वैध स्वामित्ववालासँग सहमति लिई कुनै सम्पत्ति कसैले भोग गर्छ भने त्यस्तो अवस्थामा भोगाधिकार प्राप्त भएको मानिन्छ ।
सम्पत्ति चल वा अचल, मूर्त वा अमूर्त, दृश्य वा अदृश्य जस्तो पनि हुन सक्छ । हरेक किसिमको सम्पत्तिमा कानुनले स्वामित्ववालालाई भोगाधिकार दिएको हुन्छ । यस्तो अधिकारले मालिकले सम्पत्ति उपभोग गर्ने, खरिद–बिक्री वा अन्य तवरले हक हस्तान्तरण वा कारोबार गर्ने वा कुनै लाभ प्राप्त गर्ने अधिकार दिएको हुन्छ । अर्को शब्दमा भन्नु पर्दा भोगाधिकारबिना सम्पत्तिको कुनै अस्तित्व रहँदैन ।
कानुनले पनि व्यक्तिको सम्पत्तिमा प्रत्यक्ष वा परोक्ष रूपमा स्वामित्व र भोगाधिकार प्रदान गरेको छ । सम्पत्तिको भोग गरेबापत हामीले सरकारलाई मालपोत कर, घरजग्गा करलगायत विभिन्न नामका कर तिरिरहेका हुन्छौँ । भोग र भोगाधिकार सुन्दा उस्तै लागे तानि यिनीहरूमा पनि केही फरक रहेको छ ।
भोग र भोगाधिकार
कसैले कुनै व्यक्तिको सम्पत्ति फेला पार्छ भने यसलाई भोग भनिन्छ । यसमा स्वामित्ववालाको सहमति हुँदैन । सम्पत्तिमाथि कुनै व्यक्तिको अप्रत्यक्ष कब्जा वा नियन्त्रण हुन्छ तर उसले खुलेर त्यसको उपभोग गर्न पाएको भने हुँदैंन ।
वैध स्वामित्ववालासँग सहमति लिई कुनै सम्पत्ति कसैले भोग गर्छ भने त्यस्तो अवस्थामा भोगाधिकार प्राप्त भएको मानिन्छ । कसैले कुनै सम्पत्ति लामो समयसम्म भोग गर्दै आएको अवस्थामा पनि भोगाधिकार पाउन सक्छ । जस्तैः साविकमा जग्गा कमाएको आधारमा मोहीले प्राप्त गर्ने अधिकार, कुनै व्यक्तिले लामो समयदेखि प्रयोग गर्दै आएको बाटो वा ढलमा प्राप्त हुने अधिकार आदि भोगाधिकारअन्तर्गत पर्छन् ।
कानुनी व्यवस्था
मुलुकी देवानी संहिता, २०७४ को परिच्छेद २ मा स्वामित्व तथा भोगाधिकारसम्बन्धी व्यवस्था गरिएको छ । जसअनुसार कुनै पनि व्यक्तिलाई कुनै सम्पत्तिमा कानुनबमोजिम हक प्राप्त भएमा त्यस्तो सम्पत्तिमा निजको स्वामित्व रहेको मानिने उल्लेख गरिएको छ ।
कुनै पनि सम्पत्तिका धनी अर्थात् स्वामित्ववालालाई आफ्नो सम्पत्ति उपभोग गर्ने विषयमा कानुनले विभिन्न अधिकार दिएको हुन्छ । स्वामित्ववालाले आफ्नो सम्पत्ति उपभोग गर्ने, बिक्री वा अन्य तवरले कसैलाई हक हस्तान्तरण गर्ने, कुनै किसिमले धितो वा बन्धकी राख्ने, कुनै कारोबार गर्ने, जुनसुकै किसिमबाट फाइदा लिने, आफ्नो जग्गा–जमिनमा कुनै किसिमको भौतिक संरचना निर्माण गर्न, पर्खाल वा बार लगाई घेर्न वा साँध सिमाना छुट्याउन वा कुनै सम्पत्तिको स्वरूप परिवर्तन गर्ने वा कुनै पनि किसिमले सम्पत्तिको संरक्षण गर्ने, आफ्नो जमिन वा जमिनमुनिको भाग वा त्यसमा रहेको वस्तु वा जमिनमाथिको आकाश प्रयोग गर्ने, कुनै तवरले नष्ट वा समाप्त गर्ने, सम्पत्ति प्राप्त वा सुरक्षा गर्ने सम्बन्धमा कुनै पनि किसिमले कानुनी कारबाही चलाउने अधिकार दिएको हुन्छ ।
मुलुकी देवानी संहिता, २०७४ दफा २६८ ले ‘कसैले कुनै सम्पत्ति भोग गर्ने मनसायले कानुनबमोजिम आफूसँग राखेमा त्यस्तो सम्पत्तिमा निजको भोगाधिकार रहेको मानिने’ व्यवस्था गरेको छ ।
भोगाधिकारको उपभोग
भोगाधिकारको उपभोग स्वामित्ववाला आफैँले वा प्रतिनिधिमार्फत गर्न सक्छ । त्यस्तै असक्षम वा अर्धसक्षम व्यक्तिको हकमा संरक्षक वा माथवरमार्फत भोगाधिकार प्राप्त गर्न सकिन्छ । कुनै व्यक्तिले प्रचलित कानुन वा त्यस्तो सम्पत्तिका सम्बन्धमा कुनै करार भएको भए, त्यस्तो करारको अधीनमा रही भोगाधिकार प्राप्त हुन्छ । साथै, आफ्नो भोगमा रहेको सम्पत्तिबाट प्राप्त हुने जुनसुकै लाभ पनि उपभोग गर्न सक्छ ।
भोगाधिकारवालाको अधिकार
आफ्नो भोगमा रहेको सम्पत्ति प्रचलित कानुन वा त्यस्तो सम्पत्तिका सम्बन्धमा कुनै करार भएको भए, त्यस्तो करारको अधीनमा रही निर्बाध रूपमा भोग गर्न, आफ्नो भोगमा रहेको सम्पत्तिबाट प्राप्त हुने जुनसुकै लाभ उपभोग गर्न, आफ्नो स्वामित्वमा नरहेको सम्पत्ति असल नियतले भोग गरेमा त्यस्तो सम्पत्तिमा पछि निजको भोगाधिकार नरहने भए तापनि निजले त्यस्तो सम्पत्तिमा भोगाधिकार रहेको अवधिमा सम्बन्धित स्वामित्ववालाको सहमति लिई त्यस्तो सम्पत्तिको व्यवस्थापन, मर्मतसम्भार वा रेखदेख गर्दा लागेको अत्यावश्यक खर्च त्यस्तो सम्पत्तिको स्वामित्ववालासँग सोधभर्ना गरी लिन पाउनेछ । सोधभर्ना नभएसम्म साविकको भोगाधिकारवालाले त्यस्तो सम्पत्ति आफैँसँग राख्न पाउनेछ ।
आफ्नो स्वामित्वमा नरहेको सम्पत्ति असल नियतले भोगाधिकार गर्दा कुनै व्यक्तिले त्यस्तो सम्पत्तिमा कुनै वस्तु जडान गरेको भए त्यस्तो सम्पत्ति नबिग्रने गरी आफू ले जडान गरेको वस्तु उप्काउन वा झिक्न सक्नेछ ।
भोगाधिकार समाप्त हुने अवस्था
भोग गर्ने व्यक्तिले सम्पत्ति परित्याग गरेमा, सम्पत्ति हस्तान्तरण गरेमा, कुनै सम्पत्ति पूर्ण रूपमा नष्ट वा बेकम्मा भएमा भोगाधिकार अन्त्य भएको मानिनेछ ।
प्रतिकूल भोगाधिकार रहने अवस्था
कुनै व्यक्तिले अर्को व्यक्तिको चल सम्पत्तिको हकमा तीन वर्ष र जमिनको हकमा तीस वर्षभन्दा बढी समयदेखि त्यस्तो सम्पत्ति वा जमिन आफ्नै सम्पत्ति वा जमिनसरह भोग गरेमा त्यस्ता सम्पत्ति वा जमिनमा निजको प्रतिकूल भोगाधिकार रहेको मानिनेछ । तर, सरकारी, सार्वजनिक, सामुदायिक वा गुठीको जग्गा जतिसुकै समयसम्म भोग गरेको भए तापनि प्रतिकूल भोगाधिकार प्राप्त हुनेछैन ।
कुनै सम्पत्ति वा जमिनको सम्बन्धमा करार वा अन्य कानुनद्वारा छुट्टै व्यवस्था भएकोमा सोहीबमोजिम हुनेछ । कुनै व्यक्तिलाई कुनै सम्पत्तिमा प्रतिकूल भोगाधिकार प्राप्त भएमा त्यस्तो व्यक्तिले त्यस्तो सम्पत्ति आफ्नो नाममा स्वामित्व कायम गराउन सक्नेछ । तर, स्वामित्ववालाको जानकारीबिना, गोप्य रूपमा वा जबर्जस्ती कुनै चल सम्पत्ति वा जमिन भोग गरेकोमा भने ऐनअनुसार भोगाधिकार प्राप्त भएको मानिने छैन भन्ने व्यवस्था कानुनले गरेको छ ।
क्षतिपूर्तिसम्बन्धी व्यवस्था
कसैले कुनै सम्पत्ति जबर्जस्ती, बदनियतपूर्वक वा गोप्य रूपमा भोग गरेमा त्यस्तो सम्पत्ति भोग गर्दा प्राप्त गरेको लाभ र त्यस्तो सम्पत्ति सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नु पर्नेछ र त्यस्तो सम्पत्ति भोग गर्दा आफ्नो हेलचेक्य्राइँबाट हुन पुगेको नोक्सानीबापत मनासिब क्षतिपूर्तिसमेत तिर्नुपर्नेछ । अरूको सम्पत्ति आफ्नो भोगाधिकारमा रहेको अवधिमा हराएमा वा क्षति भएमा भोगाधिकारवालाले त्यस्तो सम्पत्तिबापत सम्बन्धित व्यक्तिलाई क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था कानुनले गरेको छ ।
हदम्याद
यस ऐनको विपरीत भएको काम–कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम–कारबाही भए गरेको थाहा पाएको मितिले एक वर्षभित्र नालिस गर्न सकिने व्यवस्था कानुनले गरेको छ ।
नजिर कस्ता छन् ?
‘स्वामित्वको प्रश्न र भोगाधिकारको प्रश्न एकै नभई अलग–अलग विषय हुन् । कुनै पनि वस्तु माथिको भोग वस्तुको वास्तविक स्वामीबाहेक अन्य व्यक्तिको विरुद्धमा लागू हुन्छ । अर्थात्, स्वामित्व भएको व्यक्तिबाहेक अरूले भोगाधिकारलाई चुनौती दिन नसक्ने ।’ ‘कसैको भोगाधिकार भएको सम्पत्तिमा अरू कसैले अवरोध सिर्जना गर्न खोजेको अवस्थामा भोगाधिकारमाथि खिचोला गरेको भन्नुपर्ने ।’ ‘जग्गाको स्वामित्व एउटाको नाउँमा वैधानिक रूपमा दर्ता भइरहेकोमा अर्का व्यक्तिले सोमध्ये केही भाग भोगाधिकार प्राप्त गर्दैमा सम्पूर्ण वैध स्वामित्व समाप्त नहुने ।’
‘स्वबासी जग्गाको सम्बन्धमा अन्यथा प्रमाणित भएकोमा बाहेक भोगलाई नै स्वामित्व प्राप्त गर्न सक्ने मूल प्रमाणको रूपमा लिनुपर्ने ।’‘जग्गाको वास्तबिक स्वामी अर्थात् वैध स्वामित्ववाला बाहेकको व्यक्तिले सो जग्गा आफ्नो हकको हैसियतमा खुला रूपमा भोग गर्दछ र त्यस्तो भोगको जानकारी वैध स्वामित्ववालालाई हुँदाहुँदै पनि भोगलाई मौन स्वीकृति प्रदान गरेको अवस्थालाई प्रतिकूल भोगको अवस्था भनी बुझ्नुपर्ने।’
‘आफ्नो जग्गा अर्काको जग्गाभित्र घुसेको भन्ने थाहा पाएर पनि लामो समयसम्म भोग गर्न दिइरहनु, अरूको जग्गामा कसैले आफ्नो हो भनी घर निर्माण गरी वा अन्य प्रकारबाट भोग गरेको कुरा थाहा पाएर पनि वास्तविक वैध स्वामित्ववालाले लामो समयसम्म भोगलाई स्वीकार गरी बस्नुलाई प्रतिकूल भोगको रूपमा लिइने ।
’सम्पत्ति भौतिक वा अभौतिक, मूर्त वा अमूर्त जुनसुकै भए पनि सम्पत्तिलाई चल वा अचलका रूपमा समावेश गरेको पाइन्छ । घर वा जमिन अचल सम्पत्तिभित्र पर्छ । चल सम्पत्तिमा नगद वा नगदसरह कारोबार हुने वस्तु वा विदेशी मुद्रा, सुन, चाँदी, रत्न, सुनचाँदीबाट बनेका गरगहना वा बहुमूल्य पत्थर, एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्न सकिने अन्य वस्तु पर्छन् ।
त्यस्तै, ऋणपत्र, धितोपत्र, प्रतिज्ञापत्र, विनिमयपत्र, प्रतीतपत्र वा अन्य विनिमय अधिकारपत्र वा त्यसबाट प्राप्त हुने लाभ, बौद्धिक सम्पत्ति, व्यापारिक ख्याति पर्न आउँछ । यी चल वा अचल सम्पत्तिमा भोगाधिकार र स्वामित्व भएका व्यक्तिको सम्पत्तिमा अन्य व्यक्ति वा व्यक्तिहरूले गैरकानुनी रूपमा कब्जा वा हस्तक्षेप गर्न सक्दैन । कानुनले सम्पत्तिका मालिक वा धनीलाई स्वामित्व तथा भोगाधिकार दिएको हुन्छ ।
मुलुकी देवानी संहिता, २०७४ मा स्वामित्व तथा भोगाधिकार व्यवस्था चलसम्बन्धी व्यवस्था भए तापनि यो ऐन विशेष गरी अचल सम्पत्तिसम्बन्धी विवाद समाधान गर्न बनाएको देखिन्छ । अबका दिनमा अचल सम्पत्ति साथै चल सम्पत्तिमा पनि विवाद बढ्न सक्ने देखिन्छ । बैंक तथा वित्तीय संस्थाले चल सम्पत्तिजस्तै धितो पत्रलाई धितोमा लिई कर्जा दिने गरेका छन् । त्यस्तै, अबका दिनमा बौद्धिक सम्पत्ति, व्यापारिक ख्यातिका सम्पत्तिमा पनि कर्जा लेनदेन हुन सक्ने हुँदा यस्ता चल सम्पत्तिका विषयमा पनि भोगाधिकार तथा स्वामित्वसम्बन्धी व्यवस्था मुलुकी देवानी संहिता विशेष व्यवस्था हुन जरुरी देखिन्छ ।
एक व्यवसायी तथा अर्का व्यवसायी, व्यक्ति वा संगठित संस्थाबीच पनि ऋणपत्र, धितोपत्र, प्रतिज्ञापत्र, विनिमयपत्र, प्रतीतपत्र वा अन्य विनिमय अधिकारपत्र वा त्यसबाट प्राप्त हुने लाभ, बौद्धिक सम्पत्ति, व्यापारिक ख्याति आदिमा भोगाधिकार र स्वामित्वबारे मुलुकी देवानी संहितामा थप कानुनी व्यवस्था हुनुपर्ने देखिएको छ ।