काठमाडौं । भारतको सबैभन्दा ठूलो आतिथ्य कम्पनी इन्डियन होटल्स कम्पनी लिमिटेड (आईएचसीएल)ले चितवनको भरतपुरमा भिभान्ता चितवन संचालन गर्ने घोषणा गरेको छ । भिभान्ता चितवन नेपाली संस्कृति र विलासिताको संगमका रुपमा स्थापित हुने आईएचसिएलले जनाएको छ ।
आईएचसीएलकी न्यू बिजनेस एण्ड होटल्स ओपनिङ्सका उपाध्यक्ष दीपिका रावले नेपालमा तेस्रो होटेलका रुपमा भिभान्ता चितवन विस्तार हुनु कम्पनीका लागि अर्को एक महत्वपूर्ण उपलब्धी रहेको बताइन् ।
देशको प्रमुख शहरी केन्द्रहरूमध्येको एक भरतपुर चितवन राष्ट्रिय निकुञ्ज र लुम्बिनी जस्ता विश्व सम्पदाहरूको प्रवेशद्वार हो । भिभान्ता चितवन आईएचसीएल र चौधरी गु्रपबीचको २५ वर्षदेखिको सुमधुर सम्बन्धको प्रमाण हो । यस अवधीमा आईएचसीएल र सीजीले ५ देशका ११ होटलमा सहकार्य गरिरहेका छन् ।
भिभान्ता चितवनले आफ्नो बेग्लै शैली र भावना प्रस्तुत गरेको छ । यस होटलमा अतिथीहरूको सम्मानमा विशेष ध्यानपूर्वक निर्माण गरिएका ४५ रूमहरू छन् । यी प्रत्येक रूमहरू सुन्दर ढंगले सुसज्जित छन् । भिभान्ताका सुइटमार्फत पाहुनाहरूले सुन्दर देवचुली र प्रकृतिकोे लोभलाग्दो दृष्य हेर्न सक्नेछन् ।
साथै, पाहुनाहरूले होटलको मिन्टमा डिनरसहित विभिन्न खानाको स्वाद लिन सक्नेछन् भने होटलको बार ‘विंक’ मा आरामका साथै भरपुर मनोरञ्जनको स्वाद पाउनेछन् ।
वेलनेस र मनोरञ्जनका लागि यस होटलमा अत्याधुनिक फिटनेस सेन्टरका साथै स्विमिङ पुल रहेको छ जहाँबाट मनोरम सिराइचुली माउन्टेनको दृष्य देख्न सकिन्छ । यस होटलमा २४०० वर्ग फुटको सभाहल छ । र, बिजनेस सेन्टर समेत रहेका छन् ।
नारायणी नदीको किनारमा अवस्थित भरतपुर नेपालको एक प्रमुख व्यवसायिक केन्द्रको रूपमा परिचित छ । ऐतिहासिक र पवित्र धार्मिक स्थलहरूदेखि प्राकृतिक परिदृस्यसम्मका विविध अनुभव दिने यस क्षेत्रले पर्यटकहरूलाई आकर्षित गरिरहेको छ ।
सिजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले ताजसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘भिभान्ता चितवन थपिएपछि पाहुनाहरूले चितवन राष्ट्रिय निकुञ्जमा ताज सफारी जंगल रिसोर्ट, काठमाडौं र भरतपुरमा भिभान्ता मार्फत आईएचसीएलको आतिथ्यताको अनुभव लिन सक्नुहुनेछ ।’
इन्डियन सव कन्टिनेन्ट र मिडल इस्टमा चौधरी गु्रप र आईएचसीएलबीचको सहकार्यमा माल्दिभ्समा ताज एक्सोटिका रिसोर्ट एण्ड स्पा र ताज कोरल रिफ रिसोर्ट एण्ड स्पा, श्रीलंकामा ताज कोलम्बो, दुबईमा ताज जुमेराह लेक टावर्स, भारतमा ताज सफारी र नेपालमा मेघौली सेराई संचालनमा छन् ।
सिजीका होटेल १७८ पुगे
दुई दशकभन्दा बढी गौरवपूर्ण इतिहास बोकेको सीजी हस्पिटालिटी ग्लोबलले टाटा समूहको आईएचसीएलसँग ताज एक्सोटिका रिसोर्ट एण्ड स्पा र माल्दिभ्सको ताज कोरल रिफ र कोलम्बोको ताज समुद्रमा लगानी गरेर आफ्नो आतिथ्य सत्कार व्यवसाय सुरु गरेको थियो । यो साझेदारी आज ५ देशका ११ होटलहरूमा विस्तार भइसकेको छ ।
सिजी हस्पिटालिटीका अन्य साझेदारहरूमा अग्रणी होटल ब्रान्डहरू जस्तै भारतमा फर्न होटल्स, श्रीलंकामा जेटविङ एण्ड सिलोन होटल्स ग्रुप, न्यूयोर्कमा र्याडिसन, केन्यामा फेयरमन्ट होटल रहेका छन् ।
सिजी हस्पिटालिटीसँग वेलनेस रिट्रीट, द फार्म इन फिलिपिन्स, जिंक, फर्न र बीकन जस्ता आफ्नै होटल ब्रान्डहरू पनि रहेका छन् । आज सिजी हस्पिटालिटीको पोर्टफोलियो १२ देशका ११४ गन्तव्यमा १० हजार भन्दा बढी रुम क्षमताका साथ १७८ भन्दा बढी होटल र रिसोर्टहरू छन् ।
आईएचसीएल भारतको सबैभन्दा ठूलो आतिथ्य कम्पनी हो । प्रतिष्ठित आतिथ्य ब्रान्डहरु जस्तै ताज, भीभान्ता, सेलेक्यूसन तथा जिन्जरमार्फत आईएचसीएलले विश्वस्तरीय सेवा दिईरहेको छ । आईएचसीएलले आफ्नो पहिलो होटल दि ताज महल प्यालेस सन् १९०३ मा मुंवइमा खोलेको थियो । हाल आईएचसीएलसँग १३ देशहरुका १०० भन्दा बढी स्थानमा ३०६ होटेलहरूको पोर्टफोलियो रहेको छ ।