भनिन्छ– ‘मानिसका लागि यस पृथ्वीमा सबैभन्दा सुरक्षित स्थान आफ्नो घर हो ।’ तर, यो भनाइ त्यतिखेर मात्र सार्थक हुन्छ, जब तपाईँको घर स्वच्छ र कीटाणुरहित हुन्छ ।
भनिन्छ– ‘मानिसका लागि यस पृथ्वीमा सबैभन्दा सुरक्षित स्थान आफ्नो घर हो ।’
तर, यो भनाइ त्यतिखेर मात्र सार्थक हुन्छ, जब तपाईँको घर स्वच्छ र कीटाणुरहित हुन्छ । घर सफा र व्यवस्थित होस् भन्ने चाहना हरेकको हुन्छ । फोहोर स्थानमा कोही पनि बस्न रुचाउँदैन । तर, जति नै सफा र व्यवस्थित राखिए पनि सुरक्षित हेरचाहका विधि नजाने घर कीटाणुको केन्द्र बन्न सक्छ ।
हामी सबैलाई थाहा छ, आँखाले देख्न नसकिने सूक्ष्म कीटाणु जताततै हुन्छन् । फाल्न राखिएको फोहोर, धारा वरपर, पर्दा, तन्ना लगायतमा कीटाणु हुन सक्छन् । तिनको सम्पर्कमा आउँदा कीटाणु मान्छेलाई संक्रमित पार्न तम्तयार रहन्छन् ।
स्वस्थ शरीरका लागि घर कीटाणुरहित हुनु अति आवश्यक छ । आफ्नै घरमा रहेका कीटाणुबाट संक्रमित भई विभिन्न रोगको शिकार हुने जोखिम धेरै हुन्छ । त्यसैले घर निर्माण गर्दा अथवा बसाइँ सरेपछि घरलाई कीटाणुरहित बनाउन जरुरी छ ।
घरलाई कीटाणुरहित बनाउन यी उपाय अपनाउन सकिन्छः
स्वच्छ हावा र घाम
स्वस्थ जीवनका लागि स्वच्छ हावा र घाम आवश्यक छ । हावा र घामको किरण नपुग्ने ठाउँमा कीटाणुको खतरा बढ्दै जान्छ । कीटाणुबाट बच्न घरमा पर्याप्त खुला हावा आउन दिनुपर्छ । घाम कीटाणुबाट मुक्ति पाउने उत्तम उपाय हो । घरलाई कीटाणुरहित बनाउन हावा र घामको उचित व्यवस्था हुनुपर्छ ।
बैठक कोठा निस्संक्रामक गर्ने
मान्छेहरूको जमघट बढी हुने ठाउँमा कीटाणुको जोखिम बढी हुने गर्छ । घरमा बैठक कोठामै पारिवारिक जमघट बढी हुन्छ । टेलिभिजन, सोफा, चिया टेबललगायत सबैले छुने हुँदा कीटाणु एकत्रित हुने सम्भावना बढी हुन्छ । त्यसैले बैठक कोठा निस्संक्रामक गर्नुपर्छ । मान्छेले बढी छुने सामान र बस्ने ठाउँ स्यानिटाइज गर्नुपर्छ । डिटोल पानीमा भिजाएको कपडाले सामान र ठाउँ पुछ्नुपर्छ । भ्याकुम प्रयोग गरी धुलो सफा गर्नुपर्छ ।
पर्दा र पंखाको सरसफाइ
सरसफाइ गर्दा पंखा, पर्दा आदिमा खासै ध्यान दिइँदैन । तर, ख्याल नगरिने यी ठाउँ कीटाणुको लागि सुरक्षित घर हुन् । त्यसैले पंखाका पाता सफा गर्ने र पर्दा धुने गर्नुपर्छ । पंखालाई साबुन पानीमा सफा कपडा भिजाएर पुछ्न सकिन्छ । नियमित सरसफाइ गरेमा कीटाणु फैलिन पाउँदैन ।
रेलिङ र ह्यान्डलको सरसफाइ
ढोकाको चुकुल, भर्याङको बार र बत्तीको स्विचमा समेत कीटाणु सजिलै र तीव्र रूपमा फैलिने गर्छन् । यस्ता ठाउँलाई निस्संक्रामक गर्नुपर्छ । त्यसका लागि हप्तामा एक पटक सरसफाइ गर्न सकिन्छ ।
घरलाई सुक्खा राख्नुपर्छ
धेरै ओस भएको र चिसो ठाउँ कीटाणुका लागि अनुकूल हुन्छ । जसले गर्दा अन्य कीटाणु पनि बढ्ने र ढुसी पलाउने गर्छ । गर्मी र वर्षा याममा यस्ता समस्यामा विशेष ध्यान दिनुपर्छ । यस समस्याबाट छुटकारा पाउने उचित उपाय भनेको पंखाको पूर्ण सदुपयोग नै हो । भुइँ सफा गर्दा वा भिजेको देख्नासाथ झ्याल खोल्ने र पंखा चलाउने गर्नुपर्छ । यसो गर्दा घरको भित्ता र भुइँ पनि सुक्खा रहन्छ ।
अनावश्यक सामानले घर भर्नु हुँदैन
घरमा अनावश्यक सामान थुपार्नु भनेको कीटाणुलाई बढावा दिनु हो । बढी सामान हुँदा ठाउँ भरिने र साँघुरो भई कीटाणु सजिलै लुक्ने र थप फैलने डर हुन्छ । आवश्यक सामानलाई पनि उचित ढंगले खुल्ला ठाउँ रहने गरी सजाएर राख्दा सफा गर्न पनि सजिलो हुन्छ र हेर्दा पनि आकर्षक देखिन्छ ।
डस्टबिनको सदुपयोग
घरको कुनाहरूमा डस्टबिन राखेर त्यसको सदुपयोग गर्नु कीटाणुबाट बच्ने राम्रो उपाय हो । कुनै पनि फोहोरजन्य वस्तु वा कागज भुइँमा खस्दा तुरुन्तै टिपेर डस्टबिनमा फाल्नुपर्छ । तर, एउटै डस्टबिन लामो समयसम्म प्रयोग गर्दा दुर्गन्ध आउने, कीटाणु उत्पन्न हुने र संक्रमण फैलिने डर हुन्छ । बेला–बेलामा डस्टबिन सफा गरी त्यसलाई निस्संक्रामक गर्नुपर्छ ।
नियमित कपडा धुने
धेरैजसो मानिस दिनहुँ घरबाहिर जाने गर्छन् । फर्किदा कपडामा टाँसिएर कीटाणु पनि घरमा प्रवेश गर्छन् । त्यसैले कामबाट वा बाहिरबाट फर्किनासाथ आफूले लगाएको लुगा धुनलाई राख्नुपर्छ । त्यस्तै, भित्री वस्त्रमा ब्याक्टेरिया रहने सम्भावना बढी हुन्छ । तिनको सरसफाइमा पनि विशेष ध्यान दिनुपर्छ । कपडा धोएर घाममा राम्रोसँग सुकाउनुपर्छ ।
सुत्ने कोठाको सरसफाइ
मान्छेको सबैभन्दा बढी समय सुत्ने कोठामा बित्ने गर्छ । बिस्तराको तन्ना र सिरकको खोल सफा नहुँदा कीटाणु बढ्न सक्छ । मान्छेको शरीरबाट विशेष गरी पैताला, कुर्कुच्चाबाट मृत छाला स–साना टुक्रा भई निस्कने गर्छ । तिनले थप रोग र संक्रमण बढाउन सक्छन् । कतिपयले आफ्नो मैलो कपडा फेरेर ओछ्यानमा फाल्ने गर्छन् । यस्ता बानीले गर्दा सुत्ने कोठामा ठूलो संख्यामा कीटाणुले प्रवेश पाउँछन् । कीटाणुरहित राख्न बेडरुमको भुइँ, फर्निचर, बिस्तराको तन्ना, सिरकको खोल, तौलिया आदि नियमित सफा गर्नुपर्छ ।
भान्सामा प्रयोग हुने सामानको सरसफाइ
भान्सामा यस्ता धेरै ठाउँ हुन्छन्, जहाँ कीटाणु जम्मा हुन सक्छन् । एक स्वास्थ्य पत्रिकाका अनुसार भान्साको धाराको फोहोर पानी जाने पाइपमा प्रायः प्रति स्क्वायर ५० हजारभन्दा बढी ब्याक्टेरिया हुने गर्छन् । खाना पकाउनासाथ सधैँ चुल्हो वरपर साबुन–पानी वा कीटनाशक केमिकल प्रयोग गरी सफा गर्नुपर्छ । हप्तामा एक पटक भान्साको सिंक मज्जाले क्लिनिङ पाउडर वा केमिकल प्रयोग गरी सफा गर्नुपर्छ । भाडा मस्काउने स्पन्ज, भाडा राख्ने र्याकलाई पनि नियमित सफा गर्नुपर्छ ।
सधैँ सफा गर्नुपर्छ चपिङबोर्ड
तरकारी र मासु काट्न अलग–अलग चपिङ बोर्ड प्रयोग गर्नु राम्रो हुन्छ । काँचो मासुमा हानिकारक ब्याक्टेरिया हुने गर्छन् । मासु पाक्दा ती मरे पनि चपिङ बोर्डमा भने रहिरहन्छन् । त्यसैले मासु काट्नका लागि अलग्गै चपिङ बोर्ड हुनुपर्छ । काठको साटो प्लास्टिकको चपिङ बोर्ड प्रयोग गर्नु ठीक हुन्छ । प्रयोग गरेपछि चपिङ बोर्ड तुरुन्तै साबुन र तातो पानीले सफा गर्नुपर्छ । यसो गर्दा त्यसमा भएका कीटाणु समाप्त हुन्छन् ।
बाथरुम सफा राख्नुपर्छ
कीटाणु, जीवाणु फोहोर ठाउँमै उत्पन्न हुने भएकाले बाथरुम अति संवेदनशील ठाउँ हो । नुहाउँदा होस् वा शौच गर्दा मान्छेको शरीरबाट निस्कने फोहोर–मैलामा असंख्य कीटाणु हुने गर्छन् । नुहाउँदा ती ब्याक्टेरिया शरीरबाट बगेर गए पनि बाथरुमको भुइँमा बस्छन् । नुहाइसकेपछि पानीले पखालेर भुइँलाई सुक्खा बनाए कीटाणु त्यहाँ टिक्न पाउँदैनन् । त्यस्तै, बेसिन, कमोड पनि भिजेको अवस्थामा छोड्नु हुँदैन । फ्लस गरेर कमोडको ढकनी बन्द गर्नुपर्छ । सातामा एक–दुई पटक केमिकल प्रयोग गरी बाथरुम सफा गर्नुपर्छ ।
सफा टुथब्रस
मान्छेको मुखबाट निस्कने र्यालमा लाखौं ब्याक्टेरिया हुने गर्छन् । खाएर मुखमा बाँकी रहेको खानाका टुक्रा वा कणमा थुप्रै ब्याक्टेरिया हुन्छन् । दाँत माझ्दा खानाका स–साना नदेखिने टुक्रा ब्रसमा अड्किन्छन् । सँगै मुखका ब्याक्टेरिया पनि ब्रसमा जान्छन् । दाँत माझिसकेपछि ब्रसलाई सधैँ तातो पानीले सफा गरी हावा आउने ठाउँमा राखेर सुक्खा हुन दिनुपर्छ । यस्तो गर्दा ब्याक्टेरिया ब्रसमा रहन पाउँदैन ।
घरपालुवालाई ध्यान दिनुपर्छ
कुकुर, बिरालोलगायत घरपालुवा जनावर असंख्य कीटाणु बोकेर घरभरि घुमिरहेका हुन्छन् । यो कुरा ख्याल गर्नु आवश्यक छ । घरपालुवा जनावरलाई अनिवार्य रूपमा सफा गर्नुपर्छ । हप्तामा कम्तीमा दुई पटक नुहाइ दिनुपर्छ ।
घर बनाउँदा ध्यान दिनुपर्ने कुरा
एजेन्सीको सहयोगमा