आव ०७५/७६ मा काठमाडौं महानगरबाट १० हजार २९४ घरले नक्सा पास र निर्माण सम्पन्नताको प्रमाणपत्र पाएका थिए । तर, गएको वर्ष ५ हजार ११५ घरले मात्रै नक्सा पास र निर्माण सम्पन्नताको प्रमाणपत्र पाएका छन् ।
काठमाडौं । ७७ जिल्लाकै मान्छेहरुले स्थाई बसोबास गर्न खोज्ने काठमाडौंमा पछिल्ला वर्षहरुमा नयाँ घर निर्माण घट्दै गइरहेका छन् ।
काठमाडौं महानगर क्षेत्रभित्र घर/भवन निर्माणका लागि नक्सा पास गर्ने र निर्माण सम्पन्नताको प्रमाणपत्र लिनेहरुको पछिल्लो ६ वर्षको तथ्यांक केलाउँदा नयाँ घर निर्माण आधाभन्दा बढीले घटेको देखिएको हो ।
आर्थिक वर्ष ०७५/७६ मा काठमाडौं महानगरपालिकाले एकै वर्षमा १० हजार २९४ घर, भवन, टहरालगायतको नक्सा पास र निर्माण सम्पन्नताको प्रमाणपत्र दिएको थियो । तर, गएको आर्थिक वर्ष ०७९/८० मा ५ हजार ११५ घरले मात्रै नक्सा पास र निर्माण सम्पन्नताको प्रमाणपत्र पाएका छन् ।
यो संख्या चालू आवमा अझै घट्ने सम्भवना देखिएको छ । चालू आवको ८ महिना २१ दिनसम्म (२१ चैतसम्म) महानगरपालिकाले जम्मा २७ सय ५६ घरको नक्सा पास र निर्माण सम्पन्ताको प्रमाणपत्र प्रदान गरेको छ । यस्तै गति कायम रहे चालू आवमा चार हजार पनि नपुग्ने देखिन्छ ।
नक्सापास घटेपछि महानगरले नक्सापास दस्तुरवापत प्राप्त गर्ने राजश्व पनि ३५.२४ प्रतिशतले घटेको छ । गत आवको फागुन मसान्तसम्म नक्सापास दस्तुरवापत ६५ करोड ८६ लाख रुपैयाँ राजश्व उठेको चालू आवको सोही अवधिमा जम्मा ४२ करोड ६५ लाख रुपैयाँमात्र उठेको छ । यो वर्ष नक्सा पास दस्तुर २३ करोड २१ लाख रुपैयाँ कम उठेको महानगरले जनाएको छ ।
आव ०७५/७६ मा काठमाडौं महानगरले सर्वाधिक नक्सा पास र निर्माण सम्पन्नताको प्रमाणपत्र प्रदान गरेको देखिन्छ । त्यसयता त्यो संख्या निरन्तर घटिरहेको छ । आव ०७६/७७ मा ६ हजार ९७४ घरले नक्सा पास र निर्माण सम्पन्नताको प्रमाणपत्र लिएकोमा आव ०७७/७८ मा तीन हजार ८९० घरले नक्सा पास र निर्माण सम्पन्नताको प्रमाणपत्र लिएका थिए ।
पछिल्ला दुई आर्थिक वर्षमा फेरी नक्सा पास र निर्माण सम्पन्नताको प्रमाणपत्र लिनेको संख्या क्रमशः बढ्दै गएको देखिन्छ । आव ०७८-७९ मा चार हजार ९९ र आव ०७९-८० मा ५ हजार ११५ घरधनीले नक्सा पास र निर्माण सम्पन्नताको प्रमाणपत्र लिएका थिए ।
अघिल्लो आव ०७८/७९ को तुलनामा गत आव ०७९/८० मा नक्सा पासको संख्या बढेपछि राजश्व पनि बढेको देखिन्छ । अघिल्लो आवमा ६७ करोड ५४ लाख रुपैयाँ नक्सा पास दस्तुर उठेकोमा गत आवमा बढेर एक अर्ब एक करोड २३ लाख रुपैयाँ उठेको महानगरले जनाएको छ ।
तर, चालू आवमा फेरी घट्न थालेको छ । अझै पनि निजी निर्माण क्षेत्र सुस्त रहेको महानगरपालिकाको नक्सा पास, निर्माण सम्पन्नताको प्रमाणपत्र र राजश्व संकलनको आँकडाले देखाउँछ । सामन्यतयाः कार्तिकपछि निर्माणको सिजन सुरु हुने भएता पनि नक्सा पासको संख्या नबढेको काठमाडौं महानगरले जनाएको छ ।
अहिले व्यक्तिगत घर, हाउजिङ, अपार्टमेन्ट, कमर्सियल भवन निर्माणसम्म सुस्त छ । निर्माण क्षेत्र लयमा फर्किन नसक्दा सिमेन्ट, डन्डी, इँटा, गिँटी, बालुवा, पाइप्स एन्ड फिटिङ, काष्ठ उद्योग, आल्मुनियम उद्योगहरु संकटमा छन् । सिमेन्ट र डन्डी उद्योग आधा क्षमतामा पनि सञ्चालन हुन नसकेको बताइन्छ ।