२०५८ र २०७८ सालको बिचमा अर्धपक्की र कच्ची घरको अनुपात क्रमशः १४ र ६३ प्रतिशतले घटेको जनगणनाले देखाएको छ
काठमाडौं । दुई दशकको अवधिमा देशमा पक्की घरहरुको संख्या दोब्बरभन्दा बढीले वृद्धि भएको छ । अहिले देशभर पक्की घरमा बसोबास गर्ने परिवारहरु ७६.५ प्रतिशत पुगेको २०७८ को जनगणनाले देखाएको छ ।
२०५८ को जनगणना अनुसार देशमा ३७ प्रतिशत परिवारको बासोबास पक्की घरमा थियो । यो संख्या २०६८ सालमा आइपुग्दा बढेर ५८.४ प्रतिशत पुगेको थियो । अहिले करिव तीन चौथाई परिवारहरु पक्की घरमा बसोबास गर्न थालेका छन् ।
देशभर पक्की घरको संख्या बढ्दै गएपछि अर्धपक्की र कच्चीको घरको संख्या घट्दै गएको देखिन्छ । २०५८ मा अर्धपक्की घरमा बसोबास गर्ने परिवारको संख्या २९.२ प्रतिशत रहेकोमा २०७८ सम्म आइपुग्दा १५.८ प्रतिशतमा झरेको देखिन्छ ।
कच्ची घरमा बासोबास गर्नेहरुको संख्या झनै घटेको छ । २०५८ सालमा ३३.५ प्रतिशत परिवारको बसाई कच्ची घरमा रहेकोमा २०७८ सम्म आइपुग्दा त्यो संख्या घटेर ७.८ प्रतिशतमा सिमित भएको देखिन्छ ।
२०५८ र २०७८ सालको बिचमा अर्धपक्की र कच्ची घरको अनुपात क्रमशः १४ र ६३ प्रतिशतले घटेको जनगणनाले देखाएको छ ।
यस्तै, प्रदेशअनुसार गण्डकी र बागमती प्रदेशमा सबैभन्दा धेरै क्रमशः ९६ प्रतिशत र ९३ प्रतिशत परिवारहरु पक्की घरमा बासोबास गर्छन् । यो अनुपात कर्णाली प्रदेशमा ७८.२ प्रतिशत रहेको छ ।
जनगणनामा घरको छाना र बाहिरी वालमा प्रयोग भएको निर्माण सामाग्रीको प्रकृतिका आधारमा घरलाई पक्की, अर्धपक्की र कच्ची भनेर वर्गीकरण गरिएको छ । स्थायी निर्माण सामाग्री सिमेन्ट, इँटा, ढुंगा, स्लेट, टायल र ग्याल्भेनाइज्ड जस्तापाताले बनाइएको घरलाई पक्कीमा परेका छन् ।
घरको वाल वा छानामध्ये एक स्थायी र अर्को अस्थायी निर्माण सामाग्री दाउरा, बाँस, पराल, खर, माटो, काँचो इँटाबाट बनाइएको घरलाई अर्धपक्कीमा गणना गरिएको छ । यस्तै, अस्थाई निर्माण सामाग्रीहरु दाउरा, बाँस, पराल, खर, माटो, काँचो इँटाबाट निर्माण गरिएका घरलाई कच्ची घरमा वर्गीकरण गरिएको छ ।
तथ्यांकलाई विश्लेषण गर्दा एकपछि अर्को जनगणना वर्षमा पक्की घरमा बसोबास गर्ने परिवारको संख्या बढ्दै गइरहेको र अर्धपक्की र कच्ची घरमा बासोबास गर्ने परिवारको सख्ंया घट्दै गइरहेको देखिन्छ ।
नेपालका ग्रामीण भेगमा पनि सडक सञ्जाल विस्तार भएसँगै आधुनिक निर्माण सामाग्रीको पहुँच बढेको छ । जसले गर्दा पछिल्लो समय गाउँघरमा पनि सिमेन्ट तथा रड प्रयोग गरेर घरहरु बनाउन थालिएको छ ।