमा एक पटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मेरो अध्यक्षतामा समन्वयात्मक बैठक बस्‍न थाल्यो । प्रत्येक महिना कम्तीमा एक पटक मेरो नेतृत्वमा सडक निर्माणको स्थलगत प्रगति अनुगमन गर्न थालियो । यस्तो टोली बेलाबखत सोझै प्रधानमन्त्रीकहाँ रिपोर्टिङ गर्न पुग्दथ्यो । सरकारका विभागीय मन्त्री र मुख्य सचिवलाई पनि समय समयमा प्रगतिबारे जानकारी गराउने गरिएको थियो । यसरी मेरो संयोजकत्वमा गठित ‘काठमाडौं उपत्यका विस्तारित सडक उच्चस्तरीय अनुगमन समिति’ सँग आबद्ध रहँदाको अनुभवका आधारमा अहिले म काठमाडौं उपत्यका विकासको योजना पनि कोर्दै छु ।

१. मापदण्ड विपरीतका संरचना भत्काउने

वास्तविकतालाई नियाल्दा नेपालको राजधानी काठमाडौंको पूर्वाधार विकासका लागि मास्टर प्लान तयार भएको रहेनछ । २०३३ सालको सडकको मापदण्ड र जिएलडीभित्र नपरेका अर्थात् अतिक्रमण गरेर बनाइएका घर, टहरा, पर्खाल र अन्य संरचना भत्काउने अभियान अहिले पनि निरन्तर छ ।

२. निर्माणमा दुत विधि अपनाउने

काठमाडौं उपत्यकामा चारै दिशामा सडक फराकिलो गर्न संरचनाहरू भत्काउने तर निर्माण भने समयमा हुन नसक्दा जनमानसमा असन्तोष र दिग्दारी प्रकट हुनु स्वाभाविकै हो । मैले सधैंको धुलो र हिलोले काठमाडौंवासी आक्रान्त भएको महसुस गरे । यस विषयमा निर्माण व्यवसायीलाई सम्झाउने, आग्रह गर्ने र चेतावनी दिने काम गरियो । कानुनी अधिकार पाएका कार्यालय प्रमुखहरूलाई जानी–बुझी ढिला सुस्ती गर्ने निर्माण व्यवसायीलाई दण्डित गर्न, तिनको ठेक्का तोड्न र कालो सूचीमा राख्न समेत आग्रह गरियो तर नतिजा भने अपेक्षा गरेझै प्राप्त हुन सकेन । 

तथापि निरन्तरको ‘पुच्छर निमोठाइ’ ले २०७१ साउन सम्ममा करिब १०० किमी सडक कालोपत्रे भएको सुखद स्थिति रह्यो । त्यस अवस्थामा सरकारी निकायहरूले आपसमा तालमेल गरी असल समन्वय कायम गर्न, सम्भव भएसम्म एकीकृत ठेक्का लगाउन, निर्माण हुने स्थानमा होडिङ बोर्ड राखी सर्वसाधारणलाई सूचित गर्न, गुणस्तरीय निर्माण गर्न र समयमै निर्माणको काम सम्पन्‍न गर्ने गरी कार्ययोजना बनाएर काम गर्न आग्रह गरेको थिएँ ।

३. अपांगमैत्री सडक र फुटपाथ

काठमाडौंको विस्तारित सडक निर्माण गर्दा अपाङ्गमैत्री बनाउने लक्ष्य राखियो। यो जरुरी पनि छ। यसका लागि पहिलो कुरा, विह्वल चियर गुडाउन मिल्ने गरी फुटपाथलाई दुई मिटरभन्दा कम नगर्न र फुटपाथको अन्त्यमा आँठा नपार्न निर्देश गरियो । दोस्रो कुरा, फुटपाथमा अपांगमैत्री ब्लक छाप्ने कुरा गरियो तर हुन सकेन । तेस्रो कुरा, सेतो लौरो लिएर हिँड्नेले सडकमा गुडी रहेका मोटर रोक्न आग्रह गर्न मिल्ने स्थिति निर्माण गर्ने भनियो। यसै गरी विह्वल चियर सहित यात्रु उकाल्न र ओराल्न मिल्ने बसभित्र्याउने र सोही अनुसार बसस्टप तयार गर्ने पनि भनियो। यी कामहरू गर्न बाँकी नै छन् । भविष्यमा यस क्षेत्रका पदाधिकारीहरूले यस कुराको मनन अवश्य गर्नु हुनेछ ।

४. ट्राफिक व्यवस्थापन

सामान्यतः ठूला सहरहरूमा सडक चौडा गर्दा वा मर्मत गर्दा सो सडकको दुवैतिरबाट सवारी साधन चल्न रोक्का गरी वैकल्पिक मार्गबाट यातायात सञ्‍चालन गरिन्छ तर काठमाडौं उपत्यकामा सडक चौडा गर्दा भत्काउने, निर्माण गर्ने र मोटर गुडाउने काम एकै साथ भइरहेको छ जसको कारण पनि यात्रुले बढी हैरानी खेप्‍नु पर्यो। यस्तो स्थितिमा पनि ट्राफिक प्रहरीले एकतर्फी निर्माण र एकतर्फी यातायात सञ्‍चालन गरी बढी ट्राफिक जाम हुन दिएको थिएन। बढी धुलो उडेका बखत नगरपालिकाबाट पानी छर्न लगाइएको थियो। कैयौं स्थानमा निर्माण व्यवसायीले पनि पानी छ्याप्‍ने र धुलो रोक्ने एक प्रकारको प्लास्टिकको डिभाइडर पनि राखेका थिए। साथै सडक चौडा भएपछि ठाउँ ठाउँमा सडकलाई एकतर्फीको सट्टा दुईतर्फी बनाइएको छ ।

भविष्यमा ट्रफिक लाइट र सडक देखाउने एरो राख्‍ने प्रयोजनका लागि सडकको दुईतिर पोल गाडी सडकको बिचमा बोर्ड र ट्राफिक लाइट राख्‍न जरुरी छ । साथै सडकको दुबै किनारामा रहेका पोलमा सोलारको प्यानल, ब्याट्री र बत्ती जडान गरी रातीको समयमा पनि काठमाडौं सडक झलमल्ल तुल्याउने योजनालाई साकार तुल्याउनु छ ।

५. ब्युटिफिकेसन र सप्तरंगी सहर

काठमाडौंको सडक चौडा गर्ने कामसँगै यस्को ब्युटिफिकेसनको प्रयास पनि भएको छ  । विशेष गरी मूल सडकको अग्रभागमा घर भएकाहरूले घरको अगाडि वृक्ष रोप्‍ने वा सो सम्भव नभए घरको तेस्रो चौथो तल्लाको बाल्कोनीवाट हरियाली लहरा झार्नु पर्ने प्रावधान गर्न जरी छ । यस्का लागि सहरी विकास मन्त्रालय र नगरपालिकाहरू विच छलफल हुन जरुरी छ । यस सम्बन्धी आचार संहिता वा कानुनको अभाव भए सो बनाउने प्रयास गर्नुपर्छ । 

साथै सडकको दुबै किनारामा हरियालीका लागि वृक्षरोपणको प्रवन्ध गर्नु पर्छ । माईतीघर मण्डला तीनकुने खण्ड, कोटेश्‍वर–सूर्यविनायक खण्डमा वृक्षरोपणको काम भएको छ । साथै एकातिर वृक्षरोपण अर्कोतिर प्रदूषण रहित सिएनजी युक्त सार्वजनिक यातायात गुड्नु पर्ने अवधारणा पनि भविष्यमा कार्यान्वयन हुने अपेक्षा गरिन्छ ।

यसै प्रसंगमा कैयौं मानिसले काठमाडौंलाई सप्तरंगी सहरका रूपमा विकास गर्न पनि सल्लाह दिएका छन् । यस अनुसार टोल पिच्छे एउटै रंग लगाउनुपर्छ । डल्लु आवास क्षेत्रको एउटा टोलमा यो व्यवस्था गरिएको छ । यस पक्तिकारलाई सो स्थानमा भ्रमण समेत गराइएको थियो ।

६. मेट्रो सञ्‍चालन र स्काई ट्रेनको कल्पना

काठमाडौंमा साँगुरा सडक फराकिलो भएपछि नागरिकहरूमा नयाँ आशा पलाएको छ । कसैले बुढानीलकण्ठदेखि गोदावरीसम्मको र थानकोटदेखि धुलिखेलसम्मको मेट्रो यातायात सञ्‍चालनको सम्भावना औंल्याएका छन् । कसैले एयरपोर्टदेखि ठमेलसम्म र कलंकीदेखि बबरमहल हुँदै एयरपोर्टसम्मको स्काई ट्रेनको सम्भावना देखेका छन् । यसै बिच फराकिलो सडकको एउटा लेन केवल पब्लिक ट्रान्सपोर्टका लागि छुट्याउनु पर्ने धारणा पनि आएको छ । यसैबिच कलंकी, बालाजु, महाराजगञ्ज, चावहिल, कोटेश्‍वर, सातदोबाटो आदिमा मल्टिस्टोरी पार्किङ्ग लट निर्माण गरी निजी मोटर त्यहाँ नै पार्किङ गरी सहरभित्र पब्लिक ट्रान्सपोर्टमा यात्रा गर्नु उत्तम हुने तर्क पनि आएको छ। यी सबै विषयमा सम्बन्धित पदाधिकारीहरूले गहनतापूर्वक अध्ययन र विश्लेषण गर्नु हुनेछ ।

७. पिच खन्नु नपर्ने र सफा सडकको अवधारणा

सडकको साथ साथै ढल, खानेपानीको पाइप, विद्युत्को पोल र तार, यसैगरी टेलिफोनको पनि पोल र तार लगायतको निर्माण सँगसँगै हुने गरेको छ। यसर्थ यस पटक काठमाडौंको विस्तारित सडकको निर्माण गर्दा सम्भव भएसम्म ढल, खानेपानीको पाइप र तारलाई सडकको दायाँबाट बायाँ र बायाँबाट दायाँ क्रस हुन दिइएको छैन। बरु सडकको दुबैतिर यी संरचना राख्न लगाइएको छ। यसबाट पिच खनेर खानेपानीको पाइप लैजान नपरोस र विद्युत् एवं टेलिफोनको तारले पिच क्रस गरेर सहर तारको जालो जस्तो फोहोर नदेखियोस् भन्‍ने अवधारणा अघि सारिएको थियो। यसमा कुनै ठाउँमा थप काम गर्न बाँकी भए भविष्यमा सम्पन्‍न हुने अपेक्षा गर्दछु। 

साथै यसै बखत राणाकालीन खानेपानीका पाइप मर्मत भई नयाँ पाइप राखिएका छन्। मेलम्ची लगायतको सडक खन्‍नै परेका बखत पनि फुटपाथ मात्रै खने पुग्‍ने गरी स्पेश राख्‍ने प्रयास भएको छ। यसरी दिगो विकास र सफा सडकको अवधारणा अगाडि बढाइएको स्मरण गर्न चाहन्छु । यसै सन्दर्भमा भविष्यमा विद्युत् र टेलिफोनका तारहरू अन्डर ग्राउण्ड केवलिङ गर्न पनि सुझाव दिन चाहन्छु । माइतीघर मण्डलादेखि एयरपोर्ट तीनकुनेसम्म करिव ७०/८० करोड लाग्‍ने भएकाले तत्काल अण्डरग्राउण्ड केवलिङ्ग गर्न नसकिएता पनि लैनचौरदेखि महाराजगञ्‍जसम्म यो काम भएको छ। एसियाली विकास बैंकको सहयोगमा काठमाडौं उपत्यकाभित्र ढल सुधारको काम भएपछि स्थितिमा थप सुधार हुनेछ ।

८. खोला किनारामा सडक निर्माण गर्ने

काठमाडौं उपत्यकाभित्र सवारी साधनको चाप बढ्दै गएको छ। यस स्थितिमा मौजुदा सडक चौडा गर्ने कामले आगामी ८/१० वर्षको ट्राफिक व्यवस्थापन गर्न सकिए पनि त्यसपछि के गर्ने भन्‍ने समस्या पैदा हुनु स्वाभाविकै हो। यसै सन्दर्भमा अधिकार सम्पन्‍न वाग्मती सभ्यता अभियानबाट वाग्मती नदीको दुबै किनारामा सफाइ गर्ने, ढल बिच्छाउने र सडक निर्माण गर्ने काम भइरहेको छ। साथै नदी किनाराका सार्वजनिक जमिन र नदी उकास जमिनमा बगैंचा निर्माण गर्ने र खोलाको दुवै किनारामा वृक्षरोपण गर्ने काम भइरहेको छ। यसबाट एकातिर काठमाडौं उपत्यकाकाभित्र सडकको लम्बाइ वृद्धि हुनेछ भने अर्कोतिर नदी अतिक्रमण र प्रदूषणको समस्या पनि केही हदसम्म समाधान हुनेछ । यसर्थ यही विधि विष्णुमती, हनुमन्ते, धोवीखोला, नख्खु खोला लगायतका सबै नदीमा अपनाउनु जरुरी छ ।

९. पुल र ओभर हेड ब्रिज निर्माण

काठमाडौं उपत्यकाको सडक चौडा गर्दा नदीमा पुल राख्नु पर्ने र पैदलयात्रुलाई बाटो काट्न ओभरहेड ब्रिज निर्माण गर्नु पर्ने महसुस भयो । सडक चौडाको कामसँगै पुल निर्माण गर्न सकिएन । यसले ठाउँठाउँमा सडक चौडा गरिएको महसुस भएन । नयाँ बानेश्वरको धोवीखोला लगायतको स्थानमा यस्तो असजिलो महसुस भएको हो। साथै नयाँ बानेश्वर जस्तो एकै दिनमा एकलाख पैदल यात्रुले बाटो काट्ने चौडा सडकमा ओभर हेड ब्रिज निर्माण गर्न नसक्दा यात्रुलाई सास्ती पुगेको महसुस गरिएको छ। यी कुरामा भविष्यमा सम्वन्धित पदाधिकारीहरूले ध्यान पुराउनु पर्छ ।

१०. सुखद भविष्यको अपेक्षा

‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भन्ने लक्ष्मीप्रसाद देवकोटाको भनाइ अनुसार विश्वकै ऐतिहासिक र नामुद राजधानी सहरको पंक्तिमा पर्ने काठमाडौं उपत्यकाभित्रका सडक चौडा गर्नुका साथै यस सहरलाई सुन्दर बनाउन कुनै कसर बाँकी राख्नु हुँदैन । आजभन्दा दुई अढाई सय वर्ष पहिले आदिकवि भानुभक्त आचार्यले ‘अलकापुरी कान्तिपुरी नगरी’ भनी गरेको टिप्पणी पढ्दा साविकमा काठमाडौं सहर निकै सुन्दर रहेको बुझिन्छ । बिस्तारै बढ्दो जनसंख्या र व्यवस्थापन क्षमताको कमीका कारण यो सहर फोहोर भएको बुझिन्छ। यी सबै तथ्यहरूलाई विश्लेषण गर्दा काठमाडौं उपत्यकाका विकास प्राधिकरण यसै खातिर गठन भएको बुझ्न कठिन छैन। यसर्थ यस निकायले काठमाडौंको मास्टर प्लान बनाई तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका योजनाहरू सार्वजनिक गर्न ढिला गर्नु हुँदैन ।

अन्त्यमा, धेरै पहिलेदेखि काठमाडौं, ललितपुर र भक्तपुरको एकीकृत सुरक्षा, व्यवस्थापन र प्रगतिका लागि उपत्यका आयुक्तको व्यवस्था गर्ने गरी सिफारिस भएको थियो। यो विषय आज पनि सान्दर्भिक छ । यस उपत्यकाबाट संविधानसभामा प्रत्यक्ष निर्वाचित १५ जना सभासदहरूको केही महिनापूर्व भएको भेलामा पनि एकीकृत र सन्तुलित विकासको पहल हुनुपर्ने कुरा उठेको थियो। यसर्थ प्रत्यक्ष निर्वाचित र समानुपातिक तर्फका सभासद्हरू सञ्चालक सदस्य रहने गरी एउटा अधिकार सम्पन्न प्राधिकरण गठन गरी काठमाडौंको एकीकृत विकास गर्न सकिन्छ। 

यी सबै चिन्तनको प्रथम प्रारम्भिक विन्दु हाल क्रियाशील काठमाडौं उपत्यका विकास प्राधिकरण नै सशक्त माध्यम हुनसक्ने स्पष्टै छ । यसर्थ उक्त निकायको उत्तरोत्तर प्रगति र क्रियाशीलताको कामना गर्दै तत्तत् निकायको कार्यमा सवै राजनीतिकर्मी, प्रशासन संयन्त्र र सर्वसाधारण काठमाडौंवासीसँग सहयोगको अपिल गर्दछु । काठमाडौं हाम्रो साझा सुन्दर फूलबारी हो, यसलाई गोडमेल गरी साँच्चै सुन्दर र हराभरा बनाइराख्नु हामी सबै नेपालीको कर्तव्य हो ।

तनहुँमा एक अर्ब लगानीमा खुल्यो ‘सिद्धार्थ होटल दमौली’

आक्रमक फैलिदै भाटभटेनी, तीन दिनको अन्तरमा दुई स्टोर शिलन्यास, तीन अर्ब लगानी हुँदै

जग्गा वर्गीकरणका लागि ११ महिना समय थप, ०८२ असार मसान्तसम्म टुंग्याउनुपर्ने

कंक्रिटका घरले फेरिँदै मनाङको मौलिकता

खोला किनारामा नयाँ मापदण्डको फैसला गर्ने न्यायाधीशलाइ महाअभियोग लगाउन माग

उपत्यका मेयर्स फोरमको मागः नदी किनाराको मापदण्ड सम्बन्धि सर्वोच्चको फैसला पुनरावलोकन गरिनुपर्छ

नदि किनारामा थप २० मिटर क्षेत्रभित्र भवन बनाउन नदिने निर्णयप्रति चौतर्फी विरोध

कित्ताकाटमा सहजीकरण गर्न महासंघको माग

5B247B9333FAA6C-mahabhiyog-mag2024-09-09-01-47-04.jpeg

खोला किनारामा नयाँ मापदण्डको फैसला गर्ने न्यायाधीशलाइ महाअभियोग लगाउन माग

787AA61B92ED8A7-meyer-forum.jpg

उपत्यका मेयर्स फोरमको मागः नदी किनाराको मापदण्ड सम्बन्धि सर्वोच्चको फैसला पुनरावलोकन गरिनुपर्छ

F7061A169CF31C6-khola.jpeg

नदि किनारामा थप २० मिटर क्षेत्रभित्र भवन बनाउन नदिने निर्णयप्रति चौतर्फी विरोध