गत आवमा रियल इस्टेट क्षेत्रको वृद्धिदर २.१८ प्रतिशत रहेको थियो । यो वृद्धिदर अघिल्लो आव ०७८/७९ को अन्तिम तथ्यांक अनुसार १.७२ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
काठमाडौं । चालू आर्थिक वर्षमा रियल इस्टेट सम्बन्धि गतिविधि (घरजग्गा कारोबार तथा भाडा) को वृद्धिदर पाँच वर्षयताकै उच्च रहने भएको छ । यो वर्ष घरजग्गा सम्बन्धि क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर २.९८ प्रतिशत रहने राष्ट्रिय तथ्यांक कार्यालयले प्रक्षेपण गरेको हो ।
घरजग्गा कारोबारमा तुलनात्मक रुपमा कमी आएको भए पनि निजी आवास तथा भाडाका क्रियाकलापमा भएको बढोत्तरीले यस क्षेको मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा सामान्य बढ्ने कार्यालयको प्रारम्भिक अनुमान छ ।
गत आवमा रियल इस्टेट क्षेत्रको वृद्धिदर २.१८ प्रतिशत रहेको थियो । यो वृद्धिदर अघिल्लो आव ०७८/७९ को अन्तिम तथ्यांक अनुसार १.७२ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
आव ०७५/७६ मा घरजग्गा सम्बन्धि कारोबारको वृद्धिदर ३.७५ प्रतिशत रहेको थियो । ०७६ पुसदेखि नै कोभिड महामारीका बाछिटा देखिन थालेपछि घरजग्गा कारोबार प्रभावित भएको तथ्यांकले देखाउँछ ।
आव ०७६/७७ मा यस क्षेत्रको वृद्धिदर २.०८, र आव ०७७/७८ को वृद्धिदर २.७७ प्रतिशत रहेको थियो । कोभिड महामारी मत्थर हुने वित्तिकै घरजग्गा कारोबारमा उछाल आएपछि आव ०७७/७८ मा रियल इस्टेट क्षेत्रको वृद्धिदर बढेको देखिन्छ ।
केन्द्रिय तथ्यांक कार्यालयका अनुसार घरजग्गा किनबेच, घरभाडा सम्बन्धि कारोबारको वृद्धिदर पछिल्लो १३ वर्षमा सबैभन्दा उच्च आव ०७३/७४ मा ४.९५ प्रतिशत रहेको थियो ।
पछिल्लो समय घरजग्गा कारोबार क्रमशः बढ्दै गइरहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ । ०७९ मा देशभर चार लाख ६७ हजार ६४८ घरजग्गाको लिखत पारित भएकोमा ०८० मा पाँच लाख २७ हजार द्द२९ घरजग्गाको लिखत पारित भएको छ ।