काठमाडौं । नेपालबाट पहिलो पटक छिमेकी मुलुक भारतमा सिमेन्ट र डन्डी निर्यात सुरु भएको छ ।
दुई हप्ताअघि पाल्पा सिमेन्ट भारत निर्यात गरिएको थियो भने बुधबार (४ साउन) देखि श्री स्टिल निर्यात सुरु भएको छ ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत निर्यातमा ८ प्रतिशत नगद अनुदानको व्यवस्था गरेपछि सिमेन्ट र डन्डी निर्यात सुरु भएको हो । सरकारले प्रोत्साहन गरे वर्षमै दुई खर्ब रुपैयाँ हाराहारीको सिमेन्ट र डन्डी निर्यात गर्न सकिने व्यवसायीको जिकिर छ । निर्यातमा ८ प्रतिशत नगद अनुदान पाउने भएपछि व्यवसायी समेत उत्साहित देखिन्छन् ।
श्री स्टिलले तत्कालका लागि भारतको नौतन्हवाको हार्डवेयर पसलमा डन्डी बिक्री गर्न लागेको उद्योगका सञ्चालक राजेश अग्रवालले बताए ।
पाल्पास सिमेन्ट र श्री स्टिल सुनौली नाका हुँदै भारत निर्यात गरिएको हो । पहिलो पटक सिमेन्ट र डन्डी निर्यात सुरु भएसँगै भारतीय बजारको ढोका खुलेको बताइएको छ । अरु सिमेन्ट उद्योग जगदम्बा, सर्वोत्तम, सौर्य, अर्घाखाँची लगायत सिमेन्ट उद्योगले पनि भारत निर्यातको तयारी थालेका छन् ।
श्री स्टिल भारत निर्यात गरेलगत्तै अर्घाखाँची सिमेन्ट निर्यात थालनी गर्ने उद्योगका सञ्चालक अग्रवालले बताए । डन्डी भारततर्फ निर्यातका लागि श्री स्टिलका उत्पादनलाई भारत सरकारले गुणस्तर मापन बिआइएस प्रदान गरेको छ ।
सिमेन्ट स्वदेशी कच्चा पदार्थ चुन ढुंगाको प्रयोग गरी उत्पादन हुँदै आएको छ । सिमेन्टमा ९० प्रतिशतभन्दा बढी भ्यालु एड भइरहेको उद्योगी बताउँछन् । तर, डन्डी भारतबाट कच्चा पदार्थ आयात गरेर उत्पादन गरिँदै आएको छ ।
यदि नवलपरासीको धौवादी लगायत फलाम खानी उत्खनन गर्न सकेमा डन्डीका लागि पनि कच्चा पदार्थ स्वदेशमै उपलब्ध हुन सक्ने अग्रवाल बताउँछन् । स्वदेशी कच्चा पदार्थ प्रयोग गर्न सकेको खण्डमा भ्यालु एड पनि धेरै गर्न सकिने हुन्छ ।
पछिल्लो समय नेपालमा सिमेन्ट र डन्डी उद्योगमा लगानी ओइरिएको छ । सिमेन्ट उद्योगमा विदेशी लगानी पनि उत्तिकै आकर्षण भइरहेको छ । सञ्चालनमै रहेका डन्डी र सिमेन्ट उद्योगहरुको क्षमता आन्तरिक बजारको मागभन्दा दोब्बर बढी उत्पादन क्षमता पुगिसकेको बताइन्छ ।
यदि भारततर्फ निर्यात बढाउन सकेमा उद्योग पनि पूर्ण क्षमतामा सञ्चालन हुने र भारतसँगको व्यापार घाटा कम गर्न पनि सहयोग पुग्नेछ ।